
कालेबुङ , 3 अक्टोबर: हिजो बेलुकी करिब 7 बजे कालेबुङ पुलिसले पक्राउ गरेका विमल गुरुङपन्थी नेता रमेश राईलाई पुलिसले दुई दिनको रिमाण्डमा लिएको बताइएको छ।
विमलपन्थी गोजमुमो मिडिया सेलले दिएको जानकारीका अनुसार राईलाई आज कालेबुङ जिल्ला अदालतमा प्रस्तुत गरेको थियो भने अदालतले उनलाई दुई दिनको पुलिस रिमाण्डमा पठाएको छ।
उल्लेखनीय छ, 43 समष्टि विमलपन्थी गोर्खा जनमुक्ति युवा मोर्चाकासंयोजक रमेश राईलाई 2017 को गोर्खाल्याण्ड आन्दोलनअवधि हिंसात्मक गतिविधिमा संलग्न रहेको आरोपमा कालेबुङ पुलिसले हिजो पक्राउ गरेको थियो।
जानकारीका अनुसार उनीविरुद्ध भारतीय दण्ड संहिताका धारा 236/438 लगायत अन्य मुद्दा लगाइएको छ।
यसैबीच, संविधान, कानून व्यवस्था र न्यायपालिकामाथि पूर्ण आस्था राख्ने भएकाले कानूनअनुसार न्यायपालिकाले रमेश राईको रिहाइ गर्ने कुरामा गोर्खा जनमुक्ति युवा मोर्चा विश्वस्त रहेको एक विज्ञप्तिमा बताइएको छ।
यसका साथै गोर्खा जनमुक्ति मोर्चा (विमलपन्थी)-का जति पनि शीर्षस्थ नेतृत्वगणलगायत साधारण कार्यकर्ताहरूमाथि थोपिएका कानुनी मुद्दाहरू राजनीतिप्रेरित मुद्दाहरू हुन् भन्ने कुरा सर्वविदितै रहेको पनि विमलपन्थी युमोले बताएको छ।


