रणजी ट्रफीमा सिक्किमको ऐतिहासिक जीत, मिलिन्द कुमार प्लेयर अव् द म्याच

0
1086
मणिपुरविरुद्ध ऐतिहासिक जीत दर्ता गरेपछि सिक्किमका खेलाड़ीहरू।
गान्तोक, 3 नोभेम्बर :  रणजी ट्रफीको प्लेट डिभिजनमा सिक्किमले मणिपुरविरुद्ध एक इनिङ्ग्स 27 रनको फराकिलो जीत दर्ता गरेको छ। 
यसपटक रणजी ट्रफीमा अन्य 8 राज्यसँगै सामेल भएको सिक्किमको यो ऐतिहासिक जीत हो। कोलकाताको जाधवपुर विश्वविद्यालय क्याम्पसको दोस्रो खेल मैदानमा खेलिएको यो म्याचमा सिक्किमका लागि मिलिन्द कुमार जीतका नायक बने। उनकै 261 रनको उत्कृष्ट इनिङ्ग्सको सहयोगमा टस् हारेर पहिलो ब्याटिङ गर्न ओर्लेको सिक्किमले पहिलो इनिङ्ग्समा सबै विकेट गुमाएर 372 रन जोड़ेको थियो। मिलिन्दले आफ्नो यो उत्कृष्ट ब्याटिङअवधि 331 बलको सामना गर्दै 39 चौका र तीन छक्का हुर्‍याएका थिए।
यो उत्कृष्ट इनिङ्ग्समा मिलिन्द कुमारलाई प्लेयर अव् द म्याच चयन गरियो।
सिक्किमका लागि मिलिन्दबाहेक विपुल शर्माले 45 र ली योङ लेप्चाले 25 रनको उपयोगी इनिङ्ग्स खेले। यसको जवाफमा सिक्किमको कसिलो बलिङ आक्रमण अघि असहाय देखिएको मणिपुरका सबै ब्याट्सम्यानले मिलेर पहिलो इनिङ्ग्समा केवल 79 रन जोड़ेका थिए। 
मणिपुरको तर्फबाट केपी सिंहले 30 र कप्तान यशपाल सिंहले 29 रन बनाए। यी दुई ब्याट्सम्यानलाई छोड़ेर मणिपुरका एकैजना ब्याट्सम्यानले पनि ठूलो इनिङ्ग्स खेल्न नसकेपछि झिनो योगफलमा समेटिएको हो। सिक्किमको बलिङ आक्रमणअघि मणिपुरका ब्याट्सम्यानहरू कतिसम्म असहाय देखिए भने 6 जना ब्याट्सम्यान शून्यमा आउट भएका थिए।
सिक्किमका लागि ईश्वर चौधरीले 4, विपुल शर्माले 3, ली योङ लेप्चाले 2 र पाल्जोर तामाङले 1 विकेट लिए। पहिलो इनिङ्ग्समा 293 रनको फराकिलो अन्तरले पछाड़िएको मणिपुरले दोस्रो इनिङ्ग्समा केही सुध्रिएको प्रदर्शन गरे तापनि ठूलो पराजयलाई भने टार्न सकेन। 
दोस्रो इनिङ्ग्समा कप्तान यशपाल सिंहको 132 र प्रारम्भिक ब्याट्सम्यान अर्जुन रावन्तको 70 रन बनाए। यद्यपि अन्य ब्याट्सम्यानहरूले पुनः फितलो प्रदर्शन गर्दा सबै विकेट गुमाएर मणिपुरले केवल 266 रन जोड़ेपछि  यो फराकिलो हार बेहोरेको हो।
मणिपुरको दोस्रो इनिङ्ग्समा सिक्किमका लागि विपुल शर्माले 4, ईश्वर चौधरीले 3 तथा पाल्जोर तामाङ, मिलिन्द कुमार र पदम लिम्बूले एक-एक विकेट लिए। यो जीतसँगै बोनस अङ्क पनि पाएको सिक्किमको एक खेलमा 7 अङ्क भएको छ। 
अहिले सिक्किम अङ्क तालिकामा दोस्रो स्थानमा रहेको छ। पहिलो स्थानमा नागाल्याण्ड छ। नागाल्याण्डको पनि समान 7 अङ्क छ। प्लेट डिभिजनमा सिक्किम, नागाल्याण्ड, मणिपुर, मेघालय, उत्तराखण्ड, बिहार, अरुणाचल प्रदेश र मिजोरम छ। यो ऐतिहासिक जीतका लागि सिक्किम क्रिकेट एसोसिएशनले आफ्ना खेलाड़ीहरूलाई बधाई दिएको छ। यो जीतले सिक्किम क्रिकेटको सुन्दर भविष्यको बाटो खन्ने एसोसिएशनले विश्वास व्यक्त गरेको छ।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here