साङ्केतिक फोटो। |
कोलकाता, ३ नोभेम्बर : सीबीआईले सारधा र रोजभेल्ली चिटफण्ड मामिलाको जाँचमा तीव्रता ल्याएको छ।
जाँचलाई पुनः तीव्रतासँग अघि बढ़ाएको सीबीआईले करोड़ौं रुपियाँमा किनिएको राज्यकी मुख्यमन्त्री ममता ब्यानर्जीले बनाएको पेण्टिङ जफत गर्न कार्य शुरु गरेको छ। यसैक्रममा मुख्यमन्त्रीका नजिकका मानिने शिवाजी पाञ्जाले किनेका १० पेण्टिङलाई जफत गरेको छ।
सीबीआईको यो कार्यले राज्यको शासक दलभित्र सनसनी फैलिएको छ। स्मरणरहोस्, सीबीआईभित्र देखिएको अन्तर्कलहको कारण सारधा र रोजभेल्ली चिटफण्डमाथि भइरहेको जाँचको गति सुस्त हुने अनुमान शासक दलले गरेको थियो।
सूत्रका अनुसार चिटफण्ड कम्पनीका निर्देशकहरूद्वारा गैरकानुनी रूपमा बजारबाट असुलेको करोड़ौं रुपियाँको एक ठूलो अंश मुख्यमन्त्रीले बनाएको पेण्टिङ किन्नमा खर्चिएको छनक सीबीआईले पाएको थियो। आखिर मानिसहरूको खून पसिनाको कमाइलाई लुटेर मुख्यमन्त्रीले बनाएको पेण्टिङ किन्नमा किन खर्च गरियो भन्ने जाँच गर्नमा अहिले सीबीआई जुटेको छ।
यद्यपि पेण्टिङको बिक्रीबाट प्राप्त भएको धनराशिलाई मुख्यमन्त्रीले जनहितका कार्यहरूमा खर्च गरेको तृणमूल कङ्ग्रेसको दाबी छ। यता, बिहीवार शिवाजी पाञ्जाले किनेका मुख्यमन्त्रीका १० वटा पेण्टिङलाई जफत गरेको छ। बताइँदैछ, शिवाजी पाञ्जाले यी १० पेण्टिङ ५० लाख रुपियाँमा किनेका थिए। सीबीआईले यो पेण्टिङको वास्तविक मूल्य जान्नका लागि पेण्टिङलाई शुक्रवार विशेषज्ञकहाँ पठाएको छ।