तृणमूल नेताको छोरोको मृत्युलाई केन्द्र गरी नर्सिङ होममा तोड़फोड़

0
1559
तोड़फोड़पछि नर्सिङ होममा तैनाथ गरिएको सुरक्षा बल।

सिलगढ़ी, ३ नोभेम्बर: तृणमूल कङ्ग्रेसका एक स्थानीय नेताको ५ वर्षीय छोरोको मृत्युलाई केन्द्र गरी आइतवार सिलगढ़ीको मतिगढ़ास्थित एक चर्चित नर्सिङ होममा तोड़फोड़ गरिएको छ।

खोरीबारी ब्लकअन्तर्गत् बतासे ग्राम पञ्चायतका प्रधान एवं तृणमूल नेता भवतोष मण्डलका छोरो शेयरान मण्डललाई केही दिनअघि उक्त नर्सिङ होममा भर्ना गरिएको थियो। यद्यपि उपचारको क्रममा आइतवार बिहान शेयरानको मृत्यु भयो।

त्यसपछि आक्रोशित बनेका परिवार एवं गाउँलेहरूले ‘उपचारमा लापरवाही गरिएको’ आरोप लगाएर उक्त नर्सिङ होममा तोड़फोड़ गरेका हुन्। उनीहरूले रिसिप्शन काउण्टर, शिशाले बनेको प्रवेशद्वार र नर्सिङ होमबाहिर रहेको औषधि पसल तोड़फोड़ गरेका छन्।

मृतकका पिता भवतोष मण्डलका अनुसार पछिल्लो ३१ अक्टोबरको दिन शेयरान दुर्घटना परी गम्भीर घाइते भएपछि परिवारपक्षले उनलाई मतिगढ़ामा रहेको उक्त नर्सिङमा भर्ती गरिएको थियो।

उनले थप बताएअनुसार आफ्ना दाजुसँग खेलिरहेको समयमा यी ५ वर्षीय शेयरानलाई एक १४ वर्षीय किशोरले गुड़ाइरहेका ट्याक्टरले जोड़ले धक्का दिएको थियो। त्यसपछि ती बालकलाई तत्कालै खोरीबारी सरकारी अस्पतालमा लगिएको थियो। यद्यपि अवस्था गम्भीर रहेकोले त्यहाँबाट रेफर गरिएकोले त्यसै राति उक्त नर्सिङ होममा भर्ती गरिएको थियो।

अर्कोतिर, आफ्ना छोरोको मृत्यु डाक्टर र अन्य स्टाफहरूको लापरवाहीकै कारण भएको आरोप लगाउँदै मृतकका पिता भवतोष मण्डलले मतिगढ़ा थानामा उजुरी दर्ता गरेका छन्।

“मेरा छोरोको उपचार जुन डाक्टरले गरिरहेका थिए, उनले सही उपचार गरेनन्। उपचारमा लापरवाही अपनाएकै कारण मेरा छोरोको मृत्यु भएको हो”, तृणमूल नेता मण्डलले आरोप लगाए।

नर्सिङ होम तोड़फोड़को घटनाले क्षेत्रमा तनाउ सिर्जना भएको थियो। परिस्थितिलाई नियन्त्रणमा ल्याउनका लागि बाक्लो सङ्ख्यामा सुरक्षाबल खटाइएको छ।

अर्कोतिर, नर्सिङ होमका महाप्रबन्धक कौशिक हलदारले तोड़फोड़को घटनालाई दुर्भाग्यपूर्ण र दुखद बताएका छन्। साथै उपचारमा लापरवाही अपनाएको आरोप पूर्ण रूपले गलत र निराधार रहेको उनले बताएका छन्।

“बालकको उपचारमा राम्रो ध्यान दिइएको थियो। उपचारमा लापरवाही अपनाइएको आरोप एकदमै गलत हो”, महाप्रबन्धक हलदारले भने।

यसैबीच, आज उक्त नर्सिङ होम तोड़फोड़ गरिएको घटनाको पश्चिम बङ्गाल डाक्टर्स फोरम (डब्ल्यूबीडीएफ)-ले तीखो शब्दमा निन्दा गरेको छ। साथै फोरमले डर र भयरहित उपचारको माहोल सिर्जना गर्नका लागि कानून र व्यवस्था सुनिश्चित गर्न स्थानीय तथा राज्य प्रशासनलाई आग्रह गरेको छ।

‘हामी मेडिकेयर एक्ट २००९ कानूनअन्तर्गत यो घटनामा संलग्न सबै आरोपीहरूलाई तत्काल पक्राउ गर्नुपर्ने माग गर्दछौं’, फोरमले भनेको छ।

यो घटनाको पछाड़ि कुनै राजनीतिक नेताको हात रहेको छ/छैन, त्यसलाई पत्तो पश्चिम बङ्गाल डाक्टर्स फोरमले कानून प्रवर्तन एजेन्सीहरूसँग अनुरोध पनि गरेको छ।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here