विष्टले सदनमा उठाए दार्जीलिङमा पुलिसी अत्याचारको मुद्दा

0
1483

दार्जीलिङ, 3 दिसम्बरः सांसद राजु विष्टले मङ्गलवार पुलिसको माध्यमद्वारा पश्चिम बङ्गाल सरकारले दार्जीलिङ पहाड़मा आतङ्क मच्चाइरहेको मुद्दालाई उठाए।

यससम्बन्धमा उनले पछिल्लो शनिवार एकैरातमा पुलिसले विमल गुरुङपन्थी गोजमुमोका 14 जना कार्यकर्तालाई बिनाकारण पक्राउ गरेको तथा ती पक्रा पर्ने कार्यकर्ताहरूलाई सादा कागजमा हस्ताक्षर गर्नसमेत लगाएको बताए।

यसका साथै उनले पहाड़मा पुलिसी अन्याय-अत्याचारको जाँच गर्नका लागि एक संसदीय समिति गठन गरिनुपर्ने तथा समितिको रिपोर्टमा सदनमा पेश गरिनुपर्ने माग गरेका छन्।

यसअवधि विष्टले बङ्गाल सरकारले संविधानको उल्लङ्घन गरी दार्जीलिङ पहाड़का आम नागरिकहरूलाई गैरकानुनी ढङ्गमा पक्राउ गर्न पुलिसलाई निर्देश दिइरहेको तथा पुलिसकै डरले अहिले पनि पहाड़का 5000 युवा दार्जीलिङबाहिर बस्न भइरहेको बताए।  अर्कोतिर, विष्टले सदनमा आफूद्वारा उठाएको मुद्दाबारे एक प्रेस विज्ञप्ति जारी गरी जानकारी लगाएका छन्।

विज्ञप्तिमा उनले भनेका छन्, ‘मैले पश्चिम बङ्गालमा व्याप्त भय र भयको वातावरणबारे सदनमा प्रकाशमा पारे। साथै  बङ्गालमा तृणमूल सरकारले राजनीतिक विरोधीहरूलाई धम्काउने, प्रताड़ित गर्न कसरी प्रशासनिक मशिनरी र पुलिसको दुरुपयोग गरिरहेको छ, त्यसबारे सदनको ध्यानाकर्षित गरे।’

बङ्गालमा तृणमूल कङ्ग्रेससँग असहमत रहने मानिसहरूको घर जलाउने, कुटपिट गर्ने तथा हत्या गरिने गरेको र अहिलेसम्म पश्चिम बङ्गालमा 150 भाजपा कार्यकर्ताको हत्या भइसकेको र यससम्बन्धमा बङ्गाल पुलिसले अहिलेसम्म कुनै कारबाही नगरेको सदनमा बताएको उनले विज्ञप्तिमा उल्लेख गरेका छन्।

‘पश्चिम बङ्गाल सायद भारतको एकमात्र राज्य हो, जहाँ पुलिसलाई पूर्णकालिक पार्टी क्याडरको रूपमा काम गर्नका लागि प्रोत्साहित गरिन्छ। यहाँ आम मानिसहरू मात्र पुलिसबाट पीड़ित छैनन्, तर निर्वाचित प्रतिनिधि पनि सुरक्षित छैनन्’, सांसद विष्टले भनेका छन्, ‘तपाईंहरूलाई थाहै भएको कुरा हो, मैले पश्चिम बङ्गालका पुलिस महानिर्देशक र स्थानीय पुलिसलाई सुचित गर्दा 22 अक्टोबरको दिन ममाथि प्राणघातक हमला भएको थियो।’

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here