उदय थुलुङ
जन्ती फर्किने बेला भएको थियो। अघि हाम्रो पालामा जस्तो बेहुली अन्भाउने क्षणलाई सनईको जोडी क्रन्दनले मर्मिक बनाइरहेको थिएन। एक-दुई बुढा निखारपाखार घुट्को सगुन सिध्याउनमा होडबाजी गर्दै थिए। स्वास्नीमान्छेहरू जन्तीपट्टिका एकदुईलाई बेहुलीकी छेमाले भित्री कोठामा हुलेकी छिन्। अपरेटर भाइले ऱ्याप सङ घुमाइदिएको छ पेनड्रइभबाट। हाम्रो भरिया बिनाताल र बिनाभावको हिपपप् अभिनय नाच्दैछ। घरी घरी खुट्टा बाङ्गा टिङ्गा बेहुली घरका भुराभुरीहरू गललल हाँस्दैछन्।
यस्तैमा चारजना केटाले दुईपट्टि गत्ताले बेह्रेको एउटा ठुलो ड्रअर (गडरेज)-लाई झ्याल्टुङ पारी बोकेर आँगनमा निकाले।
“छोड छोड बाटो एकछिन्।” बेहुलीकी बडा बिहानैदेखि व्यस्त देखिन्थे। अहिले यहाँ पनि उनी नै आइपुगे। “भाइ, तल सिधै। गाडीमा हाल्नुपर्छ।” उनी पुन: बोले।
केटाहरूले कमिलाले फटेङ्ग्रा झुण्डाए जस्तै गरी फूर्तिसित गडरेजलाई तल पुऱ्याए। गाडीको क्यारियरमा चढाएपछि तिनीहरू फेरि उँभो आए। म, रविन सरसित सुङ्खिममको डिलमा उभेर तलतिर हेर्दै थिएँ; केटाहरूले फेरि सोफासेटको लामो पिसलाई चारैपट्टिबाट झुण्डाएर घरभित्रबाट निकाले; हामीले हेर्दाहेर्दै त्यो पनि क्यारियरमा चढ्यो।
केटाहरूले फेरि त्यसको जोडी ओसारे। फेरि टिकको काठले बनिएको बुट्टादार पलङ क्यारियरमा चढ्यो। फेरि सिलगढीबाट ल्याएको ड्रेसिङ मिरर। फेरि सिलगढीकै किचन आलमारी। त्यसपछि हामीले हेरिरह्यौँ-अरू पनि होला कि भनेर।
अन्तमा एउटा बलियो मरदले नाम्लोमा बोकेर निकाले एउटा गह्रौँ सामान । हामीले वासिङ मेसिन होला भन्यौँ, तर फ्रिज रहेछ।
गाडीसम्म फ्रिज पुगेपछि तलबाट ड्राइभर करायो – “अर्को गर्नुपर्छ, अर्को गाडी। हुँदैन नि यत्रो!” ड्राइभरको गणित, अहिलेको सामानको लोडसित मिलेन। रविन सर र मैले उभेर हेरिबस्यौँ यो दृश्य।
“एउटा पिक्अप गर्नुपर्छ। भित्रको, मण्डपको सामान काँ हाल्ने ?” गाडीको छप्परबाट अर्का तन्नेरीले समर्थन गऱ्यो।
अनि निक्कै लानो गन्थनपछि बेहुलीको बडाले गाउँकै पिक्अपलाई फोन गरेर बोलाए।
अलिअलि चिसो हावा हुर्रिन थालेको थियो। मैले कोटभित्रको हाफ स्वेटरलाई मिलाएर कोटको बटन लाएँ। रविन सरको दिउँसो रन्केको शरीर सेलाएको, अनुहारमै देख्दैछु। हाम्रो भरियाले नाचिसकेको छैन।
यता र उताका कोङ्पीहरू आँगनमा कबड्डी खेल्लाझैँ गरी उभिएका देख्छौँ। विदाईको सगुन राखेका रहेछन्। हात जोर्दैछन् चारैजनाले। बेहुलाको बडा त्यहाँ पनि उभिएका छन्।
“अङ्कल कफी पिउनु हुन्छ?”
एउटी सोह्र-सत्र वर्षकी बालाले तातो कफी अघिपट्टि देखाई।
“ओहो, राम्रो गऱ्यौ है।” मैले भनेँ। रविन सरलाई एउटा टिपेर दिएँ। कफी सुरुप्प मुखमा हालेपछि न्यानो भयो।
अचानक हिपपप् नाच रोकियो। गीतले भाका फेऱ्यो – “बालापनको आँगन त्यागेर।”
“अरुणा लामा हो र ?” रविन सरले ठुल्ठुला आँखा पारेर मलाई सोधे।
“रिमिक्स हो। अरुणा लामा भएर गाएकी।” मैले भनेँ।
बेहुलीको विदाइको क्षणमा अरुणा लामाको अरिजिनल आवाजमा पाइने वेदना नभेट्दा हामी दुई भाइका भावुकता र संवेदनशीलता सुपर फ्लप भयो।
“धत्।” रविन सर झोँक्किए। आँखालाई आँसुले रसाउने क्षणमा क्रोध उत्पन्न गर्नेको रसले स्थिति मात्दो रहेछ। एउटा नकली स्वरले रिझाउने कोशिश गरिरहेको छ माहौललाई। गीतमा साँचो वेदना नपाएर, रिमिक्सको पूर्वाग्रहले ग्रस्त माहौललाई भावुकता सोच्ने फुर्सद छैन। गीतको अपमान भइरहेझैँ लाग्छ मलाई।
“लु जाऊँ। खोई बेहुला-बेहुली ? ल ल जन्तीहरू उठ्नु पऱ्यो।” कोङ्पी कराए। उता गीतको आशय सकिन लागेको छ। बेहुला-बेहुली गाउँले-आफन्तहरूसित फोटो सेसनमा व्यस्त रहेछन्। गीत सुनिनन् होला बेहुलीले।
“भयो भयो, रात पऱ्यो। भोलि पर्सि खिँच्नु।” कोङ्पी फेरि कराए।
आँगनैभरि भिड भयो।
गेटबाहिर बाटो थुन्ने सगुन तयार भो। अपरेटर भाइले फेरि रिभाइन गऱ्यो- “बालापनको आँगन त्यागेर…..।” बेहुली रुन्छ होला भनेर उसले पर्खिबस्यो।
“आयो आयो……।” हल्ला भयो। हेऱ्यौँ, भित्रबाट बेहुलीको भाइले बेहुलीलाई आङमा बोकेर गेटसम्म ल्याए। सबै हाँसे गललल। बेहुली लाजले रातो भई। लोकोन्तीको छेल लागेर ऊ लजाई लजाई हाँसी।
सबै कुरा सकेपछि अगाडिको गाडी हिँड्यो। हाम्रो गाडीले पनि हेडलाइट बाल्यो। एक गोलाई काटेर मैले भनेँ- “यत्रो सामान अँटायो के हौ ?”
कोही पनि बोलेनन्। “ठुला सामान नै कम्ती थिएन।” फेरि भनेँ मैले।
बोलेनन् कोही। फेरि अर्को सानो गोलाई आयो।
ड्राइभरले मलाई पुलुक्क हेऱ्यो र भन्यो- “साह्रै ठिक लाग्दैन सर यस्तो।”
“के” मैले भनेँ।
“यो सामान दिने सिस्टम।” ड्राइभरले भन्यो।
“हामीले त टोपी र सरप्राइजको हाफ मिटर सर्ट पिस मात्रै भेट्यौँ।” रविन सरले हाँसेर भने बिचैमा। हामी सबै गललल हाँस्यौँ।
“टोपी पनि टाउको छिरे त हुन्थ्यो नि!” मैले भनेँ। फेरि सबै हाँसे गललल।
“सर्ट पिस नि सर!” असित सर पछाडिबाट – “नानीलाई भोटो सिलाउनु भनेर पो राखेँ मैले त।” फेरि हाँसे गललल।
“वास्तवमा नि सर, उहिलेका बुढाहरू ठिक थिए।” ड्राइभरले कुरा थाल्यो।
“यो अहिलेको काठपात र टिन-च्यादर त एउटा लोकोकीर्ति मात्रै हो।” ड्राइभरले एक टर्निङ स्टेयरिङ घुमाएर भन्यो।
“हामीले त जिरोबाट शुरू गरेको हो।” सरोज सरले घोर्ले स्वरमा भने।
“जिरोबाट शुरू नहोस् भनेर होला” असित सर बोले “बाउ माइतीले मायाले दिएको।”
“म त क्यै पनि भन्दिनँ है” मैले भनेँ “दे’को कुरा फर्काउनु नमिल्ला।”
रविन सरले छड्के हेरे मलाई। उनको आँखाले ‘तपाईंको पनि हात पाग्ने बेला भयो नि त’ भनेजस्तो गऱ्यो। मैले पनि आँखा तरेँ।
गफैगफमा निक्कैवटा गोलाई काटिसकेछौँ। गाडीको हेडलाइटमा आँखा छ सबैको। अहिले कोही बोलेका छैनन्। हामी निक्कै बेरसम्म चुपचाप भयौँ।
अचानक, अघिल्तिर हेरेरै भन्यो ड्राइभरले – “माया-ममताले छोरीलाई उपहार दिनु ठिकै हो सर तर यत्रा ठुल्ठुला सामानहरू दिने चलन राम्रो लागेको छैन। हाम्रो समाजमा परापूर्वदेखि नै यो चलन थिएन। सक्नेले देलान् उनीहरूका छोरी-ज्वाईं खुसी बन्लान्; नसक्नेले दिन नसक्ला, छोरी-ज्वाईंले खल्लो मान्लान्। यो चलन बिस्तारै सेखासिकी र देखासिकीमा परिणत हुँदै जाँदैछ। याद गर्नु भा’को छ सर ?” अन्तमा फेरि उसले सोध्यो मलाई।
“ के ?” मैले भनेँ।
“अचेल जन्ती फर्केको बेला सबैको आँखा गाडीको छप्परमा हुन्छ।”
“हो हो।”
“जन्तीले पनि फर्किने बेलामा पोका-पन्तरा हेर्ने गर्छ।”
“हो हो।”
“रहर र इच्छामा जन्मेको व्यवहार पछि गएर संस्कारमा परिणत हुन्छ रे भन्छ।” कस्तो बुद्धिमानी कुरा ड्राइभरको। “यो उपहार दिने र लिने चलन अहिलेलाई ठिकै भए पनि यसभित्र लुकेको मौनता, मौनताभित्र हुर्किरहेको अचम्मको मानसिकताले आउने दिनहरूका लागि राम्रो सङ्केत दिएको छैन सर।”
“बुझिनँ भाइ ” मैले भनेँ।
“हाम्रो समाजमा यो जस्तो विकृत संस्कार अर्को कुन हुन्छ होला त्यसबेला भन्नुहोस् त सर।”
मसित उत्तर रहेन। मेरो पछिल्तिरको सिटबाट पनि कसैको आवाज आएन। हेडलाइटको सहारामा गाडी अघि बढिरह्यो।
निक्कै लामो चुपचापपछि मैले घडी हेरेँ दश-पन्ध्र मिनटभित्रमा घर पुग्छौँ हामी।