कोलकातामा ‘लोकतन्त्रको उपहास’ : ममता धरनामा, सीबीआई सुप्रिम कोर्टमा

0
1363
धरनामा बसेकी ममता ब्यानर्जी (फोटो साभार : इन्टरनेट)

कोलकाता, 4 फरवरी छ : सोमवार बेलुकी कोलकातामा लोकतन्त्रको खिल्ली उड़ाउने घटना घट्यो। शारदा चिटफण्ड घोटालाको जाँचलाई लिएर हिजो बेलुकी लगभग 6.30 बजे सीबीआईका 40 सदस्यीय टीम अचानक कोलकाताका पुलिस आयुक्त राजीव कुमारको घरमा छापामारी गर्न पुगेको थियो।

यद्यपि त्यहाँ अघिबाटै तैनाथ रहेका राज्य पुलिसका अधिकारीहरूले सीबीआईको टीमलाई रोकेर राखे। कोलकाता पुलिसले सीबीआई अधिकारीहरूलाई पुलिस आयुक्त कुमारको घरमा पस्नै  दिएन। यसैबीच, दुवै एजेन्सीका अधिकारीहरूबीच ठेलाठेल र हातपातको अवस्थासमेत सिर्जना भयो। अवस्था कस्तोसम्म सिर्जना भयो भने कोलकाता पुलिसले सीबीआई अधिकारीहरूलाई हिरासतमा लिएर शेक्सपियर थाना लगियो। तथापि तीनघण्टापछि सीबीआईका अधिकारीहरूलाई छोड़ियो।

त्यतिबेलासम्म कोलकातादेखि दिल्लीसम्म खैलाबैला मच्चिसकेको थियो। यसैबीच ममता ब्यानर्जी कुमारको घरमा पुगिन्। केन्द्रको बङ्गालको सत्ता पल्ट्याउने षड़यन्त्र रचेको आरोप लगाउँदै ममता कोलकाताको धरमतल्लास्थित मेट्रो च्यानलबाहिर धरना शुरु गरिन्।

अर्कोतिर सबै विपक्षी ममताको पक्षमा उभिएका छन्। उनीहरूले भाजपाले सीबीआईको दुरुपयोग गरिरहेको आरोप लगाएका छन्।

अर्कोतिर संवैधानिक सङ्कटको मुद्दा बोकेर ममता सरकारको कारबाहीविरुद्ध सीबीआई सोमबार सुप्रिम कोर्ट जानेछ। किनभने सुप्रिम कोर्टकै आदेशमा यो घोटालाकाण्डको जाँच सीबीआईले गरिरहेको छ। यसैले सीबीआईको कारबाहीमा बाधा दिनु सुप्रिम कोर्टमा आदेशको अवमानना गर्नु पनि हो।

राजीव कुमारविरुद्ध पर्याप्त प्रमाण रहेको सीबीआईको दाबी

सीबीआई सूत्रका अनुसार पुलिस आयुक्त राजीव कुमारविरुद्ध पर्याप्त प्रमाण छ। नोटिस पठाउँदा पनि उनी केरकारका लागि सीबीआई कार्यालयमा पुगेनन्। उल्टो तीनदिनदेखि बेपता बनेको सीबीआईको भनाइ छ।

यी पुलिस आयुक्त चुनाउ आयोगले आगामी लोकसभा चुनाउलाई लिएर डाकेको महत्त्वपूर्ण बैठकमा पनि उपस्थित भएनन्। त्यसैले उनलाई कारण बताउनुपर्ने चुनाउ आयोगले भनेको छ।

राज्यपालले बोलाए डीजीपी र मुख्य सचिवलाई

ममता मेट्रो च्यानलमा धरना बसेपछि तृणमूल समर्थक सड़कमा निस्केर प्रदर्शन गर्न शुरु गरे। यसैबीच सीबीआईले पश्चिम बङ्गालका राज्यपाल केसरीनाथ त्रिपाठीलाई भेट्नका लागि आज (सोमबार)-को समय मागेका छन्।

राज्यपाले राज्यका मुख्य सचिव र डीजीपीलाई बोलाएर विस्तृत रिपोर्ट मागेका छन्। यसपछि राज्यले आफ्नो रिपोर्ट केन्द्रलाई पठाउनेछन्। यो घटनापछि प्रदेश भाजपा पनि सक्रिय बनेको छ। भाजपाको प्रतिनिधि दल दिल्ली गइ  यो मामिलामा मुख्य चुनाउ आयुक्तसँग भेट्न रणनीति बनाएको छ।

के हो मामिला?

शारदा चिटफण्ड घोटालामा राज्य सरकारले विशेष जाँच दल (एसआईटी) बनाएको थियो। यो दललाई राजीव कुमारले नेतृत्व गरेका थिए। शारदा समूहका मुखिया सुदीप्त सेन र उनकी सहयोगी देवजानी मुखर्जीलाई पक्राउ गरेको थियो।

सुप्रीम कोर्टको निर्देशमा यसको जाँच सीबीआईलाई सुम्पियो। सीबीआईको केरकारमा देवजानीले उनकोबाट एसआईटीले एक रातो डायरी, पेन ड्राइभसमेत केही महत्त्वपूर्ण दस्तावेज जफत गरेको बताएकी थिइन्। त्यसबेलादेखि नै सीबीआई उक्त पेन ड्राइभ र रातो डायरी खोजिरहेको छ।

यसै कारण पनि यो मामिलामा राजीव कुमारको बयानलाई सीबीआईले महत्त्व ठानेको छ।

पश्चश्चम बङ्गालदेखि ओडिशासम्म फैलिएको शारदा चिटफण्ड घोटालाको जाँचको जिम्मा सुप्रिम कोर्टले 2014 मा सीबीआईलाई सुम्पेको थियो। लगभग 2500 करोड़ रुपियाँको यो घोटालाका आरोपीहरूको तृणमूल नेताहरूसँग सम्बन्ध रहेको छ।

यसका साथै रोजभेल्ली घोटालाको जाँच पनि सीबीआईले नै गरिरहेको छ, जुन घोटालाको राशि 17000 करोड़ रुपियाँ छ। दाबी गरिएअनुसार यो घोटालाको दस्तावेज कुमार 1989 ब्याचको आईपीएस अधिकारी राजीव कुमारसँग छ।

उनले नै शारदा घोटालाको जाँच गरेको एसआईटीको नेतृत्व गरेका थिए। यो मामिलासँग जोड़िएका केही महत्त्वपूर्ण फाइल एवं दस्तावेज बेपता छन्।

डोभालको इसारामा सीबीआईले काम गरिरहेको ममताको आरोप

ममता तृणमूल कङ्ग्रेस प्रमुख एवं मुख्यमन्त्री ममता ब्यानर्जीले सीबीआईमाथि राष्ट्रिय सुरक्षा सल्लाहकार (एनएसए) अजित डोभाल र प्रधानमन्त्री नरेन्द्र मोदीको इसारामा काम गरेको आरोप लगाउँदै धरना शुरु गरेकी छन्। पछिल्लो 19 जनवरीको दिन कोलकातामा 20 विपक्षी दलको ऱ्यालीले आतिएर नरेन्द्र मोदी र अमित शाहले प्रतिशोधको राजनीति गरिरहेको आरोप लगाएकी छन्। “देशमा आपातकालसँग खराब अवस्था छ’’, ममताले भनिन्।’’

सबै विपक्ष ममतासँग

कङ्ग्रेस, आप, सपा राकंपा, राजद, द्रमुकसमेत सबै प्रमुख विपक्षी दलले केन्द्रविरुद्ध ममताको लड़ाइँलाई समर्थन गरेका छन्। राहुल गान्धी, एचडी देवेगौड़ा, चन्द्रबाबू नायडु, एमके स्टालिन, अखिलेश यादव, अरविन्द केजरीवाल, शरद पवार, तेजस्वी यादव आदिले ममताप्रति समर्थन जताएका छन्।

केजरीवाल र तेजस्वी सोमवार कोलकाता आइरहेका छन्। राहुल गान्धीले समर्थन जनाएको कारण कङ्ग्रेसका केही वरिष्ठ नेता पनि कोलकाता आइपुग्ने सम्भावना छ।

ममताले संवैधानिक मूल्य र लोकतन्त्रको खिल्ली उड़ाइन् : भाजपा

भाजपा प्रवक्ता जीवीएल नरसिंहा रावले ममता ब्यानर्जीले संवैधानिक मूल्य-मान्यता र लोकतन्त्रको खिल्ली उड़ाएको आरोप लगाएका छन्। उनले भने, “कोलकाताको घटनाक्रम र सीबीआई जाँचको विरोधले विचित्र, अभूतपूर्व र ब्यानर्जीको तानाशाही व्यवहारलाई दर्शाउँछ।’’

भाजपाका राष्ट्रिय महासचिव र बङ्गालका प्रभारी कैलाश विजयवर्गीयले सीबीआई महत्त्वपूर्ण सङ्गठन रहेको बताउँदै सीबीआईको कारबाही रोकेको घटनाप्रति तीखो शब्दमा निन्दा गरेका छन्।

सीबीआईको कारबाही सङ्घीय ढाँचामाथि हमला : कङ्ग्रेस

कङ्ग्रेसले कोलकातामा सीबीआईको कारबाही स्पष्ट रूपमा दुर्भावनापूर्ण र सङ्घीय ढाँचामाथि हमला बताएको छ। “सीबीआईको यो कारबाही प्रधानमन्त्री नरेन्द्र मोदी र भाजपा अध्यक्ष अमित शाहले जनतासमक्ष 48 घण्टाअघि दिइएको धम्कीपछि भएको छ’’, कङ्ग्रेसले भनेको छ।

ममता सरकारलाई बर्खास्त गर्नुपर्ने बङ्गाल कङ्ग्रेसको माग

राहुल गान्धीसमेत सम्पूर्ण विपक्षका नेता ममता ब्यानर्जीको पक्षमा उभिए तापनि बङ्गालको प्रदेश कङ्ग्रेसले भने ममता सरकारविरुद्ध बयान दिएको छ।

प्रदेश कङ्ग्रेस नेता अधीररञ्जन चौधरीले ममता सरकारको व्यवहार र सीबीआईमाथि गरिएको कारबाहीलाई संविधानविरुद्ध बताएको छ।

“केन्द्र सरकारले यो मामिलालाई दखल दिँदै संविधानको अनुच्छेद 356 अन्तर्गत ममता सरकारलाई बर्खास्त गर्नु पर्नेछ’’, उनले भनेका छन्।

चारो घोटालामा पनि यस्तै स्थिति

सीबीआईका पूर्व जोइण्ट डाइरेक्टर एमएल शर्माका अनुसार सीबीआई सुप्रिम कोर्टको निर्देशमा जाँच गरिरहेको छ। उनले चारो घोटालामा लालु यादवलाई पक्राउ गर्दा पनि यस्तै स्थिति सिर्जना भएको बताएका छन्।

घटनाक्रम

बेलुकी  6.30 बजे : कोलकाता पुलिस आयुक्त राजीव कुमारको लाउडन स्ट्रीटस्थित सरकारी निवासमा पुग्यो सीबीआई टीम।

बेलुकी 6.35 बजे : त्यहाँ तैनाथ पुलिसले सीबीआई टीमलाई रोकेर सर्च वारण्ट माग्यो। यसैबीच पुलिस अधिकारी र सीबीआई अधिकारीहरूसँग भिड़न्त र ठेलाठेल भयो।

बेलुकी  6.45 बजे : कोलकाता पुलिसले सीबीआईको निजाम प्यालेस र सल्टलेकको सीजीओ कम्प्लेक्सस्थित सीबीआई कार्यालयलाई घेऱ्यो।

बेलुकी  7 बजे : हतार हतार मुख्यमन्त्री ममता ब्यानर्जी पुलिस आयुक्तको घर पुगिन्। वरिष्ठ अधिकारीहरूसँग बैठकपछि केन्द्रको मोदी सरकारप्रति आक्रोश पोखिन्।

राति 9 बजे : ममता ब्यानर्जीले केन्द्रविरुद्ध धरना शुरु गरिन्।

राति : 9.30 बजे : हिरासतमा लिइएका पाँच सीबीआई अधिकारीलाई पुलिसले छोड़्यो।

राति : 9.40 बजे : सीबीआई कार्यालयबाट पुलिसलाई हटाइयो। केही समयपछि सीआरपीएफका जवानहरूले सीबीआईको कार्यालयलाई आफ्नो सुरक्षामा लिए।

राति 11.30 बजे : राज्यका मुख्य सचिव र डीजीपीले राज्यपाललाई भेटे।

राति 12: 15 बजे : ममताले सोमवार धरनास्थलबाटै विधानसभामा बजेट पेश गर्ने, क्याबिनेट बैठक गर्ने घोषणा गरिन्।

यो संवैधानिक सङ्कट हो। राज्य सरकारहरूले यदि केन्द्रिय एजेन्सीका अधिकारीहरूलाई हिरासतमा लिनु शुरु गरे, भविष्यमा कुनै पनि मुद्दाको जाँच ग्रनु गाह्रो पर्नेछ। पुलिस आयुक्तविरुद्ध सीबीआईसँग ठोस प्रमाण छ। उनले शारदासँग जोड़िएका महत्वपूर्ण दस्तावेजहरूलाई नष्ट गरेका छन्। सुरप्रिम कोर्ट जानका साथै सीबीआईले यो मामिला मुद्दा दर्ता गर्नेछ। – एम नागेश्वर राव, अन्तरिम निदेशक, सीबीआई

यो भाजपाको संवैधानिक विद्रोह र राज्य सरकारको सत्ता पल्ट्याउने षड़यन्त्र हो। हामी सबै विपक्षी दलसँग मिलेर ‘भाजपा हटाऔं सविधान बचाऔं, देश बचाऔं’ अभियान शुरु गर्नेछौं।’’ – डेरिक ओ ब्रायन, तृणमूल कङ्ग्रेस सांसद

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here