भाजपाले सीबीआईको दुरुपयोग गरेको आरोप, विनयले भने -हामी ममता ब्यानर्जीको पक्षमा छौं

0
1112
विनय तामाङ (फाइल फोटो)

दार्जीलिङ, 4 फरवरी : विनय तामाङपन्थी गोर्खा जनमुक्ति मोर्चा (गोजमुमो)-ले सीबीआईको कारबाहीको तीखो शब्दमा प्रतिवाद जनाउँदै पार्टी यो मामिलामा बङ्गालकी मुख्यमन्त्री ममता ब्यानर्जीको पक्षमा रहेको बताएको छ।

सोमबार गोजमुमो अध्यक्ष विनय तामाङले एक प्रेस विज्ञप्ति जारी गरी यसबारे जानकारी गराएका छन्। उनले विज्ञप्तिमा लेखेका छन्, “हिजो सीबीआईजस्तो महत्त्वपूर्ण संस्थालाई राजनीतिक स्वार्थ पूरा गर्न खुल्ला रूपमा दुरुपयोग गरिएको घटना अति नै दुर्भाग्यपूर्ण अनि लज्जाजनक घटना रहेको गोजमुमोले अनुभव गरेको छ। गोजमुमो उक्त घटनाको घोर प्रतिवाद जनाउँदछ। र यस्तो अगणतान्त्रिक अनि गैर-कानुनी काण्डविरुद्ध ममता ब्यानर्जीको पक्षमा रहेको जनाउँदछ।’’

पछिल्ला केही महिनामा सीबीआईको कार्यप्रणाली र यसका अघिकारीहरूको छनोटमा धेरै नाटकबाजी भएको सबैले खुलारूपमा देखिरहेको तथा पश्चिम बङ्गालमा सीबीआईजस्तो संस्थालाई पनि राजनीतिक हतियारको रूपमा प्रयोग गरिएको हिजो प्रत्यक्षरूपमा देखिएको दाबी पनि उनले गरेका छन्।

“यस्ता घटनाहरूले वर्तमानमा सीबीआईको कार्यप्रणालीमाथि दाग र बदनामीहरू थोपिँदैछ। केन्द्रमा सत्तासीन भाजपाले आफ्नो राजनीतिक स्वार्थ अनि राजनीतिक बदलाको भावना लिएर सीबीआईजस्तो स्वतन्त्र र उच्च जाँच संस्थालाई दुरुपयोग गरिरहेका छन्। गणतान्त्रिक भारतको एक स्वतन्त्र र उच्च जाँच संस्थामाथि यस प्रकारको दाग र बदनामीहरू थोपिनु अति खेदजनक र दुर्भाग्यपूर्ण घटना हो’’, तामाङले विज्ञप्तिमा लेखेका छन्, “केन्द्रिय उच्च र स्वतन्त्र जाँच संस्थाहरूलाई कुनै पनि सत्ताधारी पार्टीले आफ्नो सत्ताको शक्ति प्रयोग गर्दै यसरी राजनीतिक हतियारको रूपमा प्रयोग गरेको देख्दा सबै भारतावासीको मनमा आघात पुग्न गएको छ। यो गणतान्त्रिक पद्धति एवं संविधानविरोधी कार्य हो, जसले केन्द्र र राज्यको सम्बन्धविरुद्ध नकारात्मक परिवेश सृजना गरिरहेको छ।’’

उनले सीबीआईजस्तो सशक्त र स्वतन्त्र संस्था पनि वर्तमानमा भाजपाका लागि राजनीतिक हतियारको रूपमा प्रयोग भइरहेको आरोप लगाएका छन्। साथै उनले यदि होइन भने चुनाउको छेकमा अकस्मात शारदाकाण्ड बौराइ उठाउनु तथा चुनाउ हुन केही साताअघिमात्रै राज्यका पुलिस आयुक्तलाई पक्राउ गर्ने कोशिश गर्नुको पछिल्तिरको कारण के रहेको छ भन्ने प्रश्न पनि गरेका छन्।

“हालका परिस्थितिहरू हेर्दा मलाई सीबीआईले आफ्नो स्वतन्त्र शक्ति अनि गरिमालाई लत्याएर चारवर्ष अघिको घटनामाथि राजनीतिक रूपमा प्रेरित भएर कार्य गरिरहेको छ’’, उनले विज्ञप्तिमा थप लेखेका छन्।

तामाङले गणतान्त्रिक देश भारतमा देशवासीले सीबीआईलाई एक उच्च, निष्पक्ष जाँच संस्थाको दृष्टिले हेर्ने गरेको तथा यो संस्थाको जाँच प्रणालीसित आजसम्म सबैको आशा- भरोसा जोड़िएको पनि बताएका छन्।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here