अस्थायी विद्युत कर्मचारीहरूको माग पूरा नभए आन्दोलन चर्काउने विनयपन्थी मोर्चाको चेताउनी

0
964
केशवराज पोख्रेल (फाइल फोटो)

दार्जीलिङ, 4 फरवरी: विनय तामाङपन्थी गोर्खा जनमुक्ति मोर्चाले अस्थायी विद्युत कर्मचारीहरूको माग पूरा नभए सड़कमा ओर्लिएर आन्दोलन चर्काउने चेताउनी दिएको छ।

पार्टी प्रवक्ता केशवराज पोख्रेलले भने, “अस्थायी विद्युत कर्मचारीहरूले डाकेको 2 दिने टुल्स डाउन धरना कुनै परिणामबिनै सकिएको छ। पश्चिम बङ्गाल विद्युत बोर्डले सरकारले तोकेको न्यूनतम हाजिरा पनि अस्थायी कर्मचारीहरूलाई दिएको छैन। कर्मचारीहरू आफ्नो पाउनुपर्ने बुनियादी सुविधादेखि पनि वञ्चित भइरहेका छन्।”

उनले थप भनेका छन्, “यदि घरमा एक घण्टा बिजुली आएन भने मानिसहरूको स्थिति कस्तो हुन्छ? जनतालाई दुःख नहोस् भन्न खातिर यी अस्थायी कर्मचारीहरू दिनमा 14 घण्टा जति काम गर्छन्। उनीहरूलाई ओभरटाइमको अतिरिक्त भत्ता पनि दिइँदैन। अस्थायी कर्मचारीले पाउने मासिक वेतन हरदर 7000 रुपियाँ मात्र छ। यति कम वेतनमा काम लगाउनु मानव अधिकारको हनन पनि हो। सरकारले तोकेको न्यूनतम ज्याला कर्मचारीले पाउनुपर्छ। उनीहरूको अधिकारको बुनियादी सुविधा कर्मचारीले प्राप्त गर्नुपर्छ। यदि कर्मचारीहरुको माग चाँड़ो पूरा गरिएन भने गोर्खा जनमुक्ति मोर्चा कर्मचारीको समर्थनमा सड़कमा ओर्लिनेछ।”

अहिलेसम्म विनयपन्थी मोर्चाले कर्मचारीहरूलाई नैतिक समर्थन मात्र दिएको तर विद्युत बोर्डको एजेन्सीले कर्मचारीको माग पूरा नगरेमा कर्मचारीहरूको पक्षमा सड़कमा उत्रिने पनि पोख्रेलले बताएका छन्।

“विद्युत विभागका अस्थायी कर्मचारीहरूको ज्याला सरकारले तोकेको ज्यालाभन्दा कम्ती हुनुहुँदैन। कर्मचारीले पाउनुपर्ने बुनियादी सुविधा दिएकै हुनपर्छ। प्रत्येक अस्थायी कर्मचारीको जीवन बीमा हुनपर्छ”, केशवराज पोख्रेलले थप भनेका छन्, “यस विषयमाथि विद्युत बोर्डले अस्थायी कर्मचारीहरूको मागलाई गम्भीरतापूर्वक लिने आशा गरेका छौँ। सरकारले तोकेको आधारमा सही वेतन अनि सुविधा पाउनु कर्मचारीको मानव अधिकार पनि हो।”

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here