- कवि संवाद- डा. सञ्जय बान्तवा
कवि अविनाश श्रेष्ठ : परिचय
इस्वी सम्वत् १९६० -को दशकदेखि नेपाली साहित्यमा प्रयोगकाल सुरु भएको छ । यो कालखण्ड उत्तरआधुनिकताको पहिलो चरण थियो । इस्वी सम्वत् १९६३ -मा तेस्रो आयामले प्रस्तावित गरेको लेखनमा वस्तुता, सम्पूर्णता र अर्थनिरपेक्षतालाई लेख्दा नेपाली साहित्यमा केन्द्रवादी विचार र स्वरूपको विघटन गर्ने त्यो एक अग्रगामी आह्वान थियो । अनुभूतिको तत्क्षण-लेखनले उत्तरआधुनिकतावादी सिद्धान्तलाई चारित्रीकरण गरेको थियो ।
इस्वी सम्वत् १९७५-देखि सुरु भएको उत्तरप्रयोगकालमा अविनाश श्रेष्ठ तेस्रो आयामद्वारा प्रजनित प्रभाव र प्रतिक्रिया अनुरूप विकासको उर्ध्वगामितासँग समानान्तर अघि बढेका एकजना प्रतिनिधि कवि हुन् । उनले कोलाज आन्दोलनअन्तर्गत कार्यात्मक लेखन गर्दै उत्तराधुनिक काव्यचेतना र लेखनको अवलम्बलाई सुनियोजित बनाएका छन् । काव्यको प्रतिमानलाई खण्डीय एकत्व र आख्यानात्मक संरचना दिने योजनाअनुरूप उनका कवितामा प्रयोगवादी विशेषता सदा सक्रिय रहेको छ ।
इस्वी सम्वत् १९९० -को दशकदेखि सम्भावित रूपमा उत्तरकालको विवेचना हुर्कँदै आएकाले साहित्यमा अर्को आग्रह र बहस सुरु भएको छ ।
इस्वी सम्वत् १९९०-को दशकदेखि सुरु भएको साहित्यिक दृष्टिकोणमा मूल्यको विखण्डनलाई एकातिर मानव अस्तित्वकै सङ्कट मानिएको छ भने अर्कोतिर मानव समाजको रूढ स्वरूपले एकत्ववादी दृष्टिकोण र केन्द्रवादी मान्यताको अन्तरालबाट नयाँ उज्यालो पाएको दृष्टान्त पनि लेखिएका छन् । कवि अविनाश श्रेष्ठको अद्यावधिक कविता लेखनमा यस्ता अन्तरालबाट देखिएका विषमजनीन (हेटरजिनिअस) क्षेत्रहरू मुखर बनेका छन् । उनले उत्तरकालको एउटा मुख्य विषय र प्रश्नका रूपमा उदाएको पर्यावरण-कवितालाई कला र व्यवहारमाझ देखिने कलात्मक वृत्ति (वोकेसन) -मा पुर्याएका छन् ।
कवि अविनाश श्रेष्ठका कविताले विषय वस्तुका रूपमा वास्तविकता र संवेदनालाई प्रमुखता दिएको पाइन्छ । उनका काव्य-लक्ष्यले कालसापेक्षिक वस्तुतासँगै उत्तरआधुनिक साहित्यको सङ्कथन निर्माण गर्दछ । कवि अविनाश श्रेष्ठका कविसँग जागतिक वास्तविकतालाई अवकासको क्षैतिजीय काल (स्पेसटाइम कन्टिनअम) -मा विस्तार गर्ने काव्य-क्षमता रहेको छ । अनुभूति वस्तुमा साथै कालमा पनि उपस्थित हुन्छ । यसलाई उनले तिर्यक अभिव्यक्तिको प्रतिसन्धि भाव र साहचर्यको अवस्था सिर्जना गरेर लेखेका छन् । साहित्यिक प्रयोगकालले यथार्थवादलाई जगत्-मा हेरेर अथवा जगत्-लाई हेर्दा यथार्थसँग मिलान गरेर लेख्ने पद्धति स्थापित गरेको छ । यसको अनुक्रममा उत्तरकालसम्म विस्तारित अविनाश श्रेष्ठको कविले काल र अवकासको अन्तरालबाट तथ्यको वास्तविकतालाई दृष्टिगत विस्तार (डिटेल)-सँग कविता लेखेका छन्।
कवि अविनाश श्रेष्ठका आजसम्म संवेदना ! ओ संवेदना !! (इस्वी सम्वत् १९८९), परेवा: सेता काला (इस्वी सम्वत् १९८४), अनुभूति यात्रामा (इस्वी सम्वत् १९९०) र ‘करोडौँ सूर्यहरूको अन्धकार (इस्वी सम्वत २००३) आदि कविता सङ्ग्रहहरू प्रकाशित भएका छन् । कथा उपन्यास विधामा पनि उनका उल्लेखनीय कृति प्रकाशित भएका छन् । नेपाली नाटक विधामा उनले विशेष योगदान दिएका छन् । चलचित्र निर्माण र साहित्यलेखनमा संलग्न उनले धेरैवटा र महत्त्वपूर्ण नेपाली साहित्यिक तथा शोध-अनुसन्धानमूलक पत्रपत्रिकाका सम्पादन पनि गरेका छन् ।
पाँच प्रश्न
प्रश्न एक : आफ्ना कवितालाई पारम्परिक विषयवस्तु र संरचनादेखि मुक्त बनाउन कुन दिशा तथा कस्ता प्रयोगलाई अङ्गाल्नु भएको छ ?
उत्तर : कविता विधामा प्रयोग गर्नु भनेको नबुझिने अर्थहीन शब्दहरू थुपार्नु कदापि होइन । कवितामा प्रयोगशील हुनु भनेको अरूभन्दा फरक र सार्थक कविता रच्ने अभ्यासको निरन्तरता हो।
अरू कविले पहिले नलेखेको कथ्य (विषयवस्तु), शैली, संरचना, युक्ति, कलागत परिष्कृति आदिका नौला बाटाहरू पहिल्याएर नयाँ किसिमले लेख्ने प्रयत्न नै प्रयोग हो-मेरो बुझाइमा । कथ्य, शैली-शिल्पमा आफैँलाई पनि नदोहोऱ्याएर, पुनरावृत्ति-दोष र रूढ हुनबाट जोगिँदै लेखन/सृजनलाई सधैँ ताजा, सार्थक अनि नवीन राख्ने सचेत जमर्को हो – कविता/आख्यान/नाटक आदि साहित्यिक विधामा गरिने प्रयोगकर्म । यसका लागि निरन्तर लेखनको अभ्यास र परिमार्जन गरिरहनुका साथै अध्ययन-मनन-चिन्तनमा पनि सर्जकले सधैँ एकनाससँग अग्रसरता लिइरहेकै हुनुपर्दछ, अनि मात्र सिर्जनको परिपूर्णता (Perfection)-तर्फ, सार्थकतातर्फ, नयाँ मूल्यबोधतर्फको यात्रामा एकजना सचेत सर्जक अग्रगामी बन्नसक्छ भन्ने मेरो ठहर हो।
प्रयोगात्मक कविता भन्दैमा अमूर्त्त र अर्थहीन लेखिनुपर्छ भन्ने छैन । प्रयोग सरल र रुचिकर पनि हुनसक्छ र त्यसका लागि कविले सतर्कतासाथ मध्यममार्ग अपनाउनु राम्रो हुन्छ । कवितामा नयाँ-नयाँ प्रयोग गरिरहने कविका कविता जटिल, कठिन, बेस्वादिलो र बकवास हुन्छन् भन्ने जनबुझाइ रहेको छ। यस धारणालाई भत्काएर – प्रयोगशील कविका कविताहरूमा पनि सरलता, सरसता, सौन्दर्य र सार्थकता भेटिने उदाहरण बन्नसकुन् मेरा कविता मंनी म सधैँ प्रयत्नशील रहँदै आएको छु।
समग्रमा भन्नुपर्दा कवितालाई पुरातनबाट, ओजहीन हुनबाट, असंवेद्य -मूल्यहीन – श्रीविहीन हुनबाट जोगाउने सबैभन्दा शक्तिशाली युक्ति (Device) हो – प्रयोग।
प्रश्न दुई : समकालीन नेपाली समाजमा चिह्नारीको बहुलता (मल्टिप्लिसिटी) र तरलता (फ्ल्युडिटी)-को अवस्थालाई तपाईंका कविताले कसरी प्रतिफलित गर्दछ ?
उत्तर : समकालीन नेपाली समाज मात्र नभई विश्वभरिका मानव समाज अनि समुदायहरू नै अहिले बहुलतालाई स्थापित गर्ने सङ्घर्षमा छन्। बिसौँ शताब्दी थालिएपछि धेरै मिथकहरू भङ्ग हुँदै गए – सामाजिक वर्चस्व क्रमका । बहुलता उन्मुख समाजमा पनि परिवर्तनलाई प्रतिरोध गर्ने प्रवृत्ति तथा अन्य समूह- समुदायहरूमाझ आफ्नो वर्चस्व स्थापना गरिछाड्ने हठ त विद्यमान हुन्छ नै। समकालीन नेपाली समाज पनि यस्ता प्रवृत्ति र हठहरूबाट अलग्ग छैन । आजको बहुलताउन्मुख विश्व-परिवेशमा हामी पनि छौँ र भनिरहनु नपर्ला स्थिति तरलतापूर्ण छ । बहुलताको एउटा पाटो- आफ्नो व्यक्तिगत, जातिगत, क्षेत्रगत, धार्मिक तथा सांस्कृतिक चिह्नारी वा पहिचानसहित स्थापित हुने चाहनाको द्वन्द्वगत अवस्थिति र सङ्घर्षको निरन्तरताको ऐनामा पनि समकालीन नेपाली समाजले आफ्नो अनुहार तथा उपस्थिति नियाल्न सक्छ ।
त्यसैले म व्यक्ति कविले भन्दा पनि समग्र नेपाली कवि समुदायले नै जाग्रत भाषामा बिम्ब-प्रतीक- मेटाफोरहरू र विचारका उन्नत बोलीमा बोलिरहनु, झकझकाइरहनु आवश्यकता अनि सान्दर्भिक नै छ – विस्तारित नेपाली समाजलाई अहिले पनि। (यद्यपि मेरो निजी धारणा के रहेको छ भने – अर्ति-उपदेश, व्यङ्ग्य- कटाक्षद्वारा समाजलाई प्रत्यक्ष हस्तक्षेप गर्ने क्रियाकलाप – समकालीन कलासचेत कविको सिर्जन-प्रक्रियासम्बद्ध क्षेत्राधिकार मित्र पर्दैन।)
प्रश्न तीन : साहित्यमा पर्यावरणीय-कविता र पर्यावरणीय लेखन किन आवश्यक छ ? नेपाली साहित्यको सन्दर्भमा यसको औचित्य र महत्त्व के कति छ ??
उत्तर : पर्यावरणीय विनाश र पारिस्थितिकीय (ecosystem) सङ्कटको कुरो अब कसैलाई अर्थ्याइरहनुपर्ने विषय रहेन, तर मैले सुरु-सुरुतिर पर्यावरणीय समस्यालाई केन्द्रमा राखेर कविता लेख्नयाल्दा (पहिलो पर्याकविता मैले सन् १९८४-मा लेखेको हुँ। सन् १९८९-९० पछि भने मैले पर्यावरणीय सङ्कट र समस्याहरूलाई नै थिम बनाएर निरन्तर कविता लेख्दै, प्रकाशित गर्दै साथै गोष्ठी, सम्मेलन र सञ्चार माध्यमहरूतिर पाठ गर्दै आइरहेको छु।) स्थिति आजको जस्तो भयावह र चिन्ताजनक भने बनिसकेको थिएन। ३५-४० वर्षको छोटो समयावधिभित्र पर्यावरणीय-परिवृत्तीय सङ्कटले यति साह्रो विकराल रूप धारण गर्ला भन्ने कल्पनासम्म मैले त्यतिबेला गर्नसकेको थिइनँ ।
तर, आज एकपछि अर्को गर्दै नेपालका धेरै हिमाल हिउँविहीन बनेर काला पहाडमा फेरिँदै जाँदैछन्, द्रूत गतिमा। त्यस्तै ताल-तलाउ सुक्ने, खोला- नदीमा पानीको मात्रा घढ्दै जाने, प्राकृतिक धाराहरू पानीको अभावमा लोप हुँदै जाने, भूमिगत पानीको अत्यधिक दोहनका कारण जताततै पानीको हाहाकार भई गाउँ-बस्तीहरू नै मानवविहीन बनी रित्तिँदै विस्थापित हुने डरलाग्दो अवस्था जताततै देखिनथालेको छ।
अर्कोतिर, विषादियुक्त मलको प्रयोगले माटाको उर्वराशक्ति घट्ने मात्र नभई पारिस्थितिकी-प्रणालीलाई जीवन्त बनाइराख्ने गँड्यौला, भ्यागुता, फट्याङ्गा, सरिसृप, लोखर्के, झ्याउँकिरी, जुनकिरी र अन्य अनेक प्रजातिका कीट-पतङ्ग, चराचुरुङ्गीका अनेक प्रकार दिनानुदिन मासिँदै लोप हुने अवस्थाको सम्मुखिन बन्दै छ मानवसमाज । यी त केही सामान्य उदाहरण मात्र हुन्। स्थिति योभन्दा कैयौँ हजार गुणाले बिग्रिसकेको र आतङ्कित तुल्याउने बन्दै गइरहेको कुरो अब कसैबाट लुकेको छैन। जो जहाँ छ उसले त्यहीँ छेउछाउमै प्रकृति, पर्यावरण र परिवृत्तमा देखापर्न थालेका परिवर्तन साथै दुष्परिणामको सम्मुखिन बन्न परिरहेको स्तब्ध तुल्याउने अवस्थामा हामी छौँ अहिले।
आज प्रकृति-विनाश तथा पर्यावरणीय सङ्कट स्थानिक अथवा एकदेशीय नरही विश्वव्यापी विकराल समस्याका रूपमा मानव समुदायअघि उपस्थित छ । विश्वभरि जताततै अनेक आकृति र अनुहारका पर्यावरणीय सङ्कटले गर्दा मानिसले हज्जारौँ वर्ष लगाएर खडा गरेका सभ्यता-संस्कृतिका उपलब्धिहरू धरापमा पर्दै जाने र नष्ट हुने खतरा बढेर गएको छ। यस्तो स्थितिमा पृथ्वी र प्रकृतिलाई अकल्पनीय अप्ठ्यारो अवस्थाबाट बाहिर निकाल्न सम्पूर्ण मानवजाति एकजुट बनी सचेततासाथ होमिनुपर्ने बेला आएको छ। यस्तोमा कवि-लेखक-पत्रकारहरुको भूमिका त झनै अहम महत्त्वको हुने नै भयो ।
विश्वजनीन पर्यावरण-सङ्कटमाथि संसारभरिका अनेकौँ देशका कवि-लेखकहरूले सिर्जनात्मक योगदान दिँदै आएका छन् । यस्तोमा नेपाली कवि-लेखकहरूबाट पनि सक्दो रचनात्मक योगदान हुनु आजको प्रमुख आवश्यकता हो भन्ने मलाई लाग्छ । अहिले नेपाल-भारत दुवैतिरका नेपाली सर्जकहरूले पर्यावरणीय सङ्कटलाई निकै महत्त्वका साथ आत्मसात गरिरहनुभएको देख्दैछु, अनि धेरै नेपाली कविले प्रकृति-परिवृत्त र पर्यावरणलाई केन्द्रमा राखेर आफ्नो उत्कृष्ट दिइरहनुभएको पढ्न पाउँदा हाम्रा कविहरू पनि विश्वका अन्य भाषाका कविहरूभन्दा कम छैनन् भन्ने मलाई लागिरहन्छ ।
प्रश्न चार : जनप्रिय संस्कृति (पपुलर कल्चर) र सञ्चार (मिडिया)-को संयुक्ति पनि उत्तरआधुनिक कालका लेखनमा अपरिहार्य रूपमा उपस्थित छ भनिन्छ। के ‘कोलाज आन्दोलन’-को सैद्धान्तिक मार्गले यिनै दिशालाई अनुसरण गरेको हो ?
उत्तर : चित्रकलामा कोलाज प्रविधि (Technique)-का थालनीकर्ताको श्रेय फ्रान्सेली घनत्ववादी (cubist) चित्रकार जोर्जेस ब्राकलाई दिइन्छ। ब्राकपछि कोलाज चित्रकला-प्रविधिलाई अगाडि बढाउनेहरूमा – पाब्लो पिकासो, आन्द्रे ब्रेतोँ, ज्याकलिन लाम्बा, हान्ना होच्, युस् टाङ्ग्वे, रोबर्ट राउचेनबर्ग, डेभिड होक्नी, आदि बहुचर्चित चित्रकारहरूका नाम आउँछ। पहिलो कोलाज चित्र ब्राकले सन् १९१२ मा बनाएका मानिन्छ भने मास कल्चर (जनप्रिय संस्कृति)-को थालनी पहिलो विश्वयुद्धपछि सन् १९२० -को दसकदेखि थालिएको हो। सुरुका वर्षहरूमा मास कल्चर- सिनेमा, सङ्गीत, खेलकुद, नाइटक्लब, पुस्तक, पत्र-पत्रिका, रेडियो, टेलिभिजनमा आधारित थियो । हरेक कुरोलाई वस्तु (Commodity) बनाएर बजार र उपभोक्तासम्म बेच्न सक्नु र मुनाफा आर्जन गर्नु मास कल्चरको व्यापार गर्नेहरूको अभीष्ट हो। प्राय: सँगसँगै जस्तो उदाएका ‘कोलाज चित्रकला-प्रविधि र मास कल्चर आफ्नो उदयको ५०-६० वर्षपछि एकाअर्कामा समाहित बन्न पुगेका छन्।
एक समयको अत्यन्त नौलो अँमागार्दे कलारूप मानिएको कोलाज चित्रकला – प्रविधि बिसौँ शताब्दीको उत्तरार्धतिर आइपुग्दा पप कल्चरसँग गाँसिदै बिस्तारित बनेर बजार र उपभोक्तासम्म आइपुग्नुमा विज्ञापनतन्त्र, सञ्चार माध्यमको ठुलो भूमिका रहेको कुरो अकाट्य यथार्थ हो। साथै कोलाज चित्रकला प्रविधि पप कल्चरका अन्य उन्नत माध्यम सिनेमा, टेलिभिजन, फेसन, स्थापत्य, इन्टरनेट आश्रित जनप्रिय माध्यमहरूसम्म बिस्तारित बन्न पुगेको छ आज।
हाल सञ्चारको शक्तिशाली माध्यमसँग आबद्ध रियालिटी शोको स्वरूप प्रदान गरी नेपाली कवितालाई पप कल्चरसँग जोड्ने र उपभोगको वस्तुमा रूपान्तरण गर्ने नौलो प्रयास नेपाली पोयट आइडल शीर्षक राखेर पोहोरदेखि नेपालमा थालिएको छ।
यस रियालिटी शोमा अति नाटकीय (मेलोड्रामेटिक) अभिनय, पृष्ठभूमिसहित, गायन, नृत्य आदिसँगै चलचित्रका कलाकारको ग्ल्यामरसमेत मिसाएर दर्शक लोभ्याउने गरी नेपाली कवितालाई प्रस्तुत गर्ने गरिएको छ। यसरी पप कल्चर र सञ्चारको संयुक्तिको जादू र शक्ति हाल नेपाली कविताको प्राङ्गणसम्म आइपुग्नु, सम्भवतः समयको आवश्यकता पनि होला, तर कविताको कलागत मूल्यलाई उच्च महत्त्व दिई हामीले ४७-४८ वर्षअघि थालेको कवितामा कोलाज टेक्निक प्रयोगको आन्दोलन भने कविताको विशुद्ध कलारूपसँग सम्बद्ध थियो र छ । कोलाज आन्दोलनको सैद्धान्तिक-शरणीबारे विमर्शरत् रहँदा सञ्चार माध्यमको सहयोग लिनबारे हामीमाझ मतैक्य रहे तापनि पप कल्चरसँग कवितालाई जोड्ने कुरो त्यतिबेला हाम्रो सोचभन्दा परको कुरो थियो।
प्रश्न पाँच : साहित्यिक प्रवृत्तिको विकास र सामाजिक परिवर्तनको द्रुतगामी अवस्थाबाट हेर्दा नेपाली कविताको भविष्यत् स्वरूप कस्तो देख्नु हुन्छ ?
उत्तर : प्रत्येक समयका नेपाली कविहरूले आफूले लेखिरहेको बेलाको समय-सन्दर्भ वा भनौँ कालिक चेत, व्यक्ति र समाजलाई प्रत्यक्ष-परोक्ष आफ्ना कवितामा स्थान दिँदैआएको पाइन्छ । ती चाहे प्राथमिककालका कविहरू सुवानन्द दास, शक्तिबल्लभ अर्याल, सुन्दरानन्द बाँडा होऊन् अथवा माध्यामिक कालका इन्दिरस, वसन्त शर्मा, भानुभक्त आचार्य, मोतीराम भट्ट तथा आधुनिकताउन्मुख कालका लेखनाथ पौड्याल, सिद्धिचरण श्रेष्ठ अथवा आधुनिक काल थालनीतिरका गोपालप्रसाद रिमाल, लक्ष्मीप्रसाद देवकोटा, विजय मल्ल, वीरेन्द्र, कृष्णचन्द्रसिँह प्रधानदेखि पछिका भूपी शेरचन, कृष्णभक्त श्रेष्ठ, द्वारिका श्रेष्ठ, ईश्वरवल्लभ, गुमानसिँह चामलिङ, पारिजात, वानिरा गिरी प्रभृति कविहरू नै किन नहोऊन् – कसैले पनि आफ्नो समयचेतना, परिवेश र स्थानचेतनालाई आफ्ना सिर्जनामा भित्र्याउन बिर्सेका छैनन् भन्ने अनुगम गर्न सकिन्छ ।
यिनै व्यक्ति- समाज – इतिहाससहितको कालिकचेत, स्थानगतचेतका परिप्रेक्ष्यमा हेर्दा विश्वका विभिन्न मुलुकका अनेकन् भाषामा लेखिँदै गरेका कविता जसरी नै नेपाली भाषाका कवितामा पनि वैचारिक विविधता, कथ्य, शैलीशिल्पगत र प्रवृत्तिगत भिन्नता हामी देख्छौँ। यसरी थरी-थरीका प्रवृत्ति-पद्धति अनि शैली-शिल्पमा लेखिँदै गरेका नेपाली कविताको स्वरूप र स्वर समृद्ध रहेको छ। साहित्यका जानकार पण्डितहरूका अनुसार अहिले नेपाली कवितालेखन आफ्नो उत्तरआधुनिक चरणभन्दा अगाडि लम्कने तर्खरमा छ एकातिर भने अर्कोतर्फ पूर्ववर्ती आधुनिक, प्रयोगवादी, समसामयिक र समकालीन धारामा अडेसिएर कविता रच्ने कविहरूका विभिन्न पुस्ता पनि सँगसँगै सिर्जन-सक्रिय रहेका पाइन्छन्। यति ठुलो विरासतको वैभव बोकेर लेखिँदै गरेका नेपाली कविताको मूल प्रवाह र प्रमुख स्वर अग्रगामी, समृद्ध कलाचेतसहितका साथै विविधापूर्ण रहेकाले नेपाली कविताको भविष्य उज्ज्वल साथै गत्यात्मक रहेको छ भन्ने मलाई लाग्दछ।
अविनाश श्रेष्ठका तीन कविता
१.
गाउँ
पर्खिरहेको हुनेछ गाउँ तिमीलाई – आफ्ना अचुक स्मृतिहरूमा ।
आफ्ना निरुद्देश्य निरुपाय मोहमायामा
आफ्ना कुप्रिएका बुढा दुःखहरूसहित
पर्खिरहेको हुनेछ गाउँ तिमीलाई ।
आफ्नो आश्चर्यमा जगमगाएको मुखमण्डलका मुजाहरू मुसार्दै
पर्खिरहेको भेटिनेछ गाउँ दोबाटामा । देवरालीमा ।
बेँसीमा । घरको बलेँसीमा।
बलिन्द्र धारा आँसु
र खुजमुजिएका सम्झनाहरू आँखामा कुँदेर
गाउँ तिमीलाई पर्खिरहेको भेट्नेछौ – दिदीबहिनीको चोलामा ।
एकलासको चौतारीमा । रोटेपिङ हालिने रमिते चौरमा ।
पुराना डहरहरूको निर्जन सामसुम्ममा
गाउँ तिम्रो बाटो हेर्दै उभिरहेको हुनेछ –
स्कुले प्रेमिकाको जुनीमा ।
भुलेबिर्सेको कुनै किंवदन्ती स्मृतिमा फेरि फर्किआएझैँ
बिरानिएर खुइलिएका सपनाका सँगालाहरूले
नयाँ जुनीमा बौरिएर पुरानो झ्यालबाट चियाएझैँ
गाउँ तिमीलाई भेट्न पर्खिरहेको पाउनेछौ
बेलौतीको बोटमाथिको बान्नोमा उभिएकी
स्नेह र आशीर्वादकी अवतार आमामा अनुवाद भएर ।
000000
गाउँ तिमीलाई नै पर्खिरहेको भेटिनेछ सीमान्तमा
नदी-खोलाको स्मृतिमा ।
रोटे कमिला, लोखर्के, जुनकिरी, झ्याउँकिरी,
सिस्नो, काउसो र काँडाहरूका धमिरा धुसर
सुदूर सम्झनाहरूमा – गाउँ तिमीलाई पर्खिरहेको भेटिनेछ ।
स्कुले दिनका घण्टीहरूमा एक्कासी ब्युँझँदै
स्मृतिशेषको कुइनेटोमा
मध्यदिनका गोरेटाहरूमा पुरानो बिर्सिएको गीतमा अलमलिँदै
अथवा तारा रोएका बेला मध्यरातपछिको आकाश नियाल्दै
उङ्दै – झकाउँदै अर्धनिद्रामा बौरिएर
गाउँ तिमीलाई पर्खिरहेको भेटिनेछ ।
२.
डर
भित्र कतै छ / धेरै नै भित्र गहिरोमा कतै
त्यो मभित्र।
शब्दहरू बनिसकेका छैनन् नि अझै
त्यो अटाउने
त्यो अव्यक्त व्यक्त हुने शब्दहरू ।
आउन नसकिरहेको हो त्यो त्यसैले
बाहिर उच्चारणमा
व्याकरणमा
शब्दहरूमा आएपछि
व्याकरणमा व्यवस्थित बनेपछि
कतै सक्किने त हैन
त्यो ??
३.
डर – दुई
म डराउँछु
‘डर’ का लागि
‘डर’ सकियो भने
सकिनेछ छ डर
‘डर’ का कारण
रोकिएको अराजकता
‘डर’ का कारण
जोगिएको सुरक्षा
‘डर’ का कारण
बँचेको व्यवस्था
‘डर’ को अभावमा
के हुने हो यिनको भविष्य ?
के होला यिनको भोलि ?
के डरको विकल्प आतङ्क हुनसक्छ ?
के डरको अर्को पाटो क्रूरता हुन सक्ला ?
कि डरको विपरीत उभिनसक्ला निडर नैतिकता
वा डरको अर्कोतर्फ जागै छ सचेत सिर्जनशीलता ?
यथार्थ के हो भने
जुन दिन दुनियाँमा ‘डर’ मर्नेछ
एक्लै मर्ने छैन डर
‘डर’ सँगै धेरै थोक मर्ने डर छ –
सुरक्षा
व्यवस्था
सभ्यता
संस्कृति
सम्बन्ध
समाज
जिउनुको सौन्दर्य
यीसँगसँगै अरू अनेक कुरा ….
‘डर’ सकियो भने सकिने छन्
के मानिसले आर्जेका सबथोक ?
पृष्ठाङ्कन
कवि अविनाश श्रेष्ठका तीनवटा कविता (गाउँ, डर, डर-दुई) पढ्दा नेपाली कविता-लेखनमा विकासका नयाँ अवस्था आइसकेको अनुभव हुन्छ । कविताका नौला विषयवस्तु, प्रस्तुतीकरण र स्वरमा देखापरेका परिवर्तनले नेपाली कवितालाई अर्को विस्तार दिने निश्चित छ। गाउँ कवितामा गाउँ अथवा स्थानको तात्त्विक विवरण मात्र छैन । विघटित मूल्य र खण्डित आग्रह राखेर गाउँलाई बिर्सने मानव समाजको वर्तमान रुग्न अवस्थालाई समेत यसले प्रतिफलन गर्दछ :
पर्खिरहेको हुनेछ गाउँ तिमीलाई आफ्ना अचुक स्मृतिहरूमा
आफ्ना निरुद्देश्य निरुपाय मोहमायामा
आफ्ना कुप्रिएका बुढा दुःखहरूसहित
पर्खिरहेको हुनेछ गाउँ तिमीलाई ।
अचुक स्मृतिहरूमा पदावलीको सङ्केतभित्र गाउँको पूर्ण संरचनाले अवकास बनाएको छ । दिक्काल अवकासले यस कविताको एक स्थानिक समय-चेतनालाई आलोचकीय विशेषता प्रदान गरेको छ । यस कविताको सूत्र-प्रवेशले गाउँको अविभाज्य अस्तित्वलाई देखाउँछ :
मध्य दिनका गोरेटाहरूमा पुरानो बिर्सिएको गीतमा अलमलिँदै अथवा तारा रोएका बेला मध्यरातपछिको आकाश नियाल्दै उङ्दै-झकाउँदै अर्द्धनिद्रामा बौरिएर
गाउँ तिमीलाई पर्खिरहेको भेटिनेछ ।
गाउँ मानव अस्तित्वको निम्ति संरक्षक स्थान हो । सुरक्षित स्थान हो । गाउँले उर्वर बनाउँछ मानव भाव-संवेदना (गीत)-लाई; गाउँले (मध्यरातपछिको आकाश नियाल्दै) कल्पनाशील बनेर हिँड्न सिकाउँदछ । आवश्यक पर्दा (उङ्दै भएपनि बौरिएर) जाग्न सिकाउँदछ । अचुक स्मृतिहरूमा (इतिहासमा विकसित भएको गाउँलाई मानिसले ) समेत विस्मृत बनेको मानव अस्तित्वलाई गाउँ… पर्खिरहेको भेटिनेछ भनेर सम्बोधन गर्दछ ।
गाउँ कविताको मूल विषय हो – गाउँलाई बिर्सिएको अवस्थाको विवेचना गर्नु । कविले यसलाई तीक्ष्ण सन्देश मात्र नबनाएर कलात्मक दृश्यमानमा लेख्ने प्रयोग/प्रयास गरेका छन् । यसमा विषयका वृत्त अन्तर्केन्द्रिक र बहिर्केन्द्रिक दुवै स्वभावका छन् ।
पर्खिरहेको गाउँ पदावली विषयवृत्तका लागि प्रमुख निर्देशिका-बिम्ब हो । यसले गाउँको बिम्बलाई स्पष्ट बनाउँदछ । कवितामा उपस्थित देउराली, बेँसी, दिदीबहिनीको चोला, सीमान्त, खोलानाला आदि बिम्बमा अङ्कित गाउँको प्रतीक्षा वस्तुगत अनुभव (एक कालिक स्वरूप)-सँग सम्बद्ध भए तापनि यिनका प्रभाव भावगत तह (बहुकालिक स्वरूप)-मा समेत गत्यात्मक बनेको छ । त्यसर्थ कलात्मक दृश्यप्रतिमानको कोण स्थिर नउभिएर यस कवितामा कविको गाउँ काव्यात्मक उच्चतामा उठेको पाइन्छ । यस कविताका विषयवृत्तले काव्यात्मक अवभासलाई विस्तार गर्दछ – कवितालाई समेत यसको विषयसँगै परिधितिर पुर्याउँदै :
गाउँ तिम्रो बाटो हेर्दै उभिरहेको हुनेछ
स्कुले प्रेमिकाको जुनीमा।
x x x
गाउँ तिमीलाई भेट्न पर्किरहेको पाउनेछौ
बेलौतीको बोटमाथि बाँध्नमा उभिएकी
स्नेह र आशीर्वादकी अवतार आमामा अनुवाद भएर
प्रेमिकाको जुनी र आशीर्वादकी अवतार आमामा पदावलीमा संश्लिष्ट बनेको शब्दबिम्बले प्रेम, स्नेह र आशीर्वादको भावलाई उद्भूत गराउँदछ । गाउँमा यी भावका संलिप्त रूपायनले यस कविताको केन्द्रलाई विषयान्तर गरिदिँदछ । उत्तरआधुनिकताका स्वभावलाई यस्ता खण्डीय-सूत्रबद्धताले पुष्ट बनाएको देखिन्छ । अविनाश श्रेष्ठका कविले सचेत रूपमा यस्ता प्रतिमानलाई नेपाली कविताको मूल संरचनामा समावेश गराएको छ ।
गाउँलाई मानिसले बिर्सिएको तर गाउँले गाउँको मौलिक मर्म र भावनालाई सजीव राखेको; ती सबै अनुभूत गर्न पाउन मानिसलाई गाउँ पुग्न कुनै असुविधा नहुने भाव अथवा दृश्यको प्रतिमान यस कवितामा चलायमान रहेको छ ।
गाउँ कवितामा अविनाश श्रेष्ठको कवि-चेतना पर्यावरणीय विषयवृत्तसँग पनि सक्रिय रहेको देखिन्छ । रोँटे कमिला, लोखर्के, जुनकिरी, झ्याउँकिरी, सिस्नु, काउसो, काँडा, धमिरा आदिमा गाउँको आत्मा छ :
सुदूर सम्झनाहरूमा गाउँ तिमीलाई पर्खिरहेको भेटिनेछ ।
गाउँको अवशिष्ट सम्झनामा आउने यी प्रकृतिसम्बद्ध कीट पतङ्ग र वन्य-वनस्पति पनि यस कविताका हरिया विषय वृत्त नै हुन् । यस कविताले गाउँको अस्तित्व र मानव अस्तित्व माझको सङ्घर्ष अनि द्वन्द्वको लक्ष्यार्थलाई समेत सङ्केत गर्दछ ।
गाउँ कविताको प्रतिमानमा विषयवृत्तको बहुलता र विविध केन्द्रमाझको द्वन्द्वले यसलाई एउटा कोलाज लेखन जस्तो देखाएको छ। स्मृति, इतिहासमा सञ्चित गाउँ र मानिसको पुनःप्रवेश पर्खिरहेको अवस्था वर्णित स्थानिक गाउँको स्वरूपले मानव-सभ्यताको चरित्रलाई अनुभाव्य बनाएको छ ।
यथार्थको गाउँ र मानसिक बिम्बको गाउँको काव्यिक अवस्थिति बुझाउन कवि सरलतापूर्वक पृष्ठप्रेषणमा लागेका छन्।
दोस्रो कविता डरको मूल विषय डर हो । डर मानवीय भाव हो । यसका उत्प्रेरक कारण बाह्य र आन्तरिक दुवै रूपमा उपस्थित हुन्छ सक्छन् । यस कविताको संरचनामा तीनवटा सहचार छन् । प्रथम पद्यमा कविताको विषय प्रस्ताव छ :
डर
भित्र कतै छ / धेरै नै भित्र गहिरोमा कतै
त्यो मभित्र ।
भित्र कतै छ > धेरै नै भित्र गहिरोमा > त्यो मभित्र = व्यक्तिको आत्मविवेचनामा तरङ्गित छ । डर व्यक्तिको अहम् हो । डरको अस्तित्व मानव-चेतना/मनमा छ र मानव समाजमा पनि छ ।
डरको वस्तुस्थिति र प्रसर दुवै एकैसाथ लेख्न नभ्याएको हुँदा त्यसलाई विचारार्थक नबनाएर भावसंवेनात्मक बनाइएको छ ।
डर भाव अगम्य छ । अबोध र अव्याख्येय छ । मानवको सामूहिक भावना प्राकृत अवस्थामा अव्याख्येय हुन्छ तर डरबोध कालमा प्रतिसरित भएर सदा व्यक्तिक भइरहन्छ :
आउन नसकिरहेको हो त्यो त्यसैले
बाहिर उच्चारणमा
व्याकरणमा
कुनै एक विश्वस्त विधान र मानक तथा नियमनमा छैनन् भाव र मानवीय बोध आदि । यही लेख्न कविताको दोस्रो सहचार सक्षम बनेको छ ।
तेस्रो पद्यले यस कविताको साकल्य निर्माण गर्ने मत राख्दछ :
शब्दहरूमा आएपछि
व्याकरणमा व्यवस्थित बनेपछि
कतै सकिने त होइन
त्यो ??
डर – भावको अस्तित्व शब्द र व्याकरणमाझ टुक्रिएपछि मानवीय आद्यपूर्णता सङ्कटग्रस्त बन्नेछ भनेर काव्यगत डरलाई यस कविताले अभिलेखन गर्दछ । डर कवितामा डर भावबिम्बको रूपमा प्रकट भएको छ । डरको उपस्थिति अथवा अवस्थिति उच्चारण र व्याकरणमा अङ्कित हुँदा डर नै अस्तित्वमा नरहने हो कि जस्तो शङ्कामा भएकै भाव ल्याउँदा उच्चारण र व्याकरण शब्दबिम्बले अनिर्धार्यता (अनसर्टिनिटी)-को सीमालाई चिह्नित गरेको छ । यसर्थ यस कवितामा बिम्ब-खेलको चमत्कृति अनुभव गर्न सकिन्छ । भावको वस्तुजन्य अनुभव र अनुभूतिपूर्ण स्थितिलाई साक्षात्कार गराउने डर शब्दबिम्बले यस कवितालाई एक काव्यिक अनुबिम्बको रूपमा रूपान्तरित गरेको छ ।
डर-दुई अघिल्लो डर कविताको क्रमागत लेखन-रूप हो । यो पृष्ठप्रेषण जस्तो, भाष्य अथवा व्याख्या जस्तो छ । यो अघिल्लो डरको समालोचना हो । सामान्यतया यसलाई अन्तर्पाठको खेल भन्न सकिन्छ । अविनाश श्रेष्ठले डर वस्तु र भावको अनिर्णित स्थितिको संवेदनशीलतालाई सार्थक आकार दिन सुगठित बिम्बद्वारा यो कविता लेखेका छन् । यस कवितामा उनले अभ्युद्देशात्मक चरित्र विकास गरेका छन् । भाव संवेदनाका विषयलाई बिम्बले मात्र नलेखी तिनका यथार्थ र कालावकासले लेख्ने दिशातिर उन्मुख बनेका छन् :
डर सक्यो भने
सकिनेछ डर
डर एउटा तत्त्व छ – सुरक्षा, व्यवस्था, सभ्यता, समाजजस्ता आधारका पृष्ठपोषक । डरको अर्को पक्ष भाव छ – सम्बन्ध, सिर्जनशीलता, नैतिकता, जिउनुको सौन्दर्य आदिलाई बचाएर राख्ने । डरको अवस्थान अनिर्धार्य्य सत्य हो – मानव जीवन र सभ्यताको आवर्त्तक अवधारणा । डरको अनुपस्थितिमा कवि सशङ्क हेर्छन् डरलाई :
‘डर‘ सकियो भने सकिने छन्
के मानिसले आर्जेका सबथोक ?
एउटा सरल आशा लेखिएको छ – तथापि यस्तो डर कहिले सकिएको इतिहास छैन । आजसम्मका कवितामा समेत डरको अवस्थालाई अनुभूत गर्ने साहित्य उपस्थित भइरहेको छ । यस कविताले मानव अस्तित्वको केन्द्रमा दमित अथवा सूक्ष्मतासित मिसिएर बसेको तत्त्वलाई भावका रूपमा बाहिर प्रकट गराएको छ ।
कवि अविनाश श्रेष्ठको कविता-लेखनअन्तर्गत साकार उभिएका यस्ता नौला शिल्पले नेपाली काव्यसाहित्यमा एउटा नयाँ पथ निर्माण गरेको छ । उनका बहुमुखी, सूक्ष्मताकेन्द्री, र बहुसंज्ञान-समीप काव्याभ्यासले नेपाली कवितालाई विकासको उच्चतम सम्भाव्यता एवम् अभिव्यञ्जनाको नयाँ विश्व प्राप्त गराउनेछ ।
(नोटः दार्जिलिङ टक्सको महिनाका कवि स्तम्भका सम्पादक डा. सञ्जय बान्तवा हुनुहुन्छ। उत्तरबङ्ग विश्वविद्यालयका प्राध्यापक डा. सञ्जय बान्तवा, बेजोड कवि, गीतकार, समालोचक र अध्येता हुनुहुन्छ।)