- खुसेन्द्र राई
उसले भेट्दा रोजी भर्खरै देह धन्दामा लागेकी थिई । यो कुरो उसले जिन्दगीको बाटामा भेटेका त्यस्ता केही केटीसँगको संसर्गको अनुभवले फ्याट्ट भन्न सकेको थियो, तर पहिलो दिनदेखि नै रोजीले भने उसलाई यस कुराको भनक दिन चाहेकी थिएन । उसले पनि त्यसप्रति कुनै चासो देखाएको थिएन । खासमा उसलाई जिन्दगीको व्याकुलताले लखेट्दै-लखेट्दै त्यहाँसम्म पुऱ्याएको थियो । उसलाई त्यो क्याफेमा शान्तिसँग एक-दुई बोतल बियर पिउनु थियो बस् । ऊ रोजीको ग्राहक भएर कतै गएको थिएन । त्यसैले जतिबेरसम्म ऊ त्यहाँ उपस्थित थियो, रोजीले ऊसँगै बसेर उसैले किनेको रेडबुल खाइरहँदा पनि उसले कुनै अभद्र व्यवहार गरेको थिएन । जानलाग्दा पनि उसले बिल तिरेर उब्रेको पाँच सयभन्दा बेसी पैसा रोजीलाई टिप्स छाडेको थियो ।
त्यो ‘पिरती क्याफे’ सहरको भित्री गल्लीमा अवस्थित एउटा पाँचतल्ले बिल्डिङको बेसमेन्टमा भएका कारण दिउँसै अँध्यारो हुन्थ्यो अनि दिउँसो ग्राहक न्यून आउने हुनाले निर्जन पनि हुन्थ्यो ।
वास्तवमा, त्यो पिरती क्याफे उसले बडो नाटकीय ढङ्गामा पत्तो लगाएको थियो । ऊ बिचबिचमा ‘रिफ्रेस’ हुनलाई जाने केही ठाउँमध्ये बिर्तामोड सहर एकपटक गएको बेला मुक्ति चोकअघि निरुद्देश्य उभिरहेको थियो । धेरै दिनदेखि पानी नपरेकाले गरमको पारा चढेर माथि आकाशमा पुगेको थियो । अचानक कताबाट हो कुन्नि ! रातो मिनी स्कर्ट लगाएकी एउटी लगभग बिस वर्षकी केटी उसको नजिक भएर भद्रपुर रोडतर्फ लागी । उसको घाँटी प्यासले सुक्खा भएको थियो । उसले थुकले घाँटी भिजाएर केटीको पछि लागेको थियो । धुलाले धुस्रिएको कोलाहलमय सडकको एक किनार भएर हिँड्दा त्यो केटीको सुनौलो केस राशि मध्याह्नको हावाले घरी घरी उडाउँथ्यो । त्यति बेला सहरका तमाम रङहरू अचानक रङ्गहीन भएका थिए अनि उसको अघि अथाह निलो सागरमा एउटा रातो पात तैरिरहेको थियो ।
सडक पार गरेर केटी निर्जन गल्लीभित्र पसी अनि एउटा पाँचतल्ले भवनको अँध्यारो बेसमेन्टमा प्रवेश गरी । ऊ पनि बेसमेन्टमा छिऱ्यो । केटी सरासर एउटा बन्द कोठाको ढोका खोलेरभित्र पसी । ऊ त्यो बन्द ढोकाअघि पुगेर हेर्दा त्यहाँ कुनै नामपट्टि थिएन । ढोका साधारण अनि मैलो थियो । एउटा आवेग बोकेर ऊभित्र पस्दा त्यही रोजी रित्ता कुर्सीहरूमाझ एक्लै बसिरहेकी थिई । उसलाई रोजीले मुसुक्क हाँसेर स्वागत गरेकी थिई । त्यो ह्वाङ्ग परेको ठुलो कोठा प्रकाशको कमीले अँध्यारो देखिन्थ्यो, जसका भित्ता हरियो रङ्गले बेढङ्गसँग पोतेको थियो अनि ढोकाको ठिक सामुन्ने भित्तामा पहेँलो रङ्गले ‘पिरती क्याफे’ लेखेको थियो । त्यसैको पार्श्वमा एउटी केटीको आकृति कोरिएको थियो, जसले शिरमा रातो फूल सिउरिएकी थिई । त्यो चित्र, जसले कोरे पनि केटीको चित्रलाई भन्दा बेसी गुरुत्व फूललाई दिएको थियो, कारण केटीको आकृति रङ्गहीन थियो भने निक्खुर रातो रङको प्रयोगले कोरेको फूलको चित्र लगभग सकली देखिन्थ्यो । उसलाई भित्ताको त्यो रातो फूल र रातो मिनी स्कर्ट पहिरिएकी रोजीमा एउटा गहिरो आत्मिक तादात्म्य भएको महसुस भएको थियो ।
उसले चाहेअनुरूप भएर होला उसलाई प्रथमपल्टमै त्यो पिरती क्याफेको एकान्तले गजबसँग तानेको थियो ।
ऊ अर्कोपल्ट त्यो क्याफेमा नगई सकेन । भनौँ, जिन्दगीको व्याकुलताले तानेर फेरि उसलाई त्यहाँसम्म लगेर गएको थियो । साँझको बेला थियो । रोजी एक्लै बसेर मोबाइलमा भिडियो च्याट गर्दै थिई । दुई-चारजना केटा यताउता छरिएर बियर खाँदै बसिरहेका थिए । ऊ रोजीको छेउमा बस्यो । रोजीले उसका लागि टुबर्ग बियर र आफ्ना लागि रेडबुल लिएर आई । रातको पदार्पणसँगै फाटकफटुक पुरुष ग्राहकहरूको आगमनले खाली टेबलहरू डम्म भरिँदै गएको थियो । त्यसपछि एक-दुईजना, एक-दुईजना केटीहरू आएर पुरुष बसेका टेबलमा बस्दै गएपछि बारको वातावरण अश्लील हाँसो र सिग्रेटको धुवाँसँग पुत्पुताएका कामुक खस्याकखुसुकले उच्छृङ्खल बनेको थियो, तर जोडी बाँधेर केटाकेटीहरू सालाकसुलुक हराउँदै गएपछि अन्त्यमा त्यहाँ बारमा ऊजस्तै उद्देश्यविहीन दुई-चारजना पथिकहरू मात्रै बचेका थिए । उसलाई यस्ता ठाउँहरूमा कसरी देह व्यापार चल्छ राम्ररी थाहा थियो, तर उसले बेसीजस्तो समय मौन बसेर त्यहाँ बारमा भइरहेको अश्लील क्रियाकलापबारे रोजीसँग कुनै टिकाटिप्पणी गरेको थिएन ।
“म पनि एउटा चुरोट पाउँ न दाई ।” भनेर अघिदेखि मोबाइल खेलाइरहेकी रोजीले उनीहरूबिचको मौनता तोडी ।
रोजीले उसकाबाट सिगरेट लिएर जुन प्रकारले सल्काएर तानी, उसले बुझिहाल्यो, चुरोट पनि उसले भर्खरैदेखि पिउन थालेकी थिई ।
“जबर्जस्ती चैँ किन खानु पऱ्यो होला !” उसले रोजीलाई हेर्दै भन्यो ।
“नकराउनु न दाइ, धुवाँ उडाउँदा क्या मज्जा आउँछ ।”- ऊ हाँसी ।
यतिकैमा बारको साहु आएर उसलाई भन्यो – “हजुरले अरू केही लिनुहुन्न ?”
उसले साहुको द्वअर्थी कुरा नबुझेजस्तो गरेर भन्यो – “जाने अब साहुजी ।”
“हजुरलाई कस्तो चाहिएको हो ? हजुर पक्कै शाकाहारी त हैन होला !” साहुले उसको हात हल्का चिमोटेर सोध्यो ।
रोजीले उसले के भन्छ भनेर छड्के आँखाले हेरिरहेकी थिई । उसले जानलाई उठ्दै भन्यो – “म मरेको सिकार खाँदिन साहुजी ।”
उसले देख्यो – रोजीले उसको जवाब सुनेर आँखाबाट हाँसी ।
बिल तिरेर पाँच सयभन्दा बेसी टिप्स रोजीको हातमा छाडेर ऊ बारबाट निस्क्यो । रोजीका ठुल्ठुला आँखाले चुपचाप उसलाई दैलो नकाटेसम्म पछ्याइरहेका थिए ।
अर्को महिना ऊ रात पारेर त्यो पिरती क्याफेमा छिऱ्यो । क्याफे स्त्री पुरुषको उन्मादले भरिएको थियो । उसलाई कतिजना केटीहरूले उनीहरूको टेबलमा आउने निम्तो दिँदै थिए, तर तिनीहरूलाई उपेक्षा गरेर ऊ सिधै रोजी बसेकी खुल्ला टेबलमा गएर बस्यो ।
रोजीले उसलाई आएको देखेर भिडियो च्याट बन्द गरी अनि आफ्ना लागि टुबर्ग बियर र उसका लागि रेडबुल लिएर आई ।
“जहिले पनि कोसँग भिडियो च्याटमा झुण्डेकी हँ ?” उसले सोध्यो ।
“ब्योई फ्रेन्डसँग । कोसँग हुनु नि !” उसले भनी ।
“तिम्रो पनि ब्योई फ्रेन्ड छ ?” उसले विस्मयको साथ सोध्यो ।
“छ त ।” उसले भनी ।
उसले केही भनेन ।
रोजीले नै भनी – “भन्नु न दाई, आज ब्योई फ्रेन्डसँग मेरो कस्तो झगडा भयो भन्या !”
“किन ?” रोजीको निन्याउरो अनुहार हेर्दै उसले सोध्यो ।
“फेसबुकमा एउटी केटीको फोटो लाइक गरेर बिउटीफुल भनेर कमेन्ट्स पनि गरेछ तेस्ले ।” उसले भनी ।
“अन्त के हुन्छ कमेन्ट्स गर्दा !” उसले भन्यो ।
“मलाई रिस उठ्छ ।” उसले भनी ।
उसले के भन्ने तत्कालै खुट्याउन सकेन । रोजीको अनुहार हेर्दै उसले सोच्यो –मान्छेले दोहोरो जिन्दगी जिउन पनि पीडादायक नै हुँदो हो !
त्यसपछि उसले प्रसङ्ग अर्कैतिर मोडेको थियो ।
“के गर्छ तिम्रो ब्योई फ्रेन्डले ?”
“के पनि गर्दैन ।”
“कसरी भेट भयो तिमीहरूको ?”
‘टिचिङ अस्पतालमा भेट भएको । ऊ आमा लिएर आएको थियो । म बोज्यू लिएर गएकी थिएँ । हामी एउटै रूममा बसेका थियौँ । म बोज्यू जाती भएर उसको घर धरान पनि गएँ । मलाई उसको आमाले धेरै माया गर्छ । तर मेरो ब्योई फ्रेन्ड साह्रै सिधा छ के !”
“कहिले बिहे गर्ने ?”
“जमिन बेचेर साउदी उड्ने भन्दैछ, तर के आमा बिमार भएर टेन्सनमा छ बिचरा !”
“लभ मात्र गरिरहने ?”
“म उन्नाइस वर्ष त पुगेँ । पाँच वर्ष साउदी बसेर आएपछि हामी बिहा गर्ने ।”
‘सुन साइँली, चालिस कटेसी रमाउँला’ भन्ने गीत उसले सम्झ्यो । जिन्दगीको व्याकुलता अझै बढेजस्तो भयो उसलाई । आज उसलाई बेहोस नभएसम्म पिउने इच्छा भयो । उसले बियर पिएको पिएकै गऱ्यो । बेसी नै भएपछि रोजीले बियर ल्याउनै छोडी । उसले बिल तिरेर पनि हजारको नोट रोजीको हातमा थमाएर लरखरिँदै हिँड्यो ।
“बिस्तारी जानु है दाई !’ भनेर उसलाई रोजीका ठुल्ठुला दुई आँखाले दैलोसम्म पछ्याएका थिए ।
अर्कोपल्ट त्यहाँ जाँदा ऊसँग अफिसको एउटा साथी पनि पछि लागेर गएको थियो । साथीले त्यस्तो ठाउँको राम्रो जानकारी राख्थ्यो । खग्गड थियो भनौ । नभन्दै त्यहाँको रङ्गीन माहौलसँग एकैछिनमा घुलमिल भएर उसले साहुसँग रोजीको मूल्यको दाम काम पनि गरेको थियो । उसले चुपचाप साथीको चर्तिकला हेरिरहेको थियो । तर, रोजीले साथीको प्रस्ताव सोझै अस्वीकार गरिदिई ।
“मानिदेउ न रोजी । मेरो साथीलाई तिमी साह्रै मन परेछ । म पनि पैसा थपिदिन्छु ।” साथीको केही जोर नचलेपछि चुपचाप बसिरहेको उसले पनि मुख फोर्नु परेको थियो ।
रोजीले आँखा फुकालेर कर्के हेर्दै उसलाई झर्केर भनी – “जान्न म ।”
उता साथी मातेको भन्दा बेसी अहंमा चोट लागेका कारण जेसुकै बडबडाउन थालेको थियो । स्थिति बिग्रेला भन्ने डरले उसले साथीलाई घर हिँडाएको थियो । जाँदाजाँदै उसले रोजीलाई सोधेको थियो– “आज तिमीलाई के भएको छ हँ ?”
“सबै कुरा पैसाले मात्र पाउन्न के !” उसले मात्र सुन्ने गरी रोजीले भनेकी थिई ।
घर फर्कँदै गर्दा उसले सोचेको थियो –के रोजी उसको प्रेममा परेकी हो ? कि म उसको प्रेममा परेको हो ? उसको र रोजीको प्रत्यक्ष प्रेम असम्भव छ । प्रेम भइहाल्यो भने पनि त्यो व्यापार मात्र हुन्छ, तर एकपल्ट प्रेमका जटिलताहरूदेखि पर एउटा आदर्श प्रेमको कल्पना गरिहेरौँ ! त्यस्ता प्रेममा यौनको स्थान हुँदैन, तर यथार्थमा भन्ने हो भने मान्छेको तथाकथित प्रेम यौनिकतारहित हुँदैन । त्यसो भए के ‘अनकन्डिसनल’ प्रेम सम्भव छैन ? उसले सोच्यो – प्रेम नभएर पनि प्रेमको चाहना गर्नु प्रेम होला । प्रेमको अभिलाषा मनमा टाँसेर प्रेमलाई अस्वीकार गर्नु पनि प्रेम नै होला । प्रेमको नाममा हरदम दुख्नु, तड्पिनु जस्तो आनन्द अरूमा कहाँ होला र ?
अर्कोपल्ट ऊ त्यहाँ तीन-चार महिनाको अन्तरालमा पुगेको थियो । अब त्यहाँ नजाने भन्ने वाचा तोडेर उ त्यहाँ छिरेको हो । यसबिच रोजीले उसलाई अन्तर्राष्ट्रिय कल पनि गरेकी थिई, जो राम्रोसँग कनेक्ट हुनसकेको थिएन । उसलाई देखेर रोजी प्रफुल्लित भई ।
दस बजेतिर निक्कै मातेर निस्लोट भएको अवस्थामा उसले रोजीलाई भन्यो – “म आज यतै बस्ने । छेवैको होटेल बुक गरेको छु । मसँग रात बिताउने इच्छा छ ?”
“तपाईं रूममा बस्दै गर्नु नि । म एकछिनमा आउँछु ।” रोजीले उसको कानमा भनी ।
खाएको बिल तिरिराखेर उ रूममा पुग्यो । उ रूममा पुगेको केही छिनमै रोजी पनि आइपुगी । उसले कहिलेदेखि उत्कट् चाहना गरिराखेको रोजीको खिरिलो कम्मर समाएर सोध्यो – “ब्योई फ्रेन्डसँग कतिपल्ट सेक्स भयो ?”
“केको हुनु नि !” रोजीले भनी ।
“किन ढाँटेको !” उसले पत्याएन ।
“कस्सम हौ ।” किल्किले समाएर रोजीले भनी ।
“तिम्रो ब्योई फ्रेन्ड छक्का हो कि क्याउ !” उसले हाँसेर भन्यो ।
“बोई फ्रेन्डलाई भेट्दा जहिले पनि उसलाई टेन्सन भइराखेको हुन्छ के ! अझैसम्म जमिन बिक्री भएको छैन । साउदी उडाउने एजेन्टको पैसा दिनुपर्ने समय आइसक्यो । यता आमा बिमार छिन् । घरमा एक्ली आमालाई कसको भरमा छाडेर विदेश जाने, अर्को टेन्सन छ । यस्तो बेलामा के को त्यस्तो सेक्स हुनु !…उसले मलाई छोएको पनि छैन ।” रोजीले नधकाई भनी ।
उसले रोजीलाई पर धकेलेर भन्यो – “जाऊ । निस्क ।”
“किन ?” रोजीले छक्क परेर सोधी ।
‘तिम्रो ब्योई फ्रेन्डले तिमीलाई नछोई म कसरी छुनु सक्छु ? तिमीमाथि तिम्रो ब्योई फ्रेन्डको पहिला अधिकार छ बुझ्यौ ? म तिम्रो प्रेमी होइन । म तिमीलाई उसले जस्तो प्रेम गर्दिनँ । तिमी अहिले मलाई जे दिन खोजिरहेकी छ्यौ नि, त्यो तिम्रो ब्योई फ्रेन्डलाई उपहार दिनु ।” उसले आवेशमा आएर भन्यो ।
केही नबुझेर रोजीले सोधी– “के कुरा गर्नु भएको ?”
“प्रेम । लाटी प्रेम ।” उ जोडजोडले करायो ।
अनि अलमल्ल परेर उभिरहेकी रोजीलाई त्यतिकै छाडिराखेर दैलो खोलेर ऊ रातको अन्धकारमा बाहिर निस्क्यो ।