कोलकाता, 4 मार्च : पाकिस्तानको आतङ्की ठेगानामा भारतीय वायु सेनाले गरेको हमलालाई लिएर अहिलेघरी उठिरहेको प्रश्न-प्रतिप्रश्नबाट राज्यका राज्यपाल केसरीनाथ त्रिपाठीले असन्तुष्टि व्यक्त गरेका छन्।
राज्यपालका अनुसार भारतको एयर स्ट्राइकमाथि जुन प्रश्न उठिरहेको छ, त्यसलाई सबै देशवासीले तीखो शब्दमा निन्दा गर्नुपर्छ। यद्यपि राज्यपालले कसैको नाम लिएनन्। आइतबार एक कार्यक्रममा राज्यपालले भने, जसले भारतीय वायु सेनाको कारबाहीमाथि प्रश्न उठाइरहेका छन्, जसले हाम्रो सुरक्षा बलको बहादुरीमाथि शङ्का गरिरहेका छन्, उनीहरूको निन्दा गरिनुपर्छ।
उल्लेखनीय छ, केही पार्टीका नेताहरूले भारतीय वायु सेनाको हमलामाथि प्रश्न उठाइरहेका छन्। पाकिस्तानमा रहेका आतङ्की ठेगानाहरूमाथि वायु सेनाले गरेको हमलालाई लिएर विषेष गरी कङ्ग्रेस र तृणमूल कङ्ग्रेसले प्रश्न उठाइरहेका छन्।
शनिबार कङ्ग्रेसका नेता दिग्विजय सिंहले वायु सेनाद्वारा पाकिस्तानको आतङ्की ठेगानामा गरिएको हमलाको प्रमाण अघि राख्नुपर्ने माग गरेका थिए।
सिंहअघि तृणमूल कङ्ग्रेस सुप्रिमो एवं बङ्गालकी मुख्यमन्त्री ममता ब्यानर्जीले पनि एयर स्ट्राइकको सत्यता अघि आउनुपर्ने बताएकी थिइन्।
यता, भारतको एयर स्ट्राइकमाथि प्रश्न उठाउनेहरूको निन्दा गरिनुपर्छ भनी राज्यपालले दिएको टिप्पणीमाथि तृणमूल कङ्ग्रेसका महासचिव पार्थ च्याटर्जीले प्रतिक्रिया व्यक्त गरेका छन्। राज्यपालले आफ्नो स्वभावअनुरुप यस्तो बयान दिइरहेका छन्। कहिलेकाहीं उनी ब्युँझिन्छन्, र यस प्रकारको कुरा गर्नथाल्छन्, च्याटर्जीले भने।