खरसाङ, ४ मार्च : शिक्षाको क्षेत्रमा निरन्तर आफ्नो योगदान दिइरहेको सिटोङ –एक लोअर छम्बीस्थित ज्ञानकुञ्ज एकाडेमीलाई हाल अमेरिकामा बसोबास गरिरहेका कलकत्ताका डा. अनिरुद्ध घोषले आर्थिक सहयोग गर्नका साथै विद्यार्थी नानीहरूलाई विभिन्न उपहार प्रदान गरेका छन्।
ज्ञानकुञ्ज एकाडेमी गैर सरकारी भए तापनि नाफा नोक्सानको हिसाब नगरी सबैलाई समान शिक्षा प्रदान गरिरहेको तथा शिक्षक-शिक्षिकाले निःस्वार्थ सेवा प्रदान गरिरहेको थाहा पाएपछि डा. घोष सहयोगको हात अघि बढ़ाउँदै उक्त स्कूलमा आएका हुन्।
उनी स्थानीय समाजसेवी विक्रम राईमार्फत् सोमबार ज्ञानकुञ्ज एकाडेमी आइपुगेका थिए। नानीहरूको शिक्षालाई लिएर आफूमा अत्यधिक रूचि रहेको बताउने ८० वर्षीय सहृदयी डा. घोषले भविष्यमा उक्त स्कूलका नानीहरूका लागि रिडिङ कर्नर बनाउन सहयोग गर्ने वचन पनि दिएका छन्।
उनलाई ज्ञानकुञ्ज सोसियल वेलफेयर सोसाइटी, शिक्षक-शिक्षिका तथा अभिभावकको तर्फबाट खदा लगाएर स्वागत गरिएको थियो। यसअवसरमा समाजसेवी विक्रम राई, एमएम राई र अनिल राईलगायत अन्य अभिभावकहरूको उपस्थिति थियो।
पाठशालाको पक्षबाट निर्देशक प्रकाश राईले डा. अनिरुद्ध घोष र विक्रम राईप्रति आभार प्रकट गरेका छन्।