प्रत्येक समष्टि मात्र होइन, सबै बुथ जित्नुपर्ने कार्यकर्ताहरूलाई चामलिङको निर्देश

0
1247
नाम्चीमा एसडीएफको स्थापना दिवसमा उपस्थित पार्टी अध्यक्ष पवन चामलिङ।

गान्तोक, 4 मार्चः आगामी विधानसभा चुनाउमा राज्यका प्रत्येक समष्टि मात्र होइन, प्रत्येक बुथ जित्नुपर्ने एसडीएफ अध्यक्ष तथा मुख्यमन्त्री पवन चामलिङले सोमवार पार्टीका नेता तथा कार्यकर्ताहरूलाई आह्वान गरेका छन्।

एसडीएफ पार्टीको 27 औं स्थापना दिवसको अवसरमा उनी नाम्चीमा एउटा विराट् समारोहलाई सम्बोधन गरिरहेका थिए। चामलिङले पार्टी स्थापनाको इतिहास अनि सङ्कटकालीन घड़ीदेखि वर्तमानसम्मको दूरगामी र परिवर्तनकारी यात्राबारे राज्यवासीलाई अवगत गराए।

मुख्यमन्त्री चामलिङ विपक्षी पार्टी खासगरी एसकेएमप्रति पनि निकै आक्रामक देखिएका थिए। लिम्बू-तामाङको सीट आरक्षण नभएकोमा चामलिङले सिक्किम क्रान्तिकारी मोर्चा (एसकेएम) पार्टीलाई पुनः दोष्याए। आफ्नो र एसडीएफ पार्टीकै बलमा मात्र लिम्बू-तामाङले ‘ट्राइबल’-को मान्यता पाएको उनको भनाइ थियो। आफ्नो निर्वाचन क्षेत्र नाम्ची-सिङ्गीथाङबाट उनी राज्यका जनतालाई सम्बोधन गरिरहेका थिए।

“एसकेएम पार्टीकै कारण दिल्लीमा लिम्बू-तामाङको सीट आरक्षण रोकिएको छ। यो पार्टीले अहिले सर्वोच्च न्यायालयमा मुद्दा हालेको छ। थाहा छैन अझै कति वर्ष लाग्छ फैसला आउन। एसडीएफ पार्टी  सरकारमा नआएको भए र म मुख्यमन्त्री नभएको भए लिम्बू-तामाङले जनजातिको मान्यता पाउने थिएनन्। त्यसबेला मलाई लिम्बू-तामाङलाई जनजाति बनाउने हो भने चौकी छोड्नुपर्छ भन्ने धम्कीसमेत आएको थियो, तर म कसैसँग झुकिनँ। आज लिम्बू-तामाङको जनजाति मान्यतासमेत हटाउने षड़यन्त्र हुँदैछ। एसकेएम र उसलाई सघाउने गुरु/मालिकहरू मिलेर यो षड़यन्त्र गर्दैछ”,मुख्यमन्त्रीले नाम्चीमा पनि आफ्नो आरोप दोहोऱ्याए।

32 वटा सीटबाटै लिम्बू-तामाङलाई आरक्षण दिनुपर्छ भन्ने एसकेएमसहित विपक्षी पार्टीहरूको माग राज्यका बहुसङ्ख्यक नेपालीहरूलाई ‘जिउँदै गाड्ने’ षड़यन्त्र भएको मुख्यमन्त्रीले आरोप लगाए।

“यो अगणतान्त्रिक, अप्रजातान्त्रिक र कोल्टे कुरा सिक्किमका जनताले मान्नुहुँदैन। गैर-जिम्मेवार मान्छेको कुरा सुन्ने हो भने सिक्किमले फेरि धोका खानुपर्छ। जनताले यसको विरोध गर्नुपर्छ”,चामलिङले भने।

उनले आरोप लगाउँदै भने,“परिवर्तनको कुरा आम जनताले गरेको छैन। सत्तामा हुँदा भ्रष्टाचार गर्नेहरूले गरेको छ। विपक्षीले समाजमा डर, घृणा, विद्वेष फैलाउँदैछ।”

राज्यमा अहिले धर्म र जातलाई राजनीतिकरण गरेर घृणा फैलाउने काम भइरहेको भन्दै उनले विपक्षी पार्टीहरूप्रति दोषारोपण गरे।

“हेभेन्ली पाथ अर्गनाइजेशनलाई चम्काएर अहिले गान्तोकमा धरना गरिँदैछ। जात र धर्मलाई राजनीतिकरण गरेपछि जनताको मूल मुद्दा टाढ़िन्छ। त्यसकारण धर्मलाई राजनीतिकरण गर्नु खतरनाक कुरा हो”, चामलिङले भने।

एसकेएमले दिएको ‘परिवर्तन’-को नाराप्रति कटाक्ष गर्दै उनले भने, “एसडीएफले 25 वर्षअघिको सिक्किमलाई कसरी परिवर्तन गरेको छ, जनताले प्रत्यक्ष हेरेर दाँज्नुपर्छ। सिक्किमले जे गरिसकेको छ, त्यो भारतका अन्य राज्यले भर्खर सिको गर्दैछन्। हाम्रो सुखद् परिवर्तनको कारण यस्तो सम्भव भएको हो। परिवर्तन निरन्तर अभियान हो अनि यो युगयुगसम्म चल्ने प्रक्रिया हो।”

लगभग 4 घण्टा 10 मिनट वक्तव्य राखेका मुख्यमन्त्रीले प्रायः सबै क्षेत्रलाई समेटेका थिए। 27 वर्षअघि एसडीएफ पार्टी गठन गर्दा आफूहरूले भोग्न परेको जटिल समय, चुनौती र जीवन-मरणको स्थितिमाथि पनि उनले नवपुस्तालाई अवगत गराए। एसडीएफ अध्यक्षले पार्टी  कार्यकर्ताहरूलाई एसडीएफको इतिहासबारे जानकारी गराएका थिए।

एसडीएफको विरासतलाई अघि बढ़ाउन आह्वान गर्दै चामलिङले युवाहरूलाई भने, “आगामी विधानसभा चुनाउमा पार्टीले प्रत्येक बुथ जित्नुपर्छ। राज्यमा एसडीएफको विकल्प एसडीएफ पार्टी मात्र हो। जनताको अधिकार कसैको भीक्षा होइन। सिक्किमे जनतालाई आफ्नो अधिकार लिएर बाँच्नसक्ने बनाउनु एसडीएफको राजनीतिक प्रतिबद्धता हो।”

‘एक परिवार एक नोकरी’ नीतिअन्तर्गत सरकारले 20 हजारलाई नोकरी दिएको दोहोऱ्याउँदै मुख्यमन्त्रीले अब सरकारको खातामा वेतनका लागि मात्र वार्षिक 2815.75 करोड़ रुपियाँको खर्च आउने जानकारी दिए।

“नयाँ नोकरी दिइएका कर्मचारीहरूका लागि मात्र वार्षिक 365 करोड़ रुपियाँ खर्च आउँछ। सबैको नोकरी पाँच वर्षमा स्थायी हुन्छ। जसले नोकरी पाएका छैनन्, उनीहरूले पनि पाउनेछन्। यो हाम्रो निरन्तर चल्ने कार्य हो”, उनले स्पष्ट पारे।

राज्यका केही युवाहरूले दिएको सुझाउलाई समेत उनले सकारात्मक रूपमा लिँदै त्यसलाई सरकारको नीतिमा समावेश गर्ने भरोसा दिलाए। “हामीले विश्वले नगरेको काम गरेर देखाएका छौं। सजिलो काम सबैले गर्छ। कसैले नसोचेको, नगरेको काम गर्ने पो वास्तविक नेता हो”, उनले भने।

यसअवसरमा मुख्यमन्त्रीले केही घोषणा पनि गरे। आउने सरकारदेखि राज्यको विश्वविद्यालयमा सिक्किमका विद्यार्थीहरूलाई निःशुल्क शिक्षा प्रदान गरिने, राज्यका एक युवाले सुझाएजस्तै आगामी कार्यकालमा ‘एक परिवार एक कौशल’ योजना शुरु गर्ने, राज्यमा 1000 पर्यटन गन्तव्य बनाउने, आउने सरकारमा युवाहरूलाई 150 करोड़को स्टार्ट अप ऋण दिने, तेस्रो लिङ्गी (एलजीबीटी)-हरूलाई मूलस्रोतमा ल्याएर समान न्याय दिलाउने जस्ता घोषणा मुख्यमन्त्रीले गरे।

मुख्यमन्त्रीले ‘हिजोदेखि आजसम्म आजदेखि भोलिसम्म अघि बढ़ौं चामलिङसँग’ नारा अनि यसै भावको गीत र भिडियो पनि सार्वजनिक गरे। 

एसडीएफ प्रवक्ता तथा लोकसभा सांसद पीडी राईले आज एक प्रेस विज्ञप्तिद्वारा जानकारी दिएअनुसार, राज्यका 31 वटै समष्टिमा मुख्यमन्त्रीको भाषण एलईडी सेटअपद्वारा प्रत्यक्ष प्रसारण गरिएको थियो, जहाँ राज्यभरिका कुल 1.5 लाख स्रोताहरूले प्रत्यक्ष रूपमा मुख्यमन्त्रीको भाषण सुने।

राज्यका 31 वटा समष्टिमा एसडीएफका करिब 75 हजार समर्थक कार्यक्रममा प्रत्यक्ष रूपमा सहभागी भएको बताइएको छ। एसडीएफले ‘#माईफर्स्टभोटफरचामलिङ’ अभियानमार्फत युवा मतदाताहरूमा अघिबाटै आफ्नो पहुँच बनाइसकेको छ।

उल्लेखनीय छ, प्रत्येक वर्ष एसडीएफले आफ्नो स्थापना दिवस केन्द्रिकृत रूपमा आयोजन गर्दै आएको थियो। तर चुनाउ नजिकिँदै जाँदा कम लगानीमा ठूलो उपलब्धि हासिल गर्ने रणनीतिमार्फत एसडीएफले स्थापना दिवसको कार्यक्रमलाई विकेन्द्रिकृत रूपमा पालन गरेको छ, जहाँ सबै समष्टिका जनताले मुख्यमन्त्रीको भाषण एलईडीमा प्रत्यक्ष सुन्न पाएका थिए।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here