खाँदी खाँदी विद्यार्थी बोक्ने गाड़ीहरूमाथि पुलिसको गिद्दे दृष्टि

0
1791
ट्राफिक ओसी दोर्जी शेर्पा (फाइल फोटो)।

दार्जीलिङ, 4 मार्चः अबउसो विद्यार्थीहरूलाई गाड़ीभित्र भेंड़ा बाख्राजस्तो कोचारेर स्कूल लाने-ल्याउने कार्यमाथि पुलिस प्रशासनले गिद्दे नजर राख्नेछ।

यसै विषयलाई लिएर दार्जीलिङ ट्राफिक पुलिसले आउँदो 8 मार्चका दिन स्थानीय गोर्खा दुःख निवारक सम्मेलन भवनमा विद्यार्थी बोक्ने सबै गाड़ीका चालक/ मालिकहरूसँग एक बैठक गर्ने निर्णय गरेको छ।

जुन सभामा अबउसो विद्यार्थी बोक्ने प्राइभेट गाड़ीहरूलाई व्यावसायिक बनाउनुपर्ने या अन्य कुनै व्यवस्था गर्नुपर्ने भन्ने विषयमा चर्चा गरिने दार्जीलिङ सदर ट्राफिक ओसी दोर्जी शेर्पाले जनाएका छन्।

उल्लेखनीय छ, हाल दार्जीलिङका प्रायः सबै स्कूलका विद्यार्थीहरू नै प्राइभेट गाड़ीमा स्कूल जाने र घर फर्किने गर्छन्। तर उनीहरूलाई करिब सबै गाड़ीमा भेंड़ा-बाख्राजस्तै गरी कोचारेर बोक्ने गरिएको छ।

यस्तो अवस्थामा कुनै पनि समय ती गाड़ीहरू दुर्घटना हुनसक्ने आशङ्का बढ़्ने गर्छ। जसको कारण विद्यार्थीलगायत गाड़ी चालकको ज्याननै जोखिममा पर्नसक्छ।

यसैले पनि  यसप्रकारको कार्य रोक्नका लागि नै आउँदो 8 मार्चको दिन सबै गाड़ी चालकलाई लिएर एक सभाको आयोजना गर्ने निधो गरिएको ट्राफिक ओसी शेर्पाले बताए।

यसका लागि सबै स्कूललाई पत्र दिइसकेको उनले जानकारी गराउँदै ती स्कूलहरूले नै आ-आफ्ना विद्यार्थी बोक्ने गाड़ीहरूलाई सूचना दिनपर्नेछ।

“प्राइभेट गाड़ी दुर्घटना भएको खण्डमा इन्स्योरेन्समा पनि असुविधा हुनसक्छ”, उनले थपे, “यसैले त्यस्ता विविध पक्षमाथि पनि त्यस बैठकमा चर्चा गरिनेछ।”

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here