रेलवेको नोटिसले विस्थापित बन्ने डर

0
1085
रेलवेले नोटिसले चिन्तित गाउँलेहरू।

सिलगढ़ी, 4 मार्चः बाघडुग्रास्थित प्रमोद नगरका मानिसहरूलमा विस्थापनको भय बढ़ेको छ।

यहाँका सयौं घरलाई रेलवेले एक नोटिस थमाएर व्यक्तिगत सुनवाइका लागि आउँदो 10 मार्चका दिन कटिहारमा उपस्थित हुनुपर्ने आदेश सुनाएपछि नै उनीहरूमा विस्थापनको भय बढ़ेको हो।

विभागले आज जुन सयौं घरलाई नोटिस थमाएको छ, उनीहरू  50 वर्षभन्दा अधिक समयदेखि रेलवेको जमिनमा बस्दै आएका थिए। रेलवेले उनीहरूको हातमा नोटिस थमाएपछि चिन्तित बनेका छन्।

रेलवेका जमिनमा वर्षौंदेखि बस्दै आइरहेका ती मानिसहरूलाई नोटिस दिनका लागि बुधवार कटिहारबाट इस्टर्न फ्रण्टियर रेलवेका अधिकारीहरू अप्पर बाघडुग्रास्थित प्रमोद नगर आइपुगेका थिए।

मानिसहरूको हातमा नोटिस थमाएर ती रेलवे अधिकारीहरूले व्यक्तिगत सुनवाइका लागि आउँदो 10 मार्चका दिन कटिहारमा उपस्थित हुन भनेका छन्।

उल्लेखनीय छ, पछिल्लो महिना लोअर बाघडुग्राका मानिसहरूलाई पनि व्यक्ति सुनवाइका लागि उपस्थित हुने आदेश दिँदै रेलवे विभागले नोटिस जारी गरेको थियो।

यसैबीच, तृणमूल नेतृ एवं लोअर बाघडुग्रा ग्राम पञ्चायतकी प्रधान बिभा विश्वकर्मले बताएअनुसार पार्टीमार्फत् यो मामिलाबारे पर्यटन मन्त्री गौतम देव र राज्यकी मुख्यमन्त्री ममता ब्यानर्जीलाई जानकारी गराइएको छ।

यसका साथै आधिकारिक रूपमा दार्जीलिङ जिल्लापाललाई पनि एक पत्र पठाइनेछ। यहाँ मानिसहरू 70 वर्षदेखि यहाँ बस्दै आएकोले यदि रेलवे वैकल्पिक उपाय नगरेको खण्डमा उनीहरूलाई आ-आफ्नो घरमा बस्न दिनुपर्ने उनको माग छ।

पञ्चायत प्रधान विश्वकर्मका अनुसार रेलवे कलोनी र सूर्य नगर क्षेत्रमा करिब 400 परिवार बसोबास गर्छन्, जसलाई रेलवे विभागले नोटिस दिएको छ।

यसैगरी, बाघडुग्रा ग्राम पञ्चायत कञ्चन कुशवाका अनुसार प्रमोद नगर, सुकान्त नगर र अन्य क्षेत्रमा दशकौंदेखि 300 भन्दा अधिक मानिस बस्दै आइरहेका छन्। साथै यी मानिसहरू आर्थिक रूपले कमजोर रहेकोले कुनै प्रकारको विकल्प पनि छैन।

यसैले विस्थापित गर्नअघि रेलवे विभाग र सरकारले उनीहरूका लागि वैकल्पिक व्यवस्था गर्नुपर्ने उनको माग छ।

रेलवेबाट नोटिस पाएका बासुदेव सरकारले भने, “व्यक्तिगत सुनवाइका लागि कटिहार जाने मसँग पैसा छैन। यदि रेलवे विभागले मलाई यहाँबाट हटाएमा म आफ्ना परिवार लिएर कहाँ जानु? मसँग न जमिन किन्नका लागि पैसा छ न त घर भाड़ामा लिएर बस्ने सामर्थ्य नै छ।”

विभागले नोटिस थमाएपछि मानिसहरू चिन्तित बनेका छन्। उनीहरूलाई विस्थापनको भयले सताउन थालेको छ।  

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here