खरसाङ, ४ मार्चः दुधे क्षेत्रका तृणमूल कङ्ग्रेस नेता अनुप गदाल, केही महिनाअघि तृणमूल कङ्ग्रेस त्यागेका विष्णु गोले विनय तामाङपन्थी गोर्खा जनमुक्ति मोर्चा (गोजमुमो)-मा सामेल भएका छन्।
उनीहरूसहित अन्य २०० घर पनि विनयपन्थी मोर्चामा सामेल भएको दावी गरिएको छ।
विनयपन्थी मोर्चाका अनुसार यी २०० घरलाई प्रतिनिधित्वल गर्दै आज २० नेतृत्व सामेल भएका हुन्।
आज दुधे सार्वजनिक भवनमा आयोजित एक कार्यक्रममा उनीहरूले विनयपन्थी मोर्चाका महासचिव अनित थापाको हातबाट झण्डा ग्रहण गरे।
विचार नमिलेपछि नै आफूहरूले तृणमूल कङ्ग्रेस छोड़ेको अनुप गदालले खुलाए।
“हामीलाई अनित थापा र विनय तामाङको दूरगामी सोच र गोर्खा हितको कामले आकर्षित गरेपछि नयाँ सोच र नयाँ विचारको मोर्चामा सामेल भएका हौँ”, उनले थपे।
त्यसरी नै विनयपन्थी मोर्चामा सामेल भएपछि विष्णु गोलेले आफ्ना लागि आजका दिन ऐतिहासिक रहेको बताए।
उनले थपे “आजदेखि म जाति र पार्टीका लागि काम गर्नेछु।”