दुई महिनापछि हामी सत्तामा हुनेछौँ : चाम्लिङ

0
635

लेगसेप , ४ मार्च : २०१९ को हारलाई ‘ब्लेसिङ इन् दिस्गाइज’ (अप्रत्यक्ष आशीर्वाद) बताएका पवन चाम्लिङले दुई महिनापछि एसडीएफ सत्तामा फर्किने ठोकुवा गरेका छन्।
उनको दाबी छ – “दुई महिनापछि हामी सत्तामा हुनेछौँ।”

आउँदो दुई महिनाभित्र सिक्किम विधानसभा चुनाउ हुँदैछ। यसैले एसडीएफ अध्यक्ष एवम् पूर्व मुख्यमन्त्रीले यस्तो दाबी गरेका हुन्।

आज पश्चिम सिक्किमको लेगसेपमा आयोजित पार्टीको ३२औँ स्थापना दिवस कार्यक्रमलाई सम्बोधन गर्दै उनले एसडीएफले निर्माण गरेको शान्तिप्रिय र विकसित सिक्किमलाई एसकेएम सरकारले ध्वस्त र अशान्त बनाएको आरोप लगाए।

साथै चाम्लिङले उपस्थित पार्टी कार्यकर्ताहरूलाई एसडीएफ पुनः सरकारमा फर्केपछि सिक्किम र सिक्किमेली जनताको विकास र उन्नतिका लागि तयार गरेका कार्ययोजना पनि सुनाए।
एसडीएफ अध्यक्षले भने – “हामी जे भन्छौँ , त्यो गरेरै छाड्छौँ । हामी एसकेएमले जस्तो झुट बोल्दैनौँ। आजसम्म हामीले भनेका सबै कुरा गरेका छौँ ।”

चाम्लिङले जनतालाई एसडीएफ सरकार र एमकेएमका कार्यलाई तुलना गरेर हेर्ने सुझाउ पनि दिए।

उनको भनाइ थियो – एसडीएफ सरकारकालमा विश्वमै शान्ति र समृद्ध राज्यका रूपमा सुनाम सिक्किमको आज दुर्नाम भइरहेको छ।

पार्टीको स्थापना दिवसमा कार्यक्रममा एसडीएफ कार्यकर्ताहरूको बाक्लो उपस्थिति थियो। राज्यमा भइरहेका हिंसक घटनाहरूका प्रतिवादमा लेखिएका प्ला-कार्डहरू पनि कार्यकर्ताहरूले बोकेका थिए ।

साथै नेतृत्वपक्षले शान्तिको परिचायक सेतो पट्टी हात हातमा बाँधेका थिए ।

५ मार्चसम्म केएन राई हमलाको मास्टरमाइन्ड पक्राउ नगरिए ६ मार्चदेखि एसडीएफ सडकमा ओर्लने

एसडीएफका वरिष्ठ उपाध्यक्ष तथा राज्यका पूर्व मन्त्री एवं पूर्व विधानसभा अध्यक्ष केएन राईमाथि भएको प्राणघातक हमलाको मास्टरमाइन्ड (मूल मस्तिष्क)-लाई ५ मार्चसम्म पक्राउ गर्नुपर्ने माग चाम्लिङले गरेका छन्।

यदि पुलिस प्रशासनले ५ मार्च अर्थात भोलिसम्म हमलाको मास्टरमाइन्डलाई पक्राउ नगरे ६ मार्चदेखि एसडीएफ सडकमा निस्केर प्रतिवाद जनाउने चेताउनी दिएका छन्।

पुलिस प्रशासनले हमलामा संलग्न सातजना युवकलाई पक्राउ गरिसकेको छ। तर, एसडीएफको माग छ – हमलाको मास्टरमाइन्डलाई पनि पक्राउ गरिनुपर्नेछ। किनभने केएन राईमाथिको हमला पूर्व नियोजित हमला हो।

“अब एसडीएफ पार्टीले अन्याय – अत्याचारको विरुद्ध युद्धको घोषणा गर्छ। एसडीएफ पार्टीका युवाहरू कमजोर र कायर छैनन्। सिक्किममा अन्याय-अत्याचार मास्ने वीर योद्धाहरू छन्। सिक्किम र सिक्किमेली जनताको भाग्य बचाउने हाम्रा युवाहरू वीर छन्”, चाम्लिङले कडा शब्दमा थपे , “पाँच वर्ष पुग्न आँट्यौ हामीले सहेर बस्यौँ। हामी शान्तिको बाटामा हिँड्यौँ। अब हामी अन्याय-अत्याचार मास्ने कार्यक्रममा अघि बढ्छौँ। त्यसैले भोलिदेखि सम्पूर्ण सिक्किमभरि हाम्रो कार्यक्रम सुरु हुनेछ।”

उनका अनुसार सिक्किम अहिले उत्तरपूर्वी राज्यमै दोस्रो अशान्त राज्य हो। पहिलो स्थानमा मणिपुर छ।

” आज सिक्किम मणिपुरकै बाटामा हिँडिरहेको छ। हामी सिक्किमलाई मणिपुर हुन दिनेछैनौँ”, चाम्लिङले भने।

एसकेएमका युवाहरूलाई चाम्लिङको प्रश्न – के तपाईंहरू ढुङ्गा हान्न र मान्छे कुट्न जन्मिएका हुन् ?

एसडीएफ अध्यक्ष पवन चाम्लिङले राज्यको सत्तारूढ दल एसकेएमका युवाहरूलाई ‘गोले राजनीति’-देखि टाढा बस्न र बाटो सुधार्न अपील गरेका छन् ।

उनको आरोप छ – एसकेएम अध्यक्ष एवं राज्यका मुख्यमन्त्री पीएस गोलेले युवाहरूलाई मान्छे कुट्न र ढुङ्गामुढा गर्न लगाएर उनीहरूका भविष्य बर्बाद गरिरहेका छन्।

युवाहरूका लागि गोले राजनीति भनेकै ढुङ्गामूढा गर्न र कुट्न कुट्न लगाउनु हो, जसको प्रमाण राज्यमा बढ्दो हिंसा रहेको एसडीएफ अध्यक्षको भनाइ छ।

एसकेएमका युवाहरूलाई सम्बोधन गर्दै उनले भने – तपाईंहरूका व्यवहार र कार्य देखेर मलाई त रुन मन लाग्छ भने तपाईंहरूका आमा-बाबा कति रुँदै होलान्। गोलेले ढुङ्गा हान्नु र मान्छे कुट्न लगाएको काम गरेर पैसा कमाउँदैछन् भनेको सुनेर आमा-बाबा कति रुँदै होलान्। यस्ता कार्य नगर्नुस्।”

चाम्लिङले थपे, – “केएन राईलाई कुट्न लगाउने पीएस गोले नै हो। जेकब खालिङले कुट्न लगाएको हो। लाक्पा ज्योजोले कुट्न लगाएको हो। कसैलाई कुटेर, कसैलाई मानेर छोराछोरी पाल्नु जस्तो नीच कार्य कुनै हुँदैन। यसैले मेरो अनुरोध छ यस्ता कार्य नगर्नुस्। तपाईंहरूको जिन्दगी नै बर्बाद हुनेछ। तपाईंहरूलाई हामी गोलेले जस्तो पैसा दिन सक्दैनौँ, तर निडरको जिन्दगी र भविष्य दिनसक्छौँ। मान सम्मान र माया दिनसक्छौँ।”

सिक्किमलाई अक्सिजन च्याम्बर बनाउने घोषणा

सिक्किममा जैविक राज्य बनाउने पवन चाम्लिङले एसडीएफ सत्तामा आए सिक्किमलाई अक्सिजन च्याम्बर बनाउने घोषणा गरे। आज विश्व विस्तारै अक्सिजनविमुख बन्दै गइरहेको अवस्थामा सिक्किमलाई अक्सिजन च्याम्बर बनाउने आफ्नो योजना रहेको उनले बताए।

यसका साथै उनले एसकेएम पार्टी सरकारमा आएपछि राज्यमा गरिएको अनियन्त्रित रुख कटाइको प्रसङ्ग पनि झिके। एसडीएफ सत्तामा आएको खण्डमा एसकेएम सरकारले कतिवटा रुख काट्यो, त्यसको गणनासमेत गर्ने बताए।

लिम्बू-तामाङ सिट आरक्षण र जनजाति राज्य

लगभग तीन घन्टे आफ्नो सम्बोधनमा पवन चाम्लिङले लिम्बू-तामाङलाई सिट आरक्षण र जनजाति राज्यबारे पनि बोले। उनले एसडीएफकै पालामा लिम्बू-तामाङ समुदायले जनजातिको मान्यता पाएको र एसडीएफले नै सिट आरक्षण पनि दिने दाबी पनि गरे।

२०२६ को परिसीमनमै लिम्बू-तामाङ समुदायले सिट आरक्षण मात्र होइन, तर राज्यकै विधानसभा आसन बढाएर बीएल समुदाय र नेपाली समुदायको पनि सिट बढाउने एसडीएफसँग सूत्र रहेका खुलाए।

यसका साथै सबै समुदायलाई जनजातिको मान्यता दिएर सिक्किमलाई जनजाति राज्य (ट्राइबल स्टेट) बनाउने योजना पनि चाम्लिङले बताए।

“तामाङ मुख्यमन्त्री र सांसद लिम्बू हुँदा पनि एसकेएम सरकारले लिम्बू-तामाङ सिट आरक्षणका लागि खोई के गऱ्यो?”, एसडीएफ अध्यक्षको प्रश्न थियो।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here