नाम्ची, 4 मईः नाम्ची नगरपालिका परिषद् र नयाँ बजार-जोरथाङ नगर पञ्चायतका नवनिर्वाचित पार्षदहरूको शपथ ग्रहण समारोह नाम्चीको जिल्ला प्रशासनिक केन्द्रमा सम्पन्न भयो।
जिल्लापाल एम. भरणी कुमारले शपथ ग्रहण गराएपछि पार्षद्हरूले नाम्ची नगर परिषद्का अध्यक्ष, उपाध्यक्ष, सदस्य र कार्यकारी अधिकारीहरू चय़न गरे।
अप्पर सिङ्गीथाङ वार्डका पार्षद् गणेश राई अध्यक्ष, अप्पर बुमटार वार्डकी पार्षदिका सावित्री तामाङलाई उपाध्यक्ष अनि गाङ्याप वार्डकी निमा छोडेन लेप्चालाई कार्यकारी प्राधिकारी चयन गरियो।
नयाँ बजार-जोरथाङ नगर पञ्चायतबाट डाँड़ागाउँ वार्डका पवित्र कुमार शर्मालाई अध्यक्ष र त्रिकालेश्वर वार्डकी मञ्जरी राईलाई उपाध्यक्षका रूपमा छनौट गरिएको छ।
यसैगरी उत्तर सिक्किमका जिल्लापालको कार्यालयमा मङ्गलवार पाँचजना नवनिर्वाचित पार्षद्ले शपथ ग्रहण गरेका छन्।
मङ्गन नगर पञ्चायतको अध्यक्ष पदमा नोर्कित लेप्चा र उपाध्यक्ष पदमा उगेन पाल्जर काजीलाई छनौट गरिएको छ।
यसैगरी गेजिङ नगर पञ्चायतका अध्यक्ष पदमा देवेन्द्र प्रसाद शर्मा र उपाध्यक्ष पदमा लाकी डोमा भोटियालाई चयन गरिएको छ।