कोलकाता, 4 मई : ममता सरकारले आफ्नो कार्यकाल पूरा नगर्ने तथा 2021 अघि नै यो सरकार ढल्ने दाबी भाजपाको पश्चिम बङ्गाल मामिलाका प्रभारी कैलाश विजयवर्गीयले गरेका छन्।
बङ्गालमा तृणमूल-भाजपाबीच राजनीति लड़ाइँ चरममा पुगेको बेला उनले यस्तो बयान दिएका छन्। उसै पनि पछिल्लो लोकसभा चुनाउको परिणाम र जय श्रीरामको नाराले राज्यको तृणमूल सरकार चारैतिर घेरिएको छ।
यसैबीच पछिल्लो लोकसभा चुनाउपछि तृणमूल कङ्ग्रेस त्यागेर भाजपामा सामेल हुनेहरूको ताँती लागेजस्तो भएको छ। हिजो मात्र मुर्शिदाबादमा विभिन्न पार्टीका 5,000 कार्यकर्ताले भाजपाको झण्डा समाएका थिए, जसमा तृणमूल कार्यकर्ताहरूको सङ्ख्या धेरै थियो।
अर्कोतिर ममतालाई घेर्न भाजपाले जय श्रीरामपछि जय महाकालीको नारा चर्काउने रणनीति अपनाएको छ। यसको काउन्टर दिनका लागि ‘जय हिन्द, जय बङ्ग्ला’-को नारासहित तृणमूलले मोदी-शाहलाई 20 लाख पोस्टकार्ड पठाउने तयारी शुरु गरेको छ।
टाइम्स अव् इन्डियासँगको विशेष कुराकानी गर्दै कैलाश विजयवर्गीयले भने, ‘‘ममता सरकारले आफ्नो कार्यकाल पूरा गर्न पाउनेछैन। पार्टीका नेताहरूभित्र ठूलो असन्तोष छ। यसैले उनीहरूले कुनै पनि समय पार्टी छोड़्न सक्छन्।’’
भाजपा नेता विजयवर्गीयका अनुसार आउँदो दिनमा ममता ब्यानर्जीका भदै अभिषेक ब्यानर्जी तृणमूल कङ्ग्रेसका उत्तराधिकारी हुने कुरामा पार्टीका धेरै ठूला नेताहरू डराइरहेका छन्। ‘‘पार्टीका ठूले नेताहरूले यस्तो स्थितिलाई आफ्ना लागि असहज मानिरहेका छन्। यस्तोमा यी सबै असन्तुष्ट नेताहरूले कुनै पनि समय पार्टी छोड़्न सक्छन्’’, कैलाश विजयवर्गीयले भने।