एकताविरोधी तत्त्वहरूलाई हाबी हुन दिनुहुँदैन

0
1572

सुरज धड़कन, दार्जीलिङ

दार्जीलिङमा यस समय दुई थरीका कुतत्त्व सक्रिय बनेका देखिँदैछन्। एक थरीकाहरू पार्टी र झण्डाको अहम् बोकेर गोर्खे एकताको धजिया उड़ाउन तम्सिरहेका छन् भने अर्को थरीकाहरू मिडियाको दुरुपयोग गरेर आन्तरिक द्वन्द्व सृष्टि गराउनमा लागिपरेका छन्। यिनीहरूको डीएनएमै जातिप्रेम नरहेको कुरा स्पष्ट बुझिँदैछ।

हामी चाहन्छौं- एकता नटुटोस्। विमल गुरुङ पनि चाहन्छन् -एकता नटुटोस्। मन घिसिङहरू पनि चाहन्छन् -एकता नटुटोस्। तर जेबी, आईएनहरू यस्तो चाहँदैनन्। उनीहरूलाई सत्ताको भोक लाग्न थालिसकेको स्पष्ट हुँदैछ। जातिहितको लक्ष्य पूरा नभइञ्जेलसम्म गठबन्धन यथावत् रहनेछ भन्ने नीरज जिम्बा, अजय एडवर्डहरूको बयानलाई उनीहरूकै पार्टीका जेबी, आईएनहरूले टेरपुच्छर लगाएका छैनन्।

दलीय स्वार्थ सबै पार्टीमा हुन्छ। सबैले आ-आफ्नो पार्टीको सभा राख्न सक्छन् नै। सबैले विजय दिवस मनाउन सक्छन् नै। सबैले नाराजुलूस  निकाल्न पनि सक्छन् नै। तर सक्छन् भन्दा पनि व्यक्तिगत भँड़ास किन? विमलपन्थीको बदख्वाईं किन? बल्लबल्ल बनिएको गठबन्धनलाई लात लगाउने भाषण दिएर जेबी, आईएनहरू आखिर के चाहन्छन्? विमल गुरुङसित बदला? यतिधेरै कुरा भइसक्दा पनि विमल गुरुङले फर्केर जवाब दिएका छैनन्। गठबन्धनमा उनको विश्वास अपार रहेको देखिन्छ। उनले गोजमुमो-गोरामुमोमाझ फुट ल्याउने षड्यन्त्र मिडियामार्फत् भइरहेको बयान दिए बरु। यही बयानले मनोज बोगटीलाई पनि ठस्सै लाग्यो।  नलागोस् पनि कसरी? बोगटी एकजना निष्पक्ष, निडर र कुशल पत्रकार हुन्। सत्यनिष्ठ पत्रकारको धर्म पालन गर्दै उनले समाजको आँखा उघारिदिने काम गरिरहेकै छन्। बोगटीलाई मात्र नभएर म आफैलाई पनि विमल दाजुको बयानले ठस्सै लागेकै हो। कुरा जेबी, आईएनहरूको भाषणको जवाब दिनुपर्छ भन्ने थिएन तर मिडियामार्फत् भनेर दाजुले किन हामी सबैलाई किन मुछे भन्ने थियो।

अहिले सोच्दा कुरा ठिकै रहेछ। हो, हामी पनि लेख्छौं। भन्नुपर्नेहरूलाई प्याचप्याच भन्छौं पनि। तर कुनै दुई दल वा दुई व्यक्तिमाझ झगड़ा लगाउने उद्देश्यले हामी लेख्दैनौं। नकारात्मक कुराको आलोचना हुनुपर्छ भन्ने लाग्छ हामीलाई। जेबी, आईएनहरूसँग हाम्रो व्यक्तिगत कुनै दुश्मनी छैन। उनीहरूले गठबन्धनलाई फ्यातुलो बनाउने जुन भाषण गरे त्यसको मात्र विरोध हामीले गरेका हौं किनभने हामी चाहन्छौं- सबै प्रकारका द्वेष, रिसराग र आपसी कुराहरू त्यागेर एकता कायम राख्दै सबै दल जातिको समस्या समाधानका लागि अघि बढून्।

तर घरीघरी सेन्सेशनल कभरेज बनाउँदै भुप्रोस्तरमा रहेको कुरालाई ठूलो बाल्न खोज्ने कतिपय जिटिए 2 प्रायोजित मिडियाहरू यस्तो चाहँदैनन्। ती मिडियाहरूसँग संलग्न मिडियाकर्मीहरू चाहन्छन् – विमल र मनबीच ठूलो फाटो आवोस्। गोजमुमो र गोरामुमो भुइंस्तरदेखि नै नमिलोस्। यस्तैमा जेबी, आईएनहरू भने भ्यागुते घमण्ड बोकेर चम्कीचम्की एकताविरोधी भाषणहरू गर्दै हिँड्छन्। तब कसरी हुनसक्छ जातिको उत्थान? यसैले जनता आफै सचेत हुनुपर्छ अब। एकताविरोधी तत्त्वहरूलाई हाबी हुन दिनुहुँदैन।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here