शिक्षक नियुक्ति पुनः अवलोकन गरेर मात्र दिने विनयको दाबी

0
1362
पार्थ च्याटर्जीसँग भेटवार्ता गर्दै गोजमुमो टोली।

दार्जीलिङ, 4 मई : दार्जीलिङ विधानसभा चुनाउअघि विमलपन्थी गोर्खा जनमुक्ति मोर्चा (गोजमुमो) का प्रवक्ता बीपी बजगाइँले शिक्षक नियुक्तिमा जीटीएकोले धाँधली गरेको भनी लगाएको आरोपबारे चुनाउपछि विनय तामाङले प्रतिक्रिया व्यक्त गरेका छन्।

मङ्गलबार एक प्रेस विज्ञप्ति जारी गरी गोजमुमो दोस्रो खेमाका अध्यक्ष विनय तामाङले शिक्षक नियुक्ति विषयमा पुनः अवलोकन (रिभ्यु) गरेर मात्र नियुक्ति दिइने दाबी गरेका छन्। यसका साथै उनले केही दिनअघि सामाजिक सञ्जालमा आएको सूची आधिकारिक नरहेकोले आजपर्यन्त त्यो सूचीमा भएका शिक्षक-शिक्षिकाहरूले नियुक्ति-पत्र नपाएको आधिकारिक पुष्टि गर्ने दाबी गरेका छन्।

सामाजिक सञ्जालमा प्रसार गरिएको तथ्य चुनाउको माहोलमा राजनीतिक प्रेरित रहेको तथा बदनाम गर्ने प्रयास मात्र रहेकोले कुनै आधार नरहेको तामाङको ठोकुवा छ। ‘‘सम्पूर्ण शिक्षक नियुक्तिको आधिकारिक प्रक्रिया अविलम्ब शुरु गरिनेछ भनी हामी आश्वासन दिन चाहन्छौं’’, विनयले विज्ञप्तिमा भनेका छन्।

तामाङका अनुसार आज राज्यका शिक्षामन्त्री पार्थ च्याटर्जीसँग उनीलगायत, जीटीएका बोर्ड अव् एड्मिनिस्टेटर (बीओए) अध्यक्ष अनित थापा र उत्तर बङ्गाल विकास विभागका मनोनित अध्यक्ष अमरसिंह राईले भेट गरी पहाड़को शिक्षा क्षेत्रका विविध समस्याबारे विस्तृत रूपमा चर्चा-परिचर्चा गरिएको थियो।

यसभन्दा अघि आज उनीहरूको टोलीले राज्यकी मुख्यमन्त्री ममता ब्यानर्जीसँग नवान्नमा भेटवार्ता गरिएको विनयले प्रेस विज्ञप्तिमा बताएका छन्। विज्ञप्तिमा उल्लेख गरेअनुसार करिब 40 मिनटको यो भेटवार्ता मुख्यमन्त्रीसँग दार्जीलिङ पहाड़का विविध विषय र समस्यालाई लिएर कुराकानी गरिएको थियो। उक्त भेटवार्तामा राज्यका वित्त मन्त्री अमित मित्र पनि विशेष रूपले उपस्थित थिए।

‘‘ममता ब्यानर्जी र राज्य सरकारले दार्जीलिङ पहाड़लगायत उत्तर बङ्गालको विकास तथा गोर्खा जातिका चिह्नारी र उत्थानका लागि चुनाउअघि जुन वचनहरू दिएकी थिइन्, ती वचनहरू चुनाउमा पराजित भए तापनि पूरा गर्ने विश्वास दिलाइन्’’, तामाङले भनेका छन्। यसका साथै उनले गोर्खाल्याणन्ड टेरिटोरियल एड्मिनिस्ट्रेशनका मुख्य सल्लाहकार अमरसिंह राई रहने तथा जीटीएका मुख्य सचिव सुरेन्द्र गुप्तले चाँड़ै आफ्नो पदभार सम्हाल्ने जनाएका छन्।

ममताले आउँदो 2021 मा हुने राज्य विधानसभा चुनाउमा पनि तृणमूल कङ्ग्रेस र विनयपन्थी गोजमुमोबीचको गठबन्धन यथावत रहने अनि पहाड़का तीनवटै विधानसभा क्षेत्रबाट विनयपन्थी गोजमुमोका उम्मेदवारलाई तृणमूल कङ्ग्रेसले समर्थन गर्ने वचन दोहोऱ्याएकी पनि विनयले विज्ञप्तिमा बताएका छन्।

अर्कोतिर तामाङले भाजपाका लोकसभा सांसद राजु विष्ट र विधायक नीरज जिम्बाले पहाड़ र पहाड़वासीका हित र भलाइका लागि केही गरे/नगरे पनि आफूहरू चुनाउ हारेको भए तापनि पहाड़ र पहाड़वासीका लागि चुनाउमा दिएका सबै वचन आउँदो 23 महिनाभित्र पूरा गर्ने ठोकुवा गरेका छन्। वचन पूरा गर्नुलाई विनय तामाङले आफूहरूको राजनीतिक धर्म सम्झिने बताएका छन्।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here