सिक्किमे जनताको हितमा लड़िरहने चामलिङको प्रतिबद्धता

0
1057
पवन चामलिङ ।

गान्तोक, 4 जूनः राज्यका पूर्व मुख्यमन्त्री तथा एसडीएफ पार्टी अध्यक्ष पवन चामलिङले सधैं सिक्किमे जनताको पक्षमा काम गरिरहने अनि सिक्किमे जनताको हितमा लड़िरहने प्रतिबद्धता जाहेर गरेका छन्।

मङ्गलबार उनले सिक्किमे जनताको नाममा एउटा भिडियो सन्देश जारी गर्दै भनेका छन्, “मलाई र एसडीएफ पार्टीलाई सिक्किमे जनताले जहाँ राखेका छन्, त्यही बसेर म तथा एसडीएफ पार्टीले सिक्किम र सिक्किमे जनताको हितमा काम गरिरहनेछ। पार्टीले सिक्किमे जनताको हक र हितको निम्ति सधैं डटेर लड्नेछ। मेरो निम्ति सिक्किम नै स्वर्ग हो अनि मलाई सिक्किमभन्दा अर्को कुनै ठाउँ राम्रो लाग्दैन। सिक्किम भूमिको सेवा नै मेरो मुख्य कर्तव्य थियो र सधैं रहनेछ। म अन्तिम साससम्म सिक्किमे जनताको निम्ति काम गरिरहनेछु।”

उनले भिडियो सन्देशमा अझ भनेका छन्, “25 वर्षसम्म एसडीएफ पार्टीको सरकारले दिएको योगदानकै कारण आज सिक्किम देशकै सबैभन्दा विकसित राज्य बनेको छ। सिक्किमबाट गरिबी हटेर गएको छ। राज्यमा विकास भएकै कारण गरिबी घटेर गएको हो। एसडीएफ पार्टीको सरकारले 25 वर्षसम्म सिक्किमलाई शान्ति र सुरक्षित राखेको थियो। सामाजिक न्यायको क्षेत्रमा एसडीएफ पार्टीको सरकारले सबैभन्दा बेसी काम गरेको छ। ती सबै विषयको मूल्याङ्कन भविष्यमा अवश्य नै हुनेछ।”

भिडियो सन्देशमा उनले 25 वर्षसम्म सरकार चलाउनमा सहयोग पुर्‍याउने सबैप्रति कृतज्ञता प्रकट गर्दै अब निरन्तर रूपमा सिक्किमे जनताको हितमा काम गर्ने प्रतिबद्धता जाहेर गरेका छन्।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here