बङ्गालको शिक्षा नीतिले पहाड़को गरिमा ध्वस्त : विमलपन्थी गोजविमो

0
1251
विमलपन्थी गोजविमो नेता नगेन्द्र लिम्बू (फाइल फोटो)।

दार्जीलिङ, 4 जुलाई : सांसद राजु विष्टले दार्जीलिङमा केन्द्रिय विश्वविद्यालयको स्थापनाको मागलाई उठाएकोमा विमल गुरुङपन्थी गोर्खा जनमुक्ति विद्यार्थी मोर्चा (गोजविमो)-ले सांसदप्रति आभार प्रकट गरेको छ।

उल्लेखनीय छ, केही दिनअघि सांसद विष्टले केन्द्रिय मानव संसाधन विकास विभागका मन्त्री रमेश पोखरियाललाई भेटवार्ता गरी दार्जीलिङ पहाड़मा केन्द्रिय विश्वविद्यालयको माग गर्दै यो मागबारे ज्ञापन पनि चढ़ाएका थिए। यसै माग र ज्ञापनका लागि विमलपन्थी गोजविमोले सांसदप्रति आभार प्रकट गरेको हो।

गोजविमो दार्जीलिङ महकुमा समितिका अध्यक्ष नगेन्द्र लिम्बूले बिहीबार एक प्रेस विज्ञप्ति जारी भनेका छन्, “केन्द्रिय विश्वविद्यालय पहाड़को धेरै पुराना मागहरूमध्ये एक हो। पहाड़लाई एक समय एडुकेशनल हब भनेर चिनिन्थ्यो। तर, बङ्गालको शिक्षा नीतिले पहाड़को गरिमालाई ध्वस्त पारेको छ।” पहाड़मा अझै पनि आधुनिक शिक्षाहरू भित्रिन नसकेको उनको भनाइ छ।

“अहिलेको विश्व भनेको इन्फर्मेशन अनि टेक्नोलजीको हो। तर, हामी अझै तीन/चारवटा आर्ट्स विषयमा सम्मान लिएर पढ्नबाहेक त्योभन्दा माथी उठ्न सकेका छैनौं”, विमो नेता लिम्बूले थप भनेका छन्, “पहाड़मै केन्द्रिय विश्व विद्यालयको निर्माण हुनसके पहाड़का विद्यार्थीहरूले आधुनिक अनि अत्याधुनिक शिक्षाहरूको लाभ उठाउन सक्नेछन् भन्ने हाम्रो विश्वास छ।”

यसका साथै दार्जीलिङ पहाड़मा केन्द्रिय विश्वविद्यालय स्थापनाका लागि ठोस कार्य हुनुपर्ने माग पनि उनले गरेका छन्।

अर्कोतिर, गोर्खा राष्ट्रिय मुक्ति मोर्चाको विद्यार्थी सङ्गठनले पनि दार्जीलिङ पहाड़मा केन्द्रिय विश्वविद्यालयको माग मानव संसाधन विकास मन्त्रीसमक्ष उठाएकोमा सांसद विष्टप्रति आभार प्रकट गरेका छन्।

गोरामुमोको विद्यार्थी एकाइका नेता अनमोल निरौलाले सांसदप्रति आभार प्रकट गर्दै केन्द्रिय विश्वविद्यालयको स्थापना तर दार्जीलिङ पहाड़मै हुनुपर्ने माग गरेका छन्।

स्मरण रहोस्, पछिल्लो आइतबार दार्जीलिङ पहाड़मा केन्द्रिय विश्वविद्यालयको निर्माणको विषयमा सांसद राजु विष्टले केन्द्रिय मानव संसाधन विकास विभागका मन्त्री रमेश पोखरियाल ‘निशङ्क’-सँग भेटवार्ता गरेका थिए।

यसअवसरमा सांसद विष्टले दार्जीलिङमा केन्द्रिय विश्वविद्यालयको स्थापनाका लागि मन्त्री पोखरियाललाई एक ज्ञापन पनि सुम्पिएका थिए।

यसका साथै उक्त भेटवार्तामा उनले केन्द्रिय मानव संसाधन विकास विभागका मन्त्रीलाई ‘दार्जीलिङ ब्रान्ड’-को महत्त्वबारे बुझाउँदै यहाँ केन्द्रिय विश्वविद्यालयको स्थापना भए, त्यसले भारतभरिका विद्यार्थीहरूलाई मात्र होइन, तर दक्षिण एशिया र दक्षिण-पूर्व एशियाका विद्यार्थीहरूलाई समेत आकर्षित गर्ने बताएका थिए भने सांसद विष्टले दार्जीलिङमा केन्द्रिय विश्वविद्यालयको स्थापनाले दार्जीलिङ भारतमा उच्च शिक्षाको ‘हब’-मा परिणत हुने तथा दक्षिण र दक्षिण पूर्व एशियाका लागि यो महत्त्वपूर्व शैक्षिक केन्द्र बन्ने कुरा पनि बुझाउने प्रयास गरेका थिए।

भेटवार्तामा दार्जीलिङका यी सांसदले दार्जीलिङमा स्थापना हुने विश्वविद्यालय प्रधानमन्त्री नरेन्द्र मोदीको एक्ट इस्ट पोलिसीका लागि कति प्रशंसनीय हुनेछ तथा यसले दक्षिण र दक्षिण-पूर्व एशियाका देशहरूसँग भारतले कसरी थप बलियो सम्बन्ध स्थापित गर्न मद्दत गर्नसक्छ भन्ने पनि बुझाएका थिए।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here