लकडाउनको मर्काः दोब्बर ट्याक्स तिर्न परिरहेको गोर्खा एकता चालक सङ्गठनको भनाइ

0
1039

दार्जीलिङ, ४ जुलाईः गोरामुमो समर्थित चालक सङ्गठन गोर्खा एकता चालक सङ्गठनले लकडाउनअवधिको गाड़ीको ट्याक्समा छुट दिने माग गर्नअघि नै गाड़ी मालिकहरूले दोब्बर ट्याक्स दिन परेको बताएको छ।

यसैले अहिले दार्जीलिङ पहाड़का गाड़ी मालिकहरूलाई ट्याक्स नतिर्ने पनि सङ्गठनले अपील गरेको छ।

सङ्गठनका सचिव भरत तिरुवाले भने, “कोरोना सङ्क्रमणका कारण शुरू भएको लकडाउनले गर्दा गाड़ी चालक वा मालिकहरू पनि नराम्रो घतले प्रभावित बनेका छन्। आयआर्जन पूर्णरूपले बन्द भएको छ भने अझैसम्म पनि गाड़ी चालकहरूको कमाइ ठप्प नै बनिरहेको छ, जसका कारण विशेष ईएमआई (इजी मन्थ्सी इन्सटल्मेन्ट)-मा गाड़ी ल्याएर आफ्ना परिवारको जीवन चलाउने गाड़ी चालकहरूको अवस्था अझै गम्भीर बनिरहेको छ भने धेरै गाड़ी चालक आफ्नो घरको भाड़ासम्म दिन असमर्थ बनिरहेका छन्।’’

यस्तो अवस्थाबीच गाड़ीको दोब्बर ट्याक्स तिर्नुपर्ने सरकारको निर्देशले झनै गाड़ी चालक वा मालिकहरूमाथि अर्को सङ्कट थपिएको उनको भनाइ छ।

यसै विषय लिएर गोर्खा एकता चालक सङ्गठनको एक प्रतिनिधि टोलीले आउँदो सोमबार दार्जीलिङका जिल्लापालसित भेट गरी कम्तिमा एक वर्षका लागि ट्याक्समा छुट दिने माग गर्ने भएको पनि तिरुवाले बताए।

“लकडाउनका कारण कठोर आर्थिक सङ्कटमा फँसिएका गाड़ी चालक वा मालिकहरूलाई एक वर्षसम्मको ट्याक्समा छूट दिनुपर्ने माग लिएर गत केही सप्ताहअघि नै सङ्गठनले एक ज्ञापन तयार पारेको थियो’’, उनले थपे, “तर उक्त ज्ञापन वा माग पत्र राज्यका ट्रान्सपोर्ट मन्त्रीलाई केही कारणवश बुझाउन सकिएन। यो ज्ञापन दार्जीलिङका विधायक नीरज जिम्बाको सहयोगमा राज्य सरकारकहाँ पठाउने कार्यक्रम तयार पारिएको छ अनि जिल्लापाललाई पनि यसबारे आगामी सोमबार भेट्ने कार्यक्रम बनाएका छौं।’’

अर्कोतिर दार्जीलिङ पहाड़का गाड़ी चालक वा मालिकहरूले सरकारसित उचित कुराकानी नभएसम्म ट्याक्स नतिरिदिने पनि उनले गाड़ी मालिकहरूसमक्ष आह्वान गरेका छन्।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here