वीरविक्रम गुरुङः मूलधारमा नआएका सशक्त साहित्यकार

0
2120

-शरद प्रधान

नेपाली साहित्यको इतिहासलाई विभिन्न कालखण्डमा वरिष्ठ समालोचकहरूका आफ्नै तरिकाले विभाजन गरेका पाउँछौँ। साहित्यकार, समालोचक र अन्वेषकहरूले आफ्नै तरिकाले काल विभाजन गरे पनि अहिलेसम्म निश्चित रूपले कुनै एक विभाजनलाई मानक मान्न सकिरहेको अवस्था छैन। यो कालखण्ड नेपालभित्र सृजना भएको नेपाली साहित्यलाई मात्रै लागू भएको पाउँछौँ। अझै नेपालबाहिरको नेपाली साहित्यलाई पनि नेपाली साहित्यको इतिहासमा जोड्ने हो भने यो अझै जटिल र कठिन हुनजान्छ।

भारतमा नेपाली भाषालाई मानकीकरण गर्ने प्रयास अङ्ग्रेजहरूले १९औँ शताब्दीको शुरुदेखि नै गरेका प्रमाणहरू भेटाउँछौँ, जो नेपालभित्रको प्रयासभन्दा निकै पहिले भएको पाउछौँ। आदिकवि भानुभक्त आचार्य चार वर्षको हुँदा जे.ए. एटनले ‘ए ग्रामर अफ द नेप्लिस ल्याङवेज’ सन् १८२० मा कलकत्ताबाट प्रकाशित गरिसकेका थिए। यो देवनागरीमा नभएर रोमन लिपिमा लेखिएको व्याकरण थियो, जो फौजमा भर्ती हुने सिपाहीसँग संवाद गर्न सजिलो होस् भनेर तयार पारेको थियो।

नेपाली व्याकरण लेखन परम्परामा टर्नबुल साहेबको योगदान निकै महत्त्वपूर्ण मानिन्छ। उनले ‘नेपाली ग्रामर एण्ड इंग्लिस नेपाली, नेपाली इंग्लिस भोकाबुलरी (सन् १८८७), गोर्खाली एण्ड पर्वते ग्रामर एण्ड भोकाबुलरी (सन् १९०४) र नेपाली ग्रामर एण्ड भोकाबुलरी ( सन् १९२३) गरी तीनवटा कृति लेखेको पाइन्छ। नेपाली भाषामै केन्द्रित भई व्याकरण लेख्ने विदेशी विद्वानहरूमा एटन पछिका टर्नबुल नै हुन्। आर किल्गोरको ‘इंग्लिस-नेपाली शब्दकोश’ (सन् १९२२) र  लिलि टरनरको ‘नेपाली-अङ्ग्रेजी शब्दकोश’ (सन् १९३१)-ले पनि नेपाली भाषालाई व्यावहारिक बनाउन ठूलो मद्दत गरे। यो शब्दकोश दार्जीलिङमा बसेर लेखे पनि त्यस बखत काठमाडौँमा प्रचलित नेपाली भाषालाई मानक मानेर तयार पारेको कुरा टर्नर साहेबको सहयोगी धरणीधर कोइराला आफ्नो आत्मकथामा लेखेका छन्।

नेपाली व्याकरणको छोटो इतिहास शीर्षक लेखमा डा. पारसमणि प्रधान लेख्नछन्,- नेपाली भाषामा विश्वविद्यालयको परीक्षा दिनलाई नेपाली व्याकरणको आवश्यकता पऱ्यो। विश्वमणि आ. दी. सन् १९११ -मा एउटा यस्तो व्याकरण हतपत्तमा लेखे र सन् १९१३ मा प्रकाशित पनि गरे। यो व्याकरणको नाउँ थियो “ गोरखा व्याकरण बोध”। सन् १९२० मा हरि प्रिन्टिङ वर्क्स खरसाङबाट प्रकाशित उनको नेपाली व्याकरण विशेषगरी अङ्ग्रेजी व्याकरण र भाषा-भाष्करको ढाँचामा र हेमराज पाण्डेयको चन्द्रिका व्याकरणको आधारमा लेखिएको थियो। यही सिलसिलामा गङ्गाप्रसाद प्रधान, धरणीधर कोइराला, सूर्यविक्रम ज्ञावाली आदिले नेपाली भाषालाई सुदृढ़ीकरण गरी साहित्य सेवा गरे। सुधपाको अथक प्रयासमा नेपालबाहिर दार्जीलिङ र वरिपरिका ठाउँहरूमा नेपाली साहित्य उत्थानमा ठूलो टेवा पुग्यो।

पारसमणि प्रधानद्वारा सम्पादित ‘चन्द्रिका’-( सन् १९१८)-ले कविता र निबन्ध लेखनमा नयाँपन ल्याए पनि  कथामा भने रूपनारायण सिंहको देहरादुनबाट प्रकाशित हुने तथा ठाकुर चन्दन सिंहद्वारा सम्पादित ‘गोर्खा संसार’-मा सन् १९२९-मा प्रकाशित ‘परिवर्तन’‘अन्नापूर्ण’ कथाबाट नै आधुनिक नेपाली कथाको थालनी दार्जीलिङमा भयो भन्दा अतिशयोक्ति नहोला।

सन् १९३६-मा रूपनारायण सिंहको ‘भ्रमर’ र सन् १९३८-मा नेपाली साहित्य सम्मेलन, दार्जीलिङबाट प्रकाशित ‘कथा कुसुम’-ले (यसमा नेपालबाहिरका एकैजनाको पनि कथा परेको छैन)-ले नेपालबाहिरको आख्यानमा नयाँपन दियो। त्यही समय उदय भएका इन्द्र सुन्दास, शिवकुमार राई, लैनसिंह बाङ्गदेलले  दार्जीलिङको मात्रै होइन, सम्पूर्ण नेपाली साहित्यको पुरै नक्सा फेरिदिए। सन् चालिसको दशकमा यी सक्रिय लेखकहरू हुँदा खोजी, प्रभात, परिवर्तन, गोर्खा, वनारसबाट उदय, युगवाणी, काठमाडौँका शारदा, साहित्य स्रोत आदि पत्रिकाले नेपाली आख्यानलाई नौलो दिशा र मार्गदर्शन गरे। तीस र चालीसको दशकमा नेपालभित्र र बाहिर उत्कृष्ट कथाकारहरू पर्दापण भए, जसमाथि उल्लिखित कथाकारहरू बाहेक पुष्कर शमशेर ज.ब. राणा, गुरुप्रसाद मैनाली, लक्ष्मीप्रसाद देवकोटा, बालकृष्ण सम, विश्वेश्वरप्रसाद कोइराला, परशुराम रोका, हृदयचन्द्रसिंह प्रधान, अच्छा राई ‘रसिक’ प्रमुख हुन्।

सन् पचासको दशकमा दार्जीलिङको नेपाली साहित्यको आख्यान विधामा नयाँ लहर देखापर्छ। गोर्खा, उदय, साथी,भारती, हाम्रो कथा, प्रभात जस्ता स्तरीय पत्रिकाहरूले नवीन हस्ताक्षरहरूलाई पनि स्थान दिन थालेका देख्छौँ। यही समयमा गनुसिंह गुरुङ, जयनारायण गिरी, जी. छिरिङ, गाब्रियल राणा, देवकुमारी सिंह, चन्द्रदास राई, एम. एम. गुरुङ, रवीन्द्र मोक्तान, कृष्णसिंह मोक्तान, अगमसिंह गिरी, वीरविक्रम गुरुङ, बल देवान, प्रकाश कोविद, नरबहादुर दाहाल, राधिका राया, जगत छेत्री आदि कथा लेखनमा प्रवेश गर्छन्, आफ्नो छुट्टै पहिचान लिएर। यही समयमा देखापरेका सशक्त कथाकार हुन् वीरविक्रम गुरुङ।

सन् १९४९-मा ‘गोर्खा’-मा प्रकाशित ‘वृद्ध भरिया’ कथाबाट साहित्यमा प्रवेश गर्नु भएका वीरविक्रम गुरुङ अर्को कथा  ‘नमस्कार’ प्रकाशित गर्छन्। हालसालै भारतीय साहित्य अकादमीले वीरविक्रम गुरुङ नामक पुस्तक निकालेको छ  जीवन लावरको लेखनमा। जीवनी लेख्नमा पोख्त जीवन लावरसँग चार दशकभन्दा लामो यस विधाको अनुभव छ। उक्त पुस्तकमा जीवन लावर लेख्छन्, ”आफ्नो कथा लेखनबारे वीरविक्रम गुरुङले एक भेटमा मलाई भन्नुभएथ्यो-“मेरो सर्वप्रथम ‘गोर्खा’-मा प्रकाशित ‘वृद्ध भरिया’ कथापछि दोस्रो कथा हो-‘नमस्कार’। यो कथा कमल कुमार शर्मा, रामचन्द्र तामाङ एवं नन्दध्वज राईद्वारा सम्पादित मासिक पत्रिका ‘हाम्रो कथा’-मा छापिएथ्यो। सिकारू अवस्थामा लेखिएका यी दुवै कथामा ‘वृद्धभरिया’ केही महत्त्वको लाग्छ, किनकि यथार्थवादी हुनाका साथै करुणात्मक छ। त्यससमय यसलाई पढ़ेर द्रवित पाठकहरूबाट मैले यस्तै प्रतिक्रिया पाएँ। ‘नमस्कार’ कथाको अन्त गराइले मेरा कलेजका साथीहरूलाई खुबै प्रभाव पारेछ। त्यसपछि भूलवश मेरो नाम बिना ‘ठेट नेपाली’ कथा प्रकाशित हुन्छ गोर्खामै। यसै कथामा हातेगाड़ीलाई मैले गोर्खाजीपको नामकरण गरिदिएको हो। कथाको टुङ्ग्याइ अच्छा राई ‘रसिक’-लाई सार्है धत् परेछ तर कथाकारको नाम नदेख्दा तुरुन्तै उनले कथाको सराहना गर्दै सम्पादकलाई पत्र पठाइ हाल्छन्-‘गोर्खा’-मा। उल्लेखित यी तीनै कथा तर मेरो सिकारू कलमको प्रयास सिवाय विशेष महत्त्वका थिएनन्। नेपाली, भारतीय एवं पाश्चात्य साहित्यका महान् कथाहरूका अमर कथाहरू मनन गर्दै गए, कथा साहित्यकलालाई गौर रूपमा बुझ्दै गएँ। सन् १९५०-को दशकभित्र लेखिएका मेरा कथाहरूमा विशेष उल्लिखित छन्-टाइपिष्ट (गोर्खा), मनोग्राम (जनदूत) बुढ़ाथोकी (जनदूत), कुखुराको भाले (पूर्णिमा) ‘९५साल (पूर्णिमा), “एकलो’ (अञ्जलि) एवं ढुङ्गेकोठी (अञ्जलि)। आफू टाइपिस्टर, टाइप पड़्काएर मिशिनसितको द्वन्द्वमा साँच्चै नशा-नशाको रगत सुकेको स्वानुभव टाइपिस्ट कथाको मसौदा। युथ फेडरेशन दार्जीलिङद्वारा सञ्चालित साहित्यगोष्ठी प्रतियोगितामा पुरस्कृत भएथ्यो-यही कथा। आफ्नी आमा पोथीमाथि गमन गर्ने भालेको पशुवत दृश्यमा कुखुराले भाले। रातको शून्यतामा कोइला गोदामको झराप अघिल्तिर पोखिएका एउटा, दुइटा कोइलाहरू झोलामा हाल्दै गरेका बालकको दयनीय अवस्था एक्लो अनि शहरे बदमास युवकहरूद्वारा यथार्थवादी कथा अञ्जलिमा प्रकाशित गर्नसक्ने आँटी सम्पादक अग्निराज श्रेष्ठको म आभारी छु । १९५०-को पूर्वार्द्धमा नेपालबाट ईश्वर बल्लभ यहाँ आइपुग्छन्। तिलविक्रम नेम्बाङ (बैरागी काँइला), गणेश प्रसाद प्रसाईसित ‘सी’ बिल्डिङमा बसेका उनी। बेला-बेला रात रातभर साहित्यिक चर्चा हुन्थ्यो हामीमाझ। विषय विविध विधामा नयाँ प्रयोग ल्याउने कसरी? १९५८ साल जिल्ला परिषदमा टाइपिस्ट छु। नरा गुरुङद्वारा सम्पादित ‘पूर्णिमा’ मासिक पत्रिका निकाल्छौँ। साथीहरू थिए टी.बी. देवान, शेरबहादुर राई, बी.आर राई, जी. गुरुङ र म। ‘पूर्णिमा’ प्रथम अङ्कमा रामकृष्ण शर्माको वीरगतिको धोको’, अगमसिंह गिरीको ‘मोहब्बत गल्ली’ सँग-सँगै मेरो कथा ‘कुखुराको भाले’ निस्कन्छ। दुर्भाग्य हाम्रो शुल्क पक्षको ६ महिनाभरि उदाएर कृष्णपक्षमा अस्त हुन्छिन्-पूर्णिमा। नेपाली साहित्य सम्मेलनद्वारा प्रकाशित ‘दियालो’-मा छापिन्छ मेरो मनोविश्लेषणात्मक कथा ‘मैतुबाबु’। पाठकको पत्रमा प्रसिद्ध उपन्यासकार असीत राईको प्रतिक्रियाले मैतुबाबु काँटका अरू कथाहरू लेख्ने हौसला बढ्दै जान्छ। इन्द्रबहादुर राई दाज्युलाई ‘जिटिङ्गरे’-का रामचरण एवं हृदयनाथबिच तुलनात्मक चरित्रचित्रण दर्शाउँदा त्यसमा उहाँको दिलचस्पी देखेर प्रायः तुरिनै लागेको यो कथा पूरा गरेर एकदिन अनि म दाज्यूको घर तुडसुङ पुग्छु। भाउज्यूले बनाउनु भएको स्वादिष्ट खीरको स्वादमा म दाज्यूलाई ‘जोडटिङ्गरे’ कथाको खेस्रा सुनाउँछु। उहाँले यो कथा ‘दियालो’-को आगामी अङ्कमा छापिनैपर्छ भन्नुहुन्छ अनि छापिन्छ पनि।“

मझौला कद, मोटो चस्मा, गोर्खे उँचाइ, गँहु गोरो वर्णको मान्छे, अनुहारमा अलिक दाग लागेको देख्छु विद्यालयमा। त्यस बखत म भर्खरै सन्त रोबर्ट्स विद्यालय भर्ना भएको  थिएँ। विस्तारै मैले चिन्दै गएँ, उनी वीरविक्रम गुरुड सर रहेछ, त्यही कदका अरू दुईजनालाई पनि चिन्ने मौका पाए –उनीहरू थिए जगत छेत्री र मनबहादुर मुखिया (अनि देवराली रुन्छ नाटकका लेखक र निर्देशक)। तर सरले लिएको कक्षा भने कक्षा ८ -देखि मात्र लिने सौभाग्य पाएँ। नौ कक्षामा त उनको ‘टाइपिष्ट’ कथा पाठ्यक्रममा नै थियो। कति गर्व लाग्थ्यो आफ्ना शिक्षकले लेखेको कथा पाठ्यक्रममा पाउँदा। यसले मलाई पनि लेख्न प्रेरित गऱ्यो। उनी जातैले पाएको सोझोपनको एक मात्र हकदार जस्तो लाग्थ्यो, मधुरभाषी, एकान्तप्रेमी तर कहिलेकाहीँ लाटा रिस विद्याथीहरूप्रति प्रदर्शित गर्थे।  वीरविक्रम सर विद्यालयको विभिन्न कार्यक्रममा निकै सक्रिय देखिन्थे चाहे नाटक होस् वा गीत। विद्यालयले निकालेको ‘फिलिड्गो’ गीति क्यासेटमा सरले लेख्नु भएको ‘जीवन सपना हो’-लाई दीपक छेत्रीको स्वरमा चन्द्र किरण छेत्रीले सङ्गीत दिएका छन्। कविता कमै लेखे सरले। टीकाराम शर्माद्वारा सम्पादित ‘गोर्खा’-को वर्ष ५, किरण ८ (सन् १९४८)-मा ‘कटिबद्ध हौ’ कविता लेखेर साहित्याकाशमा आए तर कविता लेखन सरको प्राथमिकतामा परेन। अगमसिंह गिरीसँगको सङ्गत र हौसला पाए पनि सर कथा लेखनमा नै तल्लिन भए। विद्यालयमा हुने वार्षिक कार्यक्रममा नाटक लेख्न सधैँ तम्सिने सर।

वीरविक्रम गुरुड सर सन्त रोबर्ट्स विद्यालय प्रवेश गर्न ५ वर्ष अगाड़ि गोर्खा दुःख निवारक सम्मेलनको रजत जयन्तीका लागि सन् १९५७-मा ‘ज्वारभाटा’ नाटक लेखे, जसको निर्देशन गरेका थिए हरिमदन गुरुङले (त्यस बेला लेबुङ छेउ बस्नु हुन्थ्यो र पछि आकाशवाणी दिल्लीमा कार्यरत भए उद्धोषकको रूपमा)। दलसिंह गहतराजको सङ्गीतमा अगमसिंह गिरीको शब्दमा शान्ति ठटाल र नवीन बरदेवाले पाश्वगीत गाएका थिए। नाटक निकै चल्यो त्यस बखत। त्यसपछि गोर्खा दुःख निवारक सम्मेलनमा सन् १९५९ सरले लेख्नु भएको ‘जीव परिदर्शन’ नाटक मञ्चन भयो हरिमदन गुरुडको निर्देशनमा। वीरविक्रम सर सन् १९६२-मा सन्त रोबर्ट्स विद्यालयमा शिक्षकको रूपमा प्रवेश गरेकै वर्ष विद्यालयको कार्यक्रममा रवीन्द्रनाथ ठाकुरलिखित सूर्यविक्रम ज्ञवालीद्वारा अनूदित नाटक ‘डाकघर’-को निर्देशनमा मञ्चन हुन्छ। सरले विद्यालयमा नै रूपनारायण सिंहको ‘आमा’ कथालाई नाटकीकरण गरी शरण प्रधानको सङ्गीतमा मञ्चन गरेका थिए। सन् १९८२-मा सिद्धिचरण श्रेष्ठको खण्डकाव्य ‘उर्वसी’-लाई सरले नाटकमा रूपान्तर गरी सन्त रोबर्ट्स विद्यालयमा मञ्चन गरेका थिए।

सन् साठीको दशकको शुरुमा इन्द्रबहादुर राई, ईश्वर बल्लभ र वैरागी काइँलाले साहित्यमा सम्पूर्णताको आवश्यकता देखेर तेस्रो आयामको नयाँ वैचारिक आन्दोलन थालनी गरे। यसले नेपाली साहित्यमा (विशेष गरी दार्जीलिङको) उथलपुथल ल्यायो। मन र मुटुभन्दा पनि मस्तिष्कलाई प्राथमिकतामा राखेर लेखिएको त्यो साहित्यले धेरैलाई आफूले लेखेको साहित्यको मूल्याङ्कन गर्न बाध्य गराए। त्यसले अरू धेरै लेखक र कविजस्तै अगमसिंह गिरी र वीरविक्रम गुरुङमा पनि केही समय शिथिलता ल्याउनु स्वभाविक थियो।

सन् १९६९-मा वीरविक्रम सरले बाह्रवटा कथाहरूका सङ्ग्रह ‘अमर-क्षण’ प्रकाशित हुन्छ भानुभक्त कुमाईंको व्यक्तिगत लगानीमा। वीरविक्रम सरको सम्पादनमा तीन तीयाँ तीन’ (संयुक्त कथासङ्ग्रह) सन् १९७०-मा देखापर्छ, जसमा ग्राबियल राणा, बल देवान र जगत छेत्रीका तीन-तीनवटा कथा परेका थिए। तर त्यस सङ्ग्रहमा वीरविक्रम सरका पनि तीनवटा कथा परेको देखेर धेरैले उदेक मानेका थिए।

वीरविक्रम गुरुङका कथाहरूले दार्जीलिङको कथालेखनमा देखिएको दोस्रो चरणलाई प्रतिनिधित्व गर्छन्। त्यस बेलाका कथाहरू सरल र सरस भए पनि उपदेशमूलक थिएन पहिलो पिँढ़ीको जस्तो। इन्द्रबहादुर राई बाहेक अरूका लेखनशैली प्रायः एकैनासको देखिन्छ तर विषय वस्तु र कथाको प्रवृत्ति निकै फरक। यसै सन्दर्भमा वीरविक्रम सरको कथा प्रवृत्तिको विवेचना गर्नु जरुरी छ। सरका कथाहरु निम्न तथा मध्यमवर्गीय दार्जीलिङवासीको जीवनशैली, व्यथा, दिन प्रतिदिन भोग्न परेका समस्याहरू प्रशस्त पाउँछौँ। सरले विद्यालयमा स्थायी रूपमा जागीर खानु अगाड़ि अरू कार्यालयहरूमा पनि काम गरेको अनुभव उनका कथाहरूमा समाहित भएका पाउँछौँ। प्रसिद्ध कथा ‘टाइपिष्ट’, ‘मैतुबाबु’ आदि यसका ज्वलन्त उदाहरण हुन्। यौन मनोविज्ञानमा आधारित ‘कुखुराको भाले’ निकै मार्मिक छ।

सर चाँदबारीमा बस्नु हुन्थ्यो र त्यसको ठ्याकै अगाड़ि सूर्यकला थापा (तत्कालीन बी.टी. कलेजकी प्राचार्य) -को घर थियो। सूर्यकला थापा ‘दियालो’-को सम्पादक हुँदा सरलाई  जोड़ गरेर एउटा कथा मागेपछि सरले लेख्छन् मास्टरपिस कथा ‘तिम्रा बासित पैसा छैन’। यो कथा ‘दियालो’-को हाँगो ८७, वर्ष १८, अक्टोबर १९७८ छापिन्छ अनि सन् १९८२-मा १६८औँ भानु जयन्तीको अवसर पारी दियालो स्वर्ण पदक प्रदान गरिन्छ। यो कथा अङ्ग्रेजीमा पनि अनुवाद भएको छ। यो कथामा वर्णन तितो सत्य धेरैले जीवनमा भोगेका हुनपर्छ। सरको भाषामा प्रयोग गरेका विम्ब र प्रतीकहरू आफ्नै प्रकारका छन्, निजात्मक छन्। यो कथाको छोटो समीक्षा गर्दै प्रेम प्रधान ‘दियालो-मा पुरस्कृत कथाहरूः एक अवलोकन-मा लेख्छन्, ”यस कथामा एउटा गरीब नेपालीले भोगेको वास्तविक स्थिति छ। सामाजिक वस्तु यथार्थबाट मानव मनका मर्मभूमितर्फ प्रवेश गर्दै लेखकले निम्नवर्गीय दार्जीलिङे नेपाली जनजीवनको यथार्थ चित्र उतारेका छन्। सानो घटनाबाट शुरू भएको कथाका कथाशिल्प र भाषाशैली सुन्दर ढङ्गमा प्रस्तुत भएको छ। दार्जीलिङे मध्यवर्गीय परिवारका प्रायःजस्ता पुरुषहरू मद-मदिरामा लिप्त भएकाले कथावस्तु पनि त्यसैमा केन्द्रित भएको छ। लेखाइमा सरलपन, सजीव वस्तु विन्यास, चरित्र र घटनाको स्वाभाविकतापूर्ण चित्रण परिपाटी तिनको कथागत वैशिष्ट्य हुन्।“

गुमानसिंह चामलिङ्गद्वारा सम्पादित ‘साहित्य-सङ्ग’ (वर्ष १, अङ्क १, आषाढ़ २०१६)-मा प्रकाशित ‘जीवन-यात्रा’ उनको उत्कृष्ट कथाहरूमध्येमा एक हो। सेवानिवृत्त भएपछि हुने आर्थिक सङ्कट र लोकाचारका लागि गरिने खोक्रो विदाईको कार्यक्रममा नमिठो तरिकाले व्यङ्ग गरेका छन्। कथामा उनी लेख्छन्, ”सभा-भवनको बीचमा सेतो तूलले ढाकिएको टेबूलमाथि जिरिरिरि प्याला-पिरिजहरू सजाएका थिए अनि ठाउँ ठाउँमा मिठाई खानेलाई मिठाई, केक खानेलाई केकहरूको राश थियो। थापा बाबुलाई माल्यदानको साथ उपहार चढ़ाइयो। यसपछि दफ्तरको टाउके उठेर बोल्यो, “थापा बाबु एक योग्य कारिन्दा हुनुहुन्थ्यो। सधैँ उहाँले तन-मनसँग काम गर्नुभयो। कुनै दिन काम बिग्रँदा आवेशमा मैले उहाँको मन दुखाइदिएँ हुँला। त्यसको माफी चाहन्छु” इत्यादि। विदाको बेलामा अफिसरले लोकाचार पारे जस्तो मात्र थापा बाबुलाई लाग्यो। कुनै दिन अफिसरको कड़ा वचनले पारेको हृदयको चोट फेरि आलो भयो र चसक्क उसको हृदय दुख्यो। जम्मै बाबुहरूका प्रतिनिधित्व गर्दै थापा बाबुभन्दा उमेरमा केही कान्छो रणधोज बाबुले बोल्यो। रणधोज बाबुको भाषणमा जन्मै बाबुहरूको हृदय बोलेको जस्तो थापा बाबुलाई लाग्यो। भाषणादि पछि सबैले खान शुरू गरे। केकको टुकड़ा मुखमा क्वाप्प हालेर चिया सुरुप्प पिउँदै चपाइरहेको थापा बाबुको दृष्टि भने भित्तामा टाँगिइएका तस्वीरहरूमध्ये त्यो नक्सामा गाडिएको थियो जो पैंतीस वर्ष अघि लिइएको थियो। भित्ताको नक्सामा पच्चीस वर्षको जवान थापा बाबुले आफ्नै बूढ़ापालाई अघिल्तिर देखेर खिजाइरहेको जस्तो भान उसलाई पऱ्यो।“

मानिसको साधारण जीवनको कुनै क्षणलाई टपक्क टिपेर आफ्नै शैलीमा लेख्नु वीरविक्रम सरको विशेषता हो। दार्जीलिङको नेपाली साहित्यमा देखापरेको दोस्रो चरणको महत्त्वपूर्ण कथाकार हुन्, वीरविक्रम सर तर धेरैजसो समालोचकहरूले अवमूल्यन गरेको छ उनको योदानलाई। देवकुमारी सिंह, इन्द्रबहादुर राई, जी. छिरिङ, शिवकुमार राई, इन्द्र सुन्दासको हारहारीमा लेखे पनि उनका कृतिहरूमाथि त्यति धेरै बहस र विवेचना नहुनु नेपाली साहित्यको दुर्भाग्य हो। एउटा युगको मुख्य प्रतिनिधि पात्र पनि कालान्तरमा उपेक्षित हुनु आफैमा विडम्बना हो। वीरविक्रम सरको सन् १९९५-मा ६८ वर्षको उमेरमा निधनपछि ‘दियालो’ पत्रिकाको (सन् १९९६) वीरविक्रम गुरुङ स्मृति विशेषाङ्कमा साहित्यकार शरद छेत्री लेख्छन्,” यसप्रकारको हाँक दिनोदिन प्रबल भइरहेको समाज हाम्रो छ, जहाँ लेखक-कविलाई मर्यादा दिनु त के, सानो ठाउँसमेत राख्न नचाहने हुनाले यहाँ लेखन धर्म लिएर बाँच्न खूबै कठिन छ। तरै पनि यस्ता अनेकौँ कठिनताहरूको कुनै वास्ता नराखी अविराम इमान्दारपूर्वक लेखनधर्ममा लाग्ने स्रष्टाहरूमा श्री वीरविक्रम गुरुङ्ग पनि एक कर्मठ व्यक्तित्वका हुन् भन्ने विश्वास नेपाली साहित्यलाई माया गर्ने सपूतहरुमाझ रहेको सत्य स्विकार्नैपर्छ। आफ्ना समकालीन मित्रहरू अच्छा राई ‘रसिक’, अगमसिंह गिरी, जी० छिरिङ्ग, टीकाराम शर्मा आदिबाट प्रेरित भएर सन् १९४८ देखि नै साहित्यिक धर्ममा समर्पित बन्ने कथाशिल्पी श्री वीरविक्रम गुरुङ्गबाट कैयौं उत्कृष्ट कथाहरु लेखिएका छन्। ती कथाहरुमा हाम्रै समाजका विविध पक्षहरु नै खूबै कौशलतापूर्वक टिपिएका पाइन्छन्। ससाना घटनालाई पनि राम्ररी केलाएर त्यसमा थिरोचकता छर्नमा प्रवीण हुनाले तिनको शिल्पकारिता पाठकमा प्रिय थियो। तरै पनि छक्क पर्दो कुरो, हामीले सधैँ हामीमाझको प्रतिभालाई अवहेलना गरेका छौँ, निर्धक्क सम्मान गर्ने मौलिक साहस नहुनाले सधैँ अरूहरूको सन्दर्भ आयात गर्ने परतन्त्र पोस्वीका छौँ । हामी अन्धकार सहेर बसेका हुन्छौँ, तर नजिकैको उन्नत जातिले भन्दै हुन्छन्, ‘स्रष्टाहरू जातिका गौरव हुन्, जसका रचनाहरूबाट उत्पन्न उज्ज्वलताले कुनैपनि जातिको सभ्यता, संस्कृति र गरिमा प्रकाशित हुन्छन्, अर्थात् स्रष्टाहरूको कारण नै समाज र जातिको मान बढ़ेको हुन्छ।“

मनोग्राम वीरविक्रम सरको राम्रा कथाहरूका वर्गमा पर्छ। यो कथा भारत सरकारको आई.सि.ए.सी बोर्डको माध्यमिक स्तरको पाठ्यक्रममा पनि समावेश गरेको थियो।

सन् १९८१-मा आफ्नै सहकर्मी शिक्षक जगत छेत्रीसँग  वीरविक्रम गुरुङ सरको संयुक्त  कथा सङ्ग्रह ‘कथा सङ्गम’ प्रकाशित हुन्छ।

साहित्यमा निकै चासो दिने भएकोले म सरको निकै प्रिय विद्यार्थी थिए, लेखेको कुरा सरलाई देखाउँथेँ। विद्यालयबाट उत्तीर्ण भएको कैयन वर्षपछि सरलाई भेट्न उनको निवासमा जाँदा मलाई ‘प्यारो भूतपर्व छात्र शरद प्रधानमा’ लेखेर सरले लेख्नु भएको तथा वैशालु प्रकाशनले प्रकाशित गरेको ‘गोर्खा लीगदेखि गोर्खाल्याण्डसम्म’ पुस्तक भेट गर्नुभयो। उक्त पुस्तकमा सरले गोर्खाहरूले भारतमा बसोबास गरेको इतिहासदेखि स्वअस्तित्वको लडाइँका लागि गठित गोर्खा लीगको नालीबेली लेखेका छन्।  कथा लेख्न पोख्त सरका लागि यो अनुसन्धानात्मक लेख लेख्नु चुनौतीपूर्ण थियो। तर, कुनै समय सर आफै पनि गोर्खा लीगका कार्यकर्ता भएको, भाषा आन्दोलनमा सक्रिय भएकोले तथ्यात्मक लेख लेख्न सहज भएको अनुभूत हुन्छ। सरको लेखाइ पूर्ण रूपले अनुसन्धानत्मक भए तापनि भाषामा लचकता पाउछौँ, कथामा जस्तै प्रतीक र विम्ब पाउँछौँ। भाषा आन्दोलनबारे सर लेख्नछन्, ”भानुपुत्रहरूको भाषामाथि रवीन्द्रपुत्रहरूको अतिक्रमण विरोधार्थ ३१ मार्च १९६१ को दिन २ बजी जनसभामा गोर्खा दुःख निवारक सम्मेलन भवन श्रोतावर्गले अटाइ-नअटाइ छ। अबेर गरेर आउनेहरू भवन अघिल्तिर मैदानमा उत्तिकै थुप्रो लागेका छन्। स्व० गणेशलाल सुब्बाको सभापतित्वको आरम्भ सभामा इन्द्रबहादुर राईलगायत धेरै वक्ताहरू बोल्नुहुन्छ। स्व० नरबहादुर गुरुङ्ग पनि निमन्त्रित हुनुहुन्थ्यो, जसले १९५७ को चुनाउ जिती काँग्रेसले प्रदान गरेको उपमन्त्रीपद ग्रहण गरी गोर्खा लीग त्याग्नु हुँदा गोर्खालिगीहरू उहाँसित रूष्ट थिए। यसर्थ जब उहाँ बोल्न मञ्चमा खड़ा हुनुभयो, लीगभक्त मनबहादुर गुरुङ्गले विरोध जनाउनु हुँदा अरूले पनि त्यसै गरे। नरबहादुर गुरुङ्गले विनम्रतापूर्वक दुई हात जोर्दै सभा-भवन त्याग गर्नुहुन्छ। जे होस् सभा सफलतापूर्वक सञ्चालन भइदिँदा ‘जिल्ला भाषा मान्यता कमिटि’ गठन हुन्छ, जसमा पदाधिकारीहरू थिए:-सभापति गणेशलाल सुब्बा, सचिव इन्द्रबहादुर राई, चन्द्रकान्त घिसिङ्ग (गोर्खालीग), स्व. बलबहादुर छेत्री (काँग्रेस), आनन्द प्रसाद पाठक (कम्युनिष्ट), स्व. तारक कुमार कार्की (पी० एस० पी०), तिलविक्रम नेम्बाङ्ग उर्फ बैरागी काइँला (विद्यार्थी), प्रेम थापा, अमीर लामा, स्व. अमगसिंह गिरी, स्व. भानुभक्त कुमाईं, पेमा छिरिङ्ग लामा, महानन्द सुब्बा, स्व. गोकुलसिंह गजमेर, मदन कुमार थापा, स्व. आर० टी० अली, श्रीमती लक्ष्मी लोहार, गुमानसिङ्ग चामलिङ्ग, स्व. लाक्पा छिरिङ्ग सेर्पा एवं टी. गुरुङ्ग। “

वीरविक्रम सरले निबन्ध लेखनमा पनि कलम चलाएका पाउँछौँ। लक्ष्मीप्रसाद देवकोटा र हृदयचन्द्रसिंह प्रधानबाट प्रभावित भएर निबन्ध लेखेको सरले नै जीवन लावर दाजुलाई जानकारी गराएको उल्लेख छ। अच्छा राई ‘रसिक’-को निधनपछि ‘गोर्खा’-मा सन् १९५६ -मा प्रकाशित निबन्ध होस् या ‘धुँवा’ (सन् १९८३)-मा इन्द्र सुन्दासको ‘गाडीमान’-माथिको निबन्धात्मक समीक्षा होस्, वीरविक्रम सरको लेखाइको उत्कृष्टता झल्किन्छ सबैमा। सरका निबन्धहरूमा रसिक, अगमसिंह गिरी, जगत छेत्री, हर्कबहादुर कुमाईं, नरेन्द्रप्रसाद कुमाईं आदिका जीवनी र कृतिहरूको विवेचना गरेका पाउछौँ। ‘दियालो’-को  वर्ष ३८, हाँगो १२८ मा प्रकाशित सरको ‘जीवन गीतः एक समीक्षा’ निकै गहकिला लेख छ। तर सरका निबन्धहरू सङ्ग्रहको रूपमा भने निस्कन सकेको छैन। नयाँ पुस्ताले वीरविक्रम सर जस्तै विस्मृतिमा परेका स्रष्टाका लेखहरू, कथाहरू, नाटकहरू खोजेर प्रकाशित गर्ने छ भन्ने विश्वास राख्नु मुनासिब होला। र उनका सृजनाहरूका यथेष्ट समालोचना हुनेमा म निकै आशावादी छु।

नेपाली साहित्य सम्मेलन दार्जीलिङले नेपाली साहित्य सम्मेलन पत्रिका बन्द भएको लामो अन्तरालपछि वि.स. २०१६-मा ‘दियालो’ पत्रिका शुरु गऱ्यो। त्यही पत्रिकाको हाँगा १ देखि २१ सम्म इन्द्रबहादुर राई, गणेशलाल सुब्बा, भानुभक्त कुमाईं, देवकुमारी सिंह र तुलसीबहादुर छेत्रीको सम्पादक मण्डलमा एक सदस्यको रूपमा सम्पादकका भूमिका निभाए  वीरविक्रम सरले। वीरविक्रम सरले नेपाली साहित्यलाई दिएको योगदानको भारत र नेपालको प्राज्ञिक थलोहरूमा पनि  चर्चा हुनु आवश्यक छ। महाविद्यालय र  विश्वविद्यालयमा पनि पाठ्यपुस्तक बाहेक यस्ता साहित्यकारहरू बारेमा समय समय गोष्ठी र विमर्श हुन जरुरी छ।

(यो लेखका लागि स्रोत पुस्तक उपलब्ध गराइदिनु भएकोमा दार्जीलिङनिवासी युवाकवि लुभिना (कृतिका) दाहालप्रति कृतज्ञता ज्ञापन गर्छु। जीवन लावरद्वारा लिखित वीरविक्रम गुरुङ पुस्तकको सहयोगबिना यो लेख अपूर्ण हुनेथियो। धन्यवाद दाजु जीवन लावर।)

(saradpradhan@gmail.com)

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here