–योगिता राई
भनेर साध्य छैन।
यादहरू हावा बनेर आइबस्छ।
प्रत्येक सासको आड लागेर
छातीभित्र भित्र
गश्ती लगाइबस्छ।
यस्तो पनि हुन्छ र?
एकाएक प्रश्न आफैलाई।
निरूत्तर…म।
तिमीले छोएदेखि नै हो म
म जस्तो नरहेको।
मलाई लाग्थ्यो,
यो याद त खासमा
तिमीले
मसँग हारिराखेको राज्य हो।
तर
यहाँ त प्रत्येक पाइला
तिम्रो जीत बौरी उठ्छ।
म यहाँ म जस्तो
भइदिए हुन्थ्यो भन्ने लाग्छ।
हार र जीतको बिच कुनै
एउटा ठाउँ छ।
यदि मान्छौ भने
यतिखेर म त्यहीँनेर उभेकी छु।
ठिक्क…. त्यहीँनेर।