गान्तोक, ४ जुलाईः लकडाउनलाई खुकुलो पार्दै सिक्किम सरकारले आइतबार ताजा आदेश जारी गरेको छ, जसमा अबउसो कोविड भ्याक्सिनका दुवै खोप लगाएको प्रमाण देखाएर कुनै पनि व्यक्ति होस् या पर्यटकलाई सिक्किम भित्रिन सक्ने अनुमति दिइएको छ।
यो नियम पर्सि अर्थात 6 जुलाईदेखि मात्र लागू हुनेछ।
भ्याक्सिनका दुवै डोज लगाइसकेकाले आरटीपीसीआरको नेगिटिभ रिपोर्ट देखाउन जरुरी छैन।
सिक्किम भित्रिन चाहनेहरूले दुईवटा भ्याक्सिनको डोज पूरा गरेको प्रमाण देखाएर मल्ली र रम्फू चेकपोस्टबाट प्रवेश गर्न सक्नेछन्।
यसैगरी सिक्किम सरकारका विभिन्न विभागीय कार्यालय र बोर्डहरूलगायत राज्य सरकार अधीनस्थ अन्य कार्यालयहरूमा कोविडका दुवै खोप लगाएका कर्मचारीहरूले सय प्रतिशत उपस्थितिका साथ काम गर्न सक्नेछन्।
अन्य कर्मचारीले भने वर्तमानकै पचास प्रतिशत उपस्थितिको नियमलाई अनुसरण गर्नुपर्नेछ।
सबै कारखाना र वाणिज्य एकाइमा दुवै चरणको खोप लगाइसकेका कर्मनचारीहरू छन् भने मात्र सय प्रतिशत उपस्थितिमा काम गर्न सकिने बताइएको छ भने अन्य एकाइहरूले भने 50 प्रतिशत कर्मचारीका साथ काम गर्नुपर्नेछ।
सबै होटल , रेस्टुराँ, होमस्टे, गेस्ट हाउसहरू पचास प्रतिशतको क्षमताका साथ सञ्चालन गर्न सकिनेछ। यद्यपि प्रबन्धन पक्षले भने कोविड नियमलाई कडाइका साथ पालन गरेको हुनुपर्नेछ।
शोरूम र मलहरूलाई पनि कोविड 19-को नियमअनुसार सञ्चालन गर्न सकिने अनुमति प्रदान गरिएको छ।
अबउसो दुईचक्के वाहनमा दुईजनाको सवारीलाई पनि अनुमति प्रदान गरिएको गृह विभागद्वारा जारी आदेशमा उल्लेख गरिएको छ।