गोर्खालाई विदेशी भनेको म पटक्क सहन्नँ : राजु विष्ट

0
1282

सिलगढी, ४ जुलाईः बङ्गाल विभाजनको विरोधको निहुँ गरी गोर्खालाई विदेशीको लाञ्छना लगाउने सङ्गठन र व्यक्तिविशेषहरूलाई तत्काल चिह्नित गरी पक्राउ गर्नुपर्ने तथा भारतीय दण्ड विधानअनुसार यी सङ्गठन र व्यक्तिविशेषहरूविरुद्ध कारबाही गर्नुपर्ने माग दार्जिलिङका सांसद राजु विष्टले गरेका छन्।

यति मात्र होइन, शहीद गोर्खा जवानहरूका पार्थिव शरीर भटाभट दार्जिलिङ घर ल्याइरहेको समयमा नै गोर्खाविरोधी नस्लवादी नाराबाजी गर्ने अतिवादी सङ्गठन र व्यक्तिहरूलाई ऱ्याली निकाल्ने अनुमति प्रशासनले कसरी दिइयो भन्ने प्रश्न पनि विष्टले गरेका छन्।

नवान्नको आशीर्वादमा नै यस्ता सङ्गठन र व्यक्तिविशेषहरूले ऱ्याली निकाल्न सम्भव नै नहुने सांसदको बुझाइ छ। साथै गोर्खा जातिलाई विदेशी भनेको आफूले पटक्कै सहन नगर्ने पनि आज एक प्रेस विज्ञप्ति जारी गरी राजु विष्टले बताएका छन्।

प्रेस विज्ञप्ति जस्ताको त्यस्तै-

बितेका तीन दिनदेखि, म मणिपुरको नोनेमा गएको पैह्रोमा परेका १०७ बटालियन टी.ए. (११ गोर्खा राइफल्स) का हाम्रा जवानहरूसँग छु र यस्तो आपदाको बेलामा उनीहरूलाई ढाढ़स दिनुका साथै हाम्रो सम्पूर्ण राष्ट्र उनीहरू र परिवारजनका साथमा छौँ भनी आश्वस्त गरिरहेको छु।

तर, आज केही यस्तो खबर देखें-सुनेँ, जसका कारण म मर्माहत बनेको छु। 

यो घटना २ जुलाई, २०२२ को हो, जसमा दक्षिण बङ्गालको फासीवादी सङ्गठनसित सम्बद्ध व्यक्तिहरूले उत्तर बङ्गाल, सिलगढी हाम्रै करेसोमा आएर गोर्खाहरूलाई विदेशी बताउने दुस्साहस गरेका छन्। तिनीहरूले गोर्खाल्यान्ड आन्दोलनतिर सङ्केत गर्दै भारत-नेपाल सीमा बन्द गर्ने हो भने छुट्टै राज्यको माग आफै हराउने छ भन्दै अप्रत्यक्ष रूपमा गोर्खालीहरूलाई विदेशी र गोर्खाल्यान्डको मागलाई विदेशीहरूद्वारा प्रेरित हो भनी दुष्प्रचार गरिरहेका छन्। 

मलाई साह्रै मन दुखेको कुरो के हो भने हाम्रो राष्ट्रको सेवामा आफ्नो ज्यानको बलिदान दिएका हाम्रा ११ वीर गोर्खाका पार्थिव शरीर बाघडुग्रा हवाई अड्डामार्फत उनीहरूको घर फर्काएर ल्याइँदै गरिएको बेलामा सिलगढ़ीका सड़कहरूमा गोर्खाविरोधी अति-नस्लवादी नाराहरू लगाइँदै थियो।

हो, लोकतन्त्रमा आफ्नो विचार साझा गर्ने अधिकार सबैलाई छ, अनि गोर्खाल्यान्ड वा छुट्टै राज्य उत्तर बङ्गालको मागसित कोही सहमत वा असहमत हुन सक्दछ, तर दार्जिलिङ लोकसभा निर्वाचन क्षेत्रबाट एक निर्वाचित जनप्रतिनिधिका रूपमा  मैले पटक्कै सहन सक्दिनँ कि कसैले देशका सबैभन्दा देशभक्त जाति गोर्खालाई ‘विदेशी’ भनोस्, चाहे त्यो तिनीहरूको अज्ञानताको कारणले नै किन नहोस्। हाम्रो उत्तर बङ्गाल क्षेत्रका इतिहास, भूगोल, अनि जातीय सम्बन्धहरूबारे जानकारी नै नभएको यी कुतत्त्वहरूले सौहार्दको वातावरण बिथोल्ने प्रयास गरेका छन् अनि हाम्रो क्षेत्रका जनतालाई गहिरो चोट पुऱ्याएका छन्।

म, पश्चिम बङ्गाल सरकार, र विशेषगरि जिल्ला प्रशासनबाट जान्न चाहन्छु, उनीहरूले यस्तो नस्लवादी सङ्गठनलाई हाम्रा वीर जवानहरूका पार्थिव शरीर घर फर्काएर ल्याइँदै गर्दा त्यस्तो ऱ्यालीको आयोजन गर्ने अनुमति कसरी दिए?

के पश्चिम बङ्गाल सरकारले गोर्खा सैनिकहरूको योगदानलाई क्षति पुऱ्याउनका लागि जानीबुझिकन यस्तो ऱ्याली गर्ने अनुमति दिएको हो? के यो  हाम्रो मातृभूमिको रक्षाका लागि आफ्नो आखिरी साससम्म लड्ने गोर्खा वीरहरूलाई अपमानित गर्न जानीबुझिकन गरिएको दुष्प्रयास हो? हाम्रा वीर गोर्खा जवानहरूका परिवारजनलाई कति दुःख लाग्यो होला, जब उनीहरूका प्रियजनका बलिदानलाई तुच्छ राजनीतिक लाभका लागि सत्तारूढ़ पार्टी र यसका समर्थकहरूले होच्याउने काम गरे।

मलाई जानकारी दिइएअनुसार यस आयोजनाका लागि कोलकाता र वरिपरिका क्षेत्रबाट नस्लवादी प्रदर्शनकारीहरूलाई ल्याउन रेल, अनि बसहरू बुक गरिएका थिए। यो ऱ्याली गर्नका लागि पैसा कसले दियो? हाम्रा जवानहरूका पार्थिव शरीरलाई घर फर्काएर ल्याइने दिनमा यो ऱ्याली गर्ने अनुमति यिनीहरूले कहाँबाट पाए? बिना कुनै डर नस्लवादी नाराहरू लगाउने साहस कहाँबाट जुटाए, र त्यसविरुद्ध अझसम्म कुनै कारबाही किन गरिएको छैन? यस नस्लवादी सङ्गठन र टीएमसी सरकारबिच के सम्बन्ध छ? किनकि यस्तो प्रकारको प्रदर्शन नवान्नको आशीर्वादबिना सम्भव हुन सक्दैनथ्यो।

म, राज्य प्रशासनलाई आगोसित नखेल्न, र यस्तो उकसाउने किसिमको अप्रत्यक्ष षड़यन्त्र बन्द गर्न अनुरोध गर्दछु, साथै यस्ता उक्साउने एजेन्टहरूको तत्काल पहिचान गरेर भारतीय दण्ड संहिताका उपयुक्त धाराहरूअन्तर्गत तुरुन्तै गिरफ्तार गर्ने माग पनि गर्दछु ।

उत्तर बङ्गालका जनता शताब्दियौँदेखि सौहार्दपूर्ण ढङ्गले बस्दै आएका छन्, अनि पुस्तौँदेखि रहिआएको हाम्रो साझा सामाजिक एवं सांस्कृतिक विरासतले बनेको हाम्रो एकतालाई नष्ट गर्ने अनुमति कसैलाई पनि दिइने छैन। 

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here