दार्जीलिङ, 4 अगस्त : गोर्खा राष्ट्रिय मुक्ति मोर्चा (गोरामुमो) त्यागेर आइतवार विनय तामाङपन्थी गोर्खा जनमुक्ति मोर्चा (गोजमुमो)-मा सामेल भएका कमल गुरुङ उर्फ गोकको काइँलाले आफ्नो पूर्व पार्टीका शीर्ष नेताहरूमाथि गम्भीर आरोप लगाएका छन्।
गोरामुमोका कर्मठ कार्यकर्ता मानिने उनी दार्जीलिङ वार्ड नम्बर 7 निवासी हुन्। आज विनयपन्थी मोर्चामा सामेल भएलगत्तै उनले आफ्नो कुरा राख्दै गोरामुमोका शीर्ष नेताहरूले राज्य सरकारबाट प्रतिमहिना पैसा थापेको गम्भीर लगाए भने गोरामुमो दार्जीलिङ टाउन कमिटीमा केही धनी मानिसहरूको ढलिमली भएको दाबी गरे।
उनले गोरामुमो त्याग्नुको कारण पनि स्पष्ट पारेका छन्। सबैभन्दा ठूलो कुरा गुरुङले गोरामुमो अध्यक्ष मन घिसिङले गौतम देवमार्फत् राज्य सरकारबाट प्रतिमहिना 5-6 लाख रुपियाँ थापेको गम्भीर आरोप लगाएका छन्।
“शुरुदेखि विमल गुरुङलाई पनि नटेरी गोरामुमोमा बस्ने राजबारी क्षेत्रबाट म थिएँ। तर, अहिले पैसावालाहरूले मात्र गोरामुमो चलाउन थालेदेखि मैले गोरामुमो छोड़्न कर लागेको हो”, कमल गुरुङले थपे, “विमल गुरुङको समयमा ज्यानको माया मारेर सुवास घिसिङलाई भेट्न जाने हामी थियौं। 2008 मा उनलाई भेट्न जलपाइगढ़ी जाँदा फर्केर आउँछौं/आउँदैनौं भन्ने स्थितिमा हामी थियौं। तर, आज आजभोलि हाम्रो कुरा पार्टीले सुन्न छोड़्यो। त्यसैले मैले गोरामुमो छोड़ेको हुँ।”
यसअवधि उनले गोरामुमो भित्रभित्रै राज्य सरकारसँग मिलेको थप आरोप लगाएका छन्। साथै लोकसभा र विधानसभा चुनाउ जितिसकेपछि आफूहरूले लालकोठी घेर्न चाहँदा तर प्रशासनले पक्राउ गर्छ भनेर पार्टीले घेराउ कार्यक्रम गर्न नदिएको गुरुङको दाबी छ।
“उनीहरू (गोरामुमोका नेतृत्वहरू) चाहिँ कोलकाता गएर हाम्रा नेताहरूलाई पक्राउ नगरियोस् भनी सुटुक सुटुक मिल्दा हुन्छ, हामी अर्को पार्टीमा जानु किन हुँदैन?”, गुरुङले थपे, “हाम्रो पनि घरमा बालबच्चा पाल्नु पर्छ। हाम्रो घरमा पनि भात पाक्नु पर्नेछ। उनीहरू चाहिँ गएर सुटुक सुटुक पैसा थाप्छन्। मेरो पनि सिलगढ़ीमा मान्छे छन्। मन घिसिङले महिनामा 5-6 लाख रुपियाँ गौतम देवमार्फत् थाप्थे। पक्का हो यो कुरा। महेन्द्र छेत्रीले थाप्थे। उनीहरू चाहिँ माथि माथि मिल्दा हुन्छ, तर हामी तलका साधारण जनतालाई चाहिँ मर्नु?”
कमल गुरुङ उर्फ गोकको काइँलाका अनुसार तारपोलिन र पाल मात्र बाँड्नका लागि राजु विष्ट र नीरज जिम्बालाई उनीहरूले जिताएका होइनन्। अर्कोतिर आज उनीसँगै अन्य विभिन्न स्थानबाट बाक्लो सङ्ख्यामा मानिसहरूले गोरामुमो त्यागेर विनयपन्थी गोजमुमोमा सामेल भएको दाबी गरिएको छ। मोर्चामा सामेल हुनेहरूले यसका महासचिव अनित थापाको हातबाट झण्डा ग्रहण गरे।
यसअवसरमा थापालगायत मोर्चाका शीर्ष नेतृत्वहरू क्रमैले सतीश पोखरेल, आलोक कान्तमणि थुलुङ, सूरज शर्मा, जेबी तामाङ आदि पनि उपस्थित थिए।