जनजातिको मागलाई आरजीआईको माध्यमद्वारा भाजपा सरकारले अस्वीकार गर्दै आएको छ : विनय

0
1817
विनय तामाङ (फाइल फोटो)।

दार्जीलिङ, 4 अगस्त : गोर्खा समुदायका 11 जातगोष्ठीलाई केन्द्रिय जनजातिको दर्जासम्बन्धमा केन्द्रको सत्तारूढ़ दल भारतीय जनता पार्टीले गोर्खा जातिलाई पुनः धोका दिएको आरोप गोर्खा जनमुक्ति मोर्चा (गोजमुमो) दोस्रो खेमाका अध्यक्ष विनय तामाङले लगाएका छन्।

आइतवार एक प्रेस विज्ञप्ति जारी गरी तामाङले भाजपामाथि यस्तो आरोप लगाएका हुन्। विनयका आरोपका अनुसार केही महिनाअघि दार्जीलिङ पहाड़मा गोर्खाल्यान्डको उच्चारण गर्दै भाजपा र दार्जीलिङका केही राजनीतिक पार्टीहरूले चुनावी प्रोपोगाण्डा गरेका थिए। यसका साथै गोर्खा समुदायका 11 जातगोष्ठीलाई अनुसूचित जनजातिमा समावेश गर्ने मुद्दा पनि चुलिएको थियो।

‘तर हालै रेजिस्टर जेनरलको रिपोर्टले हाम्रो समुदायलाई जनजातिमा समावेश गर्न अस्वीकार गरिएको र लोकसभामा जनजाति राज्यमन्त्री रेणुका सिंह सरुताको लिखित जवाफमा हाम्रो समुदायले जनजातिको मापदण्ड पूरा नगरेको भन्ने बयान आएको छ, जो एकदमै दुर्भाग्यपूर्ण छ। यसको हामी घोर विरोध गर्दछौं’, तामाङले भनेका छन्।

उनले थप भनेका छन्, ‘यहाँ बुझ्नुपर्ने कुरा के छ भने कुनै समुदायलाई जनजातिमा समावेश गर्नका लागि पाँचवटा मापदण्ड पूरा गरेको हुनपर्छ भनेर बताइएको छ। जसमा आदिम गुणको सङ्केत, विशिष्ट संस्कृति, लजालु सम्प्रदाय, भौगोलिक रूपले अलग र पछौटेपनजस्ता मापदण्डहरू आउँछन्। तर, वास्तवमा हेर्नु हो भने एक समुदाय अर्को समुदायदेखि फरक हुन्छ। रेजिस्टर जेनरलले जनजातिको मागलाई हाम्रो पक्ष केही नसुनीकनै एकतर्फी रिपोर्ट पेश गरेको छ।किनभने लुकुर समितिले बनाएको मापदण्ड अनुसार हामीले सबै मापदण्ड पूरा गरेका छौं।’

विनयले यसलाई गोर्खा समुदायलाई न्याय पाउनुबाट वञ्चित बनाउन गरिएको षड़यन्त्र बताएका छन्। ‘इतिहासको पन्नामा फर्किनु हो भने सन् 1931 को जनगणनाले हामीलाई पर्वतीय जनजातिको संज्ञा दिएको छ। त्यसैले हामी अब यस विषयलाई महत्त्वपूर्ण ठान्दै सम्बन्धित निकायमा लिएर जानेछौं। र, सरकारलाई यस विषयमा फेरि एकपटक विचार गरिदिन दबाउ दिनेछौं’, उनले भनेका छन्।

अर्कोतिर उनले भाजपा गोर्खाहरूप्रति कति इमानदार छ भन्ने कुरा पुनः एकपटक प्रमाणित भएको बताएका छन्। ‘भाजपाको डीएनएमा गोर्खा समुदायका लागि अलिकति पनि चिन्ता छैन’, तामाङले भनेका छन्। यसका साथै  राज्यकी मुख्यमन्त्री ममता ब्यानर्जीको नेतृत्वमा फरवरी 2014-मा बङ्गाल सरकारले केन्द्र सरकारलाई बङ्गालमा बसोबास गर्ने गोर्खा समुदायको जनजातिको दर्जाका लागि प्रस्ताव राखेको तर भाजपा सरकारले बारम्बार यो मागलाई रेजिस्टर जेनरलको माध्यमबाट अस्वीकार गर्दै आएको उनको आरोप छ।

तामाङले विज्ञप्तिमा एनआरसी र असमका गोर्खाहरूले भोगिरहेका दुःख कष्ट र समस्यालाई पनि उठाएका छन्। साथै पहाड़का मात्र होइन, तर भारतभरिका गोर्खाहरूले भाजपाको ठगाइविरुद्ध विरोध गर्नुपर्ने बताएका छन्।

अर्कोतिर उनले सांसद राजु विष्टलाई प्रश्न गर्दै भनेका छन्, ‘तपाईंले महाकाल बाबालाई साक्षी राखेर गोर्खाल्याण्ड ल्याउने भनी वाचा गर्नु भएको थियो। हामीलाई थाहा छ तपाईं गोर्खाल्यान्ड ल्याउन सक्षम हुनुहुँदैन। तर, तपाईंले यतिमात्र भनिदिनुपर्छ तपाईं संसदमा रहँदा पनि हाम्रो वर्षौंदेखिको 11 जनजातिको मागलाई रेजिस्टर जेनरलले किन अस्वीकार गर्‍यो?’ यसैगरी भाजपाले दार्जीलिङका जनतालाई  भोटका लागि मात्र प्रयोग गरेको आरोपलाई पनि दोहोर्‍याएका छन्।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here