कालेबुङ, ४ अगस्तः पछिल्लो ३० जुलाईको बिहानीपख माम खोलामा आएको बाढ़ी-पैह्रोले बगाएका अरुण राईको शव आज भेट्टाइएको छ।
टिस्टा नदीमा लगातार खोजी कार्य गरिरहेको टिस्टा-रङ्गीत उद्धार केन्द्रको टिमले आज राईको शव कालीझोड़ा बाँधमा पाएको हो।
अरुण राई तारखोलानिवासी हुन्। उनको शव आज भेट्टाइए पनि थप दुईजना अझै बेपत्ता बनेका छन्। बेपत्ता हुनेमा मामखोलानिवासी विकास तामाङ र नेपालनिवासी डम्बर राम छन्।
उनीहरू दुवै खोजीकार्य पनि टिस्टा-रङ्गीत उद्धार केन्द्रको टिमले लगातार गरिरहेकोछ।
उल्लेखनीय छ, पछिल्लो ३० जुलाईका दिन माम खोलामा गएको बाढ़ी-पैह्रोका कारण सेवक-रम्फू रेल परियोजनामा कार्यरत् दुई मजदुरको मृत्यु हुनका साथै थप तीनजना मजदुर बेपत्ता बनेका थिए।
बाढ़ी पैह्रोका कारण ज्यान गुमाउने नेपालनिवासी धनसिंह भण्डारी र अलिपुरद्वारनिवासी रोहित तिर्की थिए।
अर्कोतिर बाढ़ी पैह्रोकै कारण दुईजना घाइते भएका थिए। माम खोलामा गएको यो बाढ़ी-पैह्रोले ज्यानमालको धेरै क्षति गरेको थियो।