मङ्गलवार पाकिङस्थित अर्किड अनुसन्धान केन्द्रमा अर्किडको निरीक्षण गर्दै सतपाल महाराज। |
गान्तोक 4 सेप्टेम्बर : छुट्टै राज्य गोर्खाल्यान्डको गठन आवश्यक रहेको सतपाल महाराजले बताएका छन्। आज पाकिममा पत्रकारहरूसँग बोल्दै उनले गोर्खाल्यान्ड गठनको पक्षमा आफ्नो विचार पोखेका हुन्। यसअवधि उनले गोर्खाल्यान्ड गठनका लागि आफूबाट हुने सबै प्रकारका सहयोग गर्न तयार रहेको बताएका छन्।
“गोर्खाल्यान्ड हुन आवश्यक छ। गोर्खाल्यान्ड गठनका लागि मेरो तर्फबाट जे सहयोग गर्नुपर्छ, गर्नेछु। यसका लागि म तयार छु”, उनले भने। मानव धर्मका प्रणेता तथा उत्तराखण्ड राज्यका पर्यटन, सिँचाइ, सांस्कृतिक विभागका सतपाल महाराज एक टोलीसँग सिक्किम राज्यको भ्रमणमा आएका छन्।
पत्रकारहरूलाई सम्बोधनको क्रममा उनले नेपाली भाषालाई भारतीय संविधानको आठौं अनुसूचीमा अन्तर्भुक्त गराउने अभियानमा समेत खटिएको उनले बताए।
“त्यसबेला मैले दार्जीलिङ, कालेबुङ र सिक्किमको भ्रमण गरेको थिएँ। हामीले धेरै पैदल यात्रा गऱ्यौं” , उनले थपे, “जसरी जनाकांक्षाअनुसार नेपाली भाषाले मान्यता पायो, त्यसरी नै गोर्खाल्यान्ड राज्य पनि एकदिन गठन हुनेछ।”