मङ्गलवार पत्रकारहरूलाई सम्बोधन गर्दै राज्यकी मुख्यमन्त्री ममता ब्यानर्जी। |
दार्जीलिङ, 4 सेप्टेम्बर : मङ्पूको जोगीघाटमा बनिने स्टेट युनिभर्सिटीको नाम परिवर्तन भएको छ। ग्रीनफिल्ड युनिभर्सिटीको नाममा राज्य विधानसभामा विधेयक पारित भएको यो युनिभर्सिटीको नाम परिवर्तन भएर दार्जीलिङ हिल युनिभर्सिटी भएको छ। मङ्गलवार राज्यकी मुख्यमन्त्रीले यस आशयको घोषणा गरेकी हुन्। यो युनिभर्सिटीको मुख्यमन्त्रीले चौरस्ताको एक कार्यक्रमबाट शिलान्यास गर्नेछिन्।
आज मुख्यमन्त्रीले जीटीएसँग यहाँ आधिकारिक बैठक गरिन्। यो बैठकपछि पत्रकारहरूलाई सम्बोधन गर्दै उनले ग्रीनफिल्ड युनिभर्सिटीलाई नाम परिवर्तन गरी दार्जीलिङ हिल युनिभर्सिटी बनाइएको बताइन्। स्मरणरहोस्, ग्रीनफिल्ड नाममा पहाड़का लागि स्टेट युनिभर्सिटीको विधेयक पारित भएपछि पहाड़का विधायकद्वय अमरसिंह राई र डा. रोहित शर्माले ग्रीनफिल्ड नाम परिवर्तन गरी दार्जीलिङ युनिभर्सिटी राखिएमा यसले दार्जीलिङ पहाड़वासीको भावना र परिचयलाई बोक्ने तर्क राख्दै नाम परिवर्तनका लागि अनुरोध गरेका थिए।