गोजमुमो प्रमुख विमल गुरुङ (फाइल फोटो)। |
दार्जीलिङ, 4 सेप्टेम्बर : गोर्खा जनमुक्ति मोर्चा (गोजमुमो) प्रमुख विमल गुरुङले शिक्षक दिवसको शुभकामना दिएका छन्। मङ्गलवार एक प्रेस विज्ञप्ति जारी गरी गुरुङले शिक्षक दिवसको शुभकामना दिएका हुन्। “हामी भारतीय गोर्खाहरूको वर्तमान राजनीतिलाई हेर्दा हाम्रा युवाहरूभित्र अन्तर्निहित प्रतिभाहरूलाई तपाईंहरूको मिहिनेत र परामर्शले भोलिको दृढ़ सङ्कल्पित जिम्मेवार नागरिक बनाउने जिम्मेवारी पनि सबैभन्दा अधिक तपाईं शिक्षकहरूकै काँधमा आइपरेको देख्दैछु”, उनले विज्ञप्तिमा लेखेका छन्, “जागरूक समाज निर्माणको निम्ति आफूलाई समर्पित गरेका भारतका हाम्रा तमाम शिक्षकहरूलाई म हृदयबाट नै सम्मान जनाउँदै तपाईंहरू सबैमा शिक्षक दिवसको शुभकामना चढ़ाउँदछु।”
उनले विज्ञप्तिमा शिक्षक भनेको राष्ट्र निर्माणको मार्गदर्शक रहेकोले उनीहरूले देखाएको बाटोले नै देशको समाज, राजनीति, आर्थनीतिलगायत अन्य सबै कुरालाई आकार दिइरहेको हुने बताएका छन्। एउटा मजबुत राष्ट्र निर्माणका लागि शिक्षक नै महत्त्वपूर्ण कडी रहेको उनको भनाइ छ। विज्ञप्तिमा गुरुङले भारतका पूर्व राष्ट्रपति डा. सर्वपल्ली राधाकृष्णनप्रति श्रद्धाञ्जली चढ़ाउँदै सम्पूर्ण शिक्षकहरूमा शुभकामना व्यक्त गरेका छन्।