शिक्षक नियुक्तिमा धाँधली भइरहेको छ : जनचेतना सङ्घर्ष समिति

0
1175
पत्रकारहरूलाई सम्बोधन गर्दै मञ्जिला तामाङ र अन्य।

दार्जीलिङ, 4 अगस्त : दार्जीलिङ पहाड़मा अहिलेघरी भइरहेको शिक्षक नियुक्तिमा नियम-कानूनको ठाड़ो उल्लङ्घन र व्यापक धाँधली भइरहेको गोरामुमो जनचेतना सङ्घर्ष समितिले आरोप लगाएको छ।

बुधवार दार्जीलिङस्थित पार्टी कार्यालयमा पत्रकारहरूलाई कुराकानी गर्दै जनचेतना सङ्घर्ष समितिकी अध्यक्ष मञ्जिला तामाङले यस्तो आरोप लगाएकी हुन्। उनका अनुसार अहिले दार्जीलिङ पहाड़मा जीटीएमार्फत् भइरहेको शिक्षक नियुक्तिमा बङ्गाल सरकारको नियम-कानूनलाई उल्लङ्घन गरिरहेको छ। साथै व्यापक धाँधली भएको छ।

“अहिले जुन शिक्षक नियुक्ति भइरहेको छ। त्यो सरकारी नियमअनुसार भइरहेको छैन। यहाँ शिक्षक नियक्तिमा धाँधली भएको छ”, तामाङले थपिन्, “कहिले स्कूल पढ़ाउन नगएकाहरूले पनि नियुक्ति पाएका छन्। तर स्वयंसेवी शिक्षकको रूपमा स्कूल पढ़ाइरहेका र बीटी-बीएड गरेकाहरू भने नियुक्ति पाएका छन्। हामीसँग यस्ता धेरै नाम आएका छन्।”

यसअवधि उनले लामाहट्टाका स्वयंसेवी शिक्षक प्रणाम छेत्रीको नामै तोकेर उदाहरण दिइन्। शिक्षक नियुक्तिमाथि अन्याय भएको भन्दै ती स्वयंसेवी शिक्षकले जनचेतना सङ्घर्ष समितिलाई एक उजुरी-पत्र पठाएको तामाङले बताइन्।

उनका अनुसार पत्रमा उल्लेख गरेअनुसार छेत्रीले 2009 देखि 2017 सम्म लामाहट्टाको प्राथमिक पाठशालामा स्वयंसेवी शिक्षकको रूपमा पढ़ाएका थिए।

“2017-मा यहाँ गोर्खाल्याण्डको आन्दोलन हुँदा कामहरू रोकिएको कारण उनी बाहिर जान परेको थियो। तर, 2019 मा फर्किआइ शिक्षकको फारम भर्दा केही मानिस आएर उनले भरिएको फारम च्यातिदिए”, मञ्जिला तामाङले भनिन्। गोरामुमोको भएकै कारण प्रणाम छेत्रीको फारम च्यातिदिएको स्वयं उनले पत्रमा उल्लेख गरेको पनि तामाङले बताएकी छन्। अर्कोतिर भर्खरै तीनजनाले भरेको फारमलाई भने स्वीकार गरेको पनि उनको दाबी छ।

“गोजमुमो (विनय खेमा)-का युवा मोर्चाका धेरै कार्यकर्ताले नियुक्ति पाएका छन्। उनीहरूले न टिचर ट्रेनिङ गरेका छन् न त भोलेण्टियर नै”, उनले नामै पढ़ेर भनिन्, “केशव राज शर्मा, सङ्गीता शर्मा, रमेश कड़रिया, प्रेम कुमार छेत्री, अमृत योञ्जन, नेहा तामाङ, मिनाक्षी छेत्री र अरू पनि छन्।”

उनले थप भनिन्, “नेहा तामाङ सुके पोखरी विद्यालयका प्रधानाध्यापककी छोरी हुन्। हाल उनी दुबईमा काम गर्दैछिन्। उनले ब्लूमफिल्ड स्कूलमा काम पाएकी छन्। मिनाक्षी छेत्रीले ब्लूमफिल्डमा भोलेण्टियर टिचर गरेको एक महिना मात्र भएको छ। भोलेण्टियर टिचर गर्ने अरू पनि धेरै छन्। तर, उनीहरूले नियुक्ति पाएका छैनन्। यहाँ पार्टीमा हिँड़्नेहरूले मात्र काम पाएका छन्।”

जीटीएको शिक्षा विभागले यसबारे राम्रो कार्य नगरेको उनको आरोप छ। तामाङका अनुसार बीटी-बीएड गर्ने र योग्य भोलेण्टियर टिचरहरूले नियुक्ति पाउनुपर्ने आफूहरूको माग रहेको स्पष्ट पारिन्।

“यहाँ त पार्टीहरूमा हिँड़्नेहरूले मात्र नियुक्त पाएका छन्। यो त सोझै धाँधली भयो। पार्टीमा हिँड़्नेहरूले मात्र टिचर काम गर्नु भन्ने त भएन नि” मञ्जिला तामाङले थपिन्, “ती व्यक्तिहरूले नानीहरूलाई कस्तो शिक्षा दिनेछन्। हामीले उनीहरूको उजुरी गरेको होइन। तर, उनीहरूले भोलेण्टियर या त बीटी-बीएड गरेको भए हाम्रो भन्नु केही थिएन। हिजो मात्र नेताहरूसँग कराइ हिँड़ेकाहरूको नाम आउनु भनेको सोझै धाँधली भएको हो। हामीलाई मन परेको छैन।”

उनले अन्तर्वार्तामार्फत् योग्य उम्मेदवारलाई नियुक्त दिएको भए, गुनासो गर्ने ठाउँ नै नरहने पनि बताइन्। शिक्षक नियुक्तिमा अन्यायमा परेकाहरू यदि कानुनी लड़ाइँ लड़ेको खण्डमा सहयोग गर्ने उनले बताए तापनि जनचेतना सङ्घर्ष समितिले नै यो मुद्दालाई बोकेर न्यायालय जाने कुरामा भने खुलेर केही बताइनन्। “यसबारे हामी केही भन्दैनौं। अघिबाटै हाम्रा ब्राञ्च कमिटी अध्यक्षले यसबारे बोलिसकेका छन्”, तामाङले घुमाएर भनिन्।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here