–अशोक प्रशान्त
गहिरो भरोसा र विश्वास राखेर अभूतपूर्व भोट दिई दार्जीलिङ पहाड़बाट भाजपालाई जिताएर लोकसभामा तीन-तीनपल्ट पठाए पनि भाजपाले आफ्नो सङ्कल्प-पत्रका एउटै वचन पूरा नगरेपछि हताशग्रस्त गोजमुमो महासचिव रोशन गिरीले भाजपालाई केवल आफ्नो सङ्गठनविस्तारमा होइन, तर सङ्कल्प-पत्रका वचन पूरा गर्ने सुझाउ दिएपछि पहिलोपल्ट यो ‘सुमधुर’ देखिने गठबन्धनभित्र मनमुटाउका लक्षण देखिएको छ। हुन त गठबन्धनभित्र मनमुटाउ, असन्तोष हुँदैहुन्न भन्ने हुँदैन। एकता र सङ्घर्षको द्वन्द्वात्मक सम्बन्ध हरेक गठबन्धनको शाश्वत रूप हो।
गोजमुमो-1 –को विज्ञप्ति दार्जीलिङ पहाड़का मतदाताहरूप्रतिको आफ्नो जिम्मेवारीको बोध र गोर्खाजातिको लक्ष्यप्रतिको सजग अनुभूतिको रूपमा देखिन्छ। छुट्टै राज्यप्रतिको आवेग अनि गोर्खा चिह्नारी र अस्मिताप्रतिको दार्जीलिङका जनताको कटिबद्धतालाई दोहन गरेर गोजमुमो-1 –को ठाउँमा आफूलाई स्थानापन्न गराउने भाजपाको रणनीतिप्रति सतर्कता पनि हुनसक्छ यो विज्ञप्ति। जे होस्, गोजमुमोको यो विज्ञप्ति 11 वर्षको गोजमुमो-भाजपा गठबन्धनमा पहिलोचोटि भाजपाको नियतमाथि मोर्चाको तर्फबाट उठाइएको प्रश्न हो।
भाजपाको कार्यशैलीप्रति असन्तोष प्रकट गर्दै गिरीको विज्ञप्ति आएपछि पहाड़को दलनिरपेक्ष बौद्धिक समुदायमा ‘लुतो न कन्याई’ टाइपको मौनता देखिए पनि गोजमुमो-2 समूहमा खुशीको माहौल देखिएको छ। उनीहरू मानौं यसो भनिरहेका छन् – ”लौ देख्यौ त! हामी भन्थ्यौं नि भाजपाले केही पनि गर्दैन पहाड़वासीका लागि भनेर!’’
त्यसो भए प्रश्न उठ्छ – राज्यको सत्तारूढ़ दलसितको गठबन्धनबाट पहाड़ र पहाड़वासीलाई के उपलब्धि भएको छ त? बङ्गालभन्दा बाहिर गोर्खाहरूको भविष्य खोज्ने सङ्घर्षमा त उसको विरोध र दमन छँदैछ, बङ्गालभित्रै पनि जीटीएभन्दा कम हैसियत (18 जुलाई, 2011 –को त्रिपक्षीय सम्झौताले दिएका अधिकारहरूको अर्थमा) लिएर बाँच्नुबाहेक राज्यले पहाड़ र पहाड़वासीलाई अरू के दिएको छ? सन् 2011 –को त्रिपक्षीय सम्झौतापछिका यी 9 वर्षमा राज्यले गरेका अतिरिक्त कुन कुन घोषणाहरू पहाड़मा फलीभूत भएका छन्? ‘राज्यसित मिलेर हिँड्ने’ नीतिले यो तीन वर्षमा पहाड़लाई कहा पुऱ्यायो? जीटीएलाई दिइने अधिकारदेखि लिएर सरकारद्वारा पहाड़का लागि घोषणा गरिएकामध्ये कतिवटा वचनहरू पूरा गरिए यसबीच? विकास र अधिकारबाहेक पनि दार्जीलिङवासीले भारतको संविधानद्वारा प्रदत्त कतिवटा मौलिक अधिकारहरूको उपभोग गर्नपाएका छन् राज्य सरकारको प्रशासनमा? एकजना जिल्लाशासकले जीटीएको कार्यालयमा ताला लगाउनसक्छ (सन् 2017) भने दार्जीलिङवासीले जीटीएमा कतिको स्वशासन अनुभव गर्दैछन्? पहाड़को वर्तमान सत्तारूढ़ गठबन्धनसित फरक मत राख्नेहरूलाई गिरफ्तार गरिन्छ, पलायितहरूको घर कुड्की गरिन्छ, पोस्टर च्यातिन्छ, रक्तदान शिविर राख्दा पक्राउ गरिन्छ। राज्य विश्वविद्यालय खोई सञ्चालनमा आएको? पर्जापट्टा खोई, पञ्चायत चुनाउ खोई, हजारौं कर्मचारीहरूको लम्बित नियुक्ति खोई, बोनस खोई, ज्याला खोई, स्विट्जरल्याण्ड खोई? ‘राज्यसित मिलेर हिँड्दा’ के पाए पहाड़वासीले?
के अहिले पहाड़मा चलिरहेको सत्तारूढ़ गठबन्धन विचारधारात्मक गठबन्धन हो? के वर्तमान जीटीए सत्ताले राज्य सरकारको निर्देशभन्दा बाहिर गएर छुट्टै निर्णय लिनसक्छ? के यो गठबन्धनको उद्देश्य पहाड़को वर्तमान यथास्थिति कायम राख्नुभन्दा अर्थोक केही गर्न वा सोच्नसक्छ? के पहाड़मा जातैपिच्छे बोर्डहरू बनाएर सन् 2011 –को त्रिपक्षीय सम्झौताको स्पिरिट्लाई मिच्ने र जीटीएको हैसियतलाई कमजोर बनाउने काम भएको छैन? के जीटीएको वर्तमान नेतृत्व दार्जीलिङवासीको राजनैतिक आकांक्षालाई नेतृत्व गरेर तार्किक निष्कर्षमा पुऱ्याउन आफूलाई समर्थ पाउँछ?
दार्जीलिङको राजनीतिक आकांक्षाको सन्दर्भमा अहिलेसम्मको केन्द्र र राज्यको प्रवृत्ति सकारात्मक र अनुकूल पटक्कै छैन। केन्द्रीय कुनै पनि सरकारले आजसम्म हाम्रो आकांक्षाबारे सकारात्मक पद्क्षेप लिएको छैन, तर नकारात्मक टिप्पणी पनि गरेको छैन। प्रायशः केन्द्रले कसैलाई ‘नो’ भन्दैन। यसबाट हामीमाझ केन्द्रबारे थुप्रै भ्रम फैलिएको छ। हामीप्रति राष्ट्रिय दलहरूको व्यवहार ‘व्यापारिक’ छ, ‘भावनात्मक दोहन‘ गर्नेखालको छ। अनि राज्यस्तरीय दल र सरकारहरूको व्यवहार ‘दमनात्मक‘ छ। अनि, हाम्रा नेतृत्वहरूको व्यवहार दुवै पक्षप्रति लम्पसारवादी रहनेगरेको छ।
यसरी केन्द्रीय अनि राज्यीय दलहरूप्रतिको हाम्रो आशावादी निर्भरता, समर्पणवाद र परस्तताले दार्जीलिङे राजनीतिको नैसर्गिक स्वभाव गुमेको छ, जुझारूपन गुमेको छ। को कताबाट सञ्चालित छ, त्यो धमिलोपनले समग्रमा दार्जीलिङको राजनीतिको प्रतिरोध कमजोर भएको छ, दार्जीलिङको राजनीतिमा बाह्य शक्तिहरू प्रभावशाली बनेको छ। फलस्वरूप, पहाड़का सबै आञ्चलिक पार्टीले सम्पूर्ण रूपमा दार्जीलिङको राजनैतिक उन्मुक्तिको कुरा गरे पनि सबैजना एक-अर्काको व्यवहारतः विरोधमा छन्, एकले अर्कोको अस्तित्व सिध्याउन चाहन्छन्। आगामी चुनाउहरूमा कुन दलले, कुन गठबन्धनले जित्छ – त्यो चुनाउ परिणामले बताउनेछ, तर दार्जीलिङका जनता हार्नुहुँदैन, सपना हार्नुहुँदैन।
क्रिस्टल क्लियर लेख ।
दार्जिलिंगको जनताको अवस्था दुवै केंद्रीय र क्षेत्रीय स्तरमा ढाड़ पिल्सेको जन्तु समान छ, जसको आँखा छ त्यस्ले देखोस !