जीटीएका कर्मचारीहरूको स्थायीकरण नहुनुमा पूर्व जीटीएका नेतृत्वहरू दोषीः दिलीप सिंह

0
1131

खरसाङ, 4 सेप्टेम्बरः जीटीएका पे-व्याण्ड कर्मचारीहरूको स्थायीकरण नहुनुमा पूर्व जीटीएका नेतृत्वहरूको दोष रहेको एकीकृत कर्मचारी सङ्गठनका कार्यकारी अध्यक्ष दिलीप सिंहले आरोप लगाएका छन्।

जीटीएको क्षमतालाई पूर्वका नेतृत्वहरूले प्रयोग नगरेकै कारण अस्थायी कर्मचारीहरू स्थायी हुन नसकेको उनको दाबी छ।

“विगतको जीटीएमा जुन क्षमता थियो, त्यो क्षमताको प्रयोग नगरेर आज पहाड़लाई लथालिङ्गै बनाइएको छ। जीटीएका कर्मचारीहरूको स्थायी नहुनुमा हामी सङ्गठनबाट पूर्व जीटीए चलाउने नेतृत्वहरूलाई नै दोष्याउन चाहन्छौँ’’, सिंहले थपे,  “किनभने राज्य सरकारले 2009-मा 3,472 जना कर्मचारीलाई स्थायीकरण गर्नु भनेर जुन आदेश दिइएको थियो, त्योमाथि राजनीति नगरिदिएको भए यो समस्याको समाधान त्यसबेलै (2009 मा नै)  भएर जानेथियो।’’

त्यसबेला जीटीएका कर्मचारीहरूको स्थायीकरण नभएकै कारण अहिले यी कर्मचारीहरूले पाउनुपर्ने रोजगारको अवसरमा पनि बाधा सिर्जना भएको पनि उनले बताएका छन्।

साथै यो बाधालाई राज्य सरकार र जीटीए प्रशासनले खोल्नु नितान्त आवश्यक रहेको सिंहको भनाइ छ।

अर्कोतिर उनले जीटीएका पे-व्याण्ड कर्मचारीहरूको लड़ाइँलाई पहाड़वासीको लड़ाइँ बताए।

सिंहले भने, “यो पहाड़वासीको लड़ाइँमा सबैले हामीलाई सहयोग दिनुपर्छ। बोलेर मात्र हुँदैन। राजु बिष्टले पनि हाम्रो कुरा निकाले; माकपाले पनि हाम्रो कुरा निकाल्यो; जीएनएलएफले पनि हाम्रो कुरा निकाल्यो। तर हामीलाई काम गर्ने मान्छेको खाँचो छ। हाम्रो लागि काम गरिदिनुपर्छ, जुन काम गोर्खा जनमुक्ति मोर्चाले गरेर लानेछ। किनभने गोर्खा जनमुक्ति मोर्चाभित्र हामीसँग जीटीएका चेयरम्यान पनि हुनुहुन्छ। र जीटीएका चेयरम्यानले अनित थापाले कर्मचारीहरूलाई स्थायीकरणको गरिनुपर्छ भनेर राज्यकी मुख्यमन्त्रीको हस्तक्षेप चाहन्छन्।”

उनका अनुसार यस विषयमा राज्य सरकार र जीटीएले चुड़ान्त निर्णय लिएर कार्य गर्नुपर्नु कर्मचारीहरू चाहन्छन्। किनभने 2009 को जुन प्रक्रिया थियो, त्यो प्रक्रिया पूर्ण भइसकेको सिंहको भनाइ छ।

“केवल  राज्य सरकार र वर्तमान जीटीए प्रशासनले 2009 मा आएको सरकारी आदेशलाई रि-एप्रुभल गरी नियुक्तिको प्रक्रिया शुरू गर्नुपर्छ’’, एकीकृत कर्मचारी सङ्गठनका उपाध्यक्ष दिलीप सिंहले भने।

यसैगरी अहिले एसएसबी (सब-अर्डिनेट सेलेक्शन बोर्ड)-को कुरा चलिरहेको र यदि यस्तो भएमा एसएसबीभित्र जीटीएका वर्तमान सबै कर्मचारी अँटाएको हुनुपर्ने उनले माग गरे।

यसैगरी आउँदा दिनमा यो आन्दोलन थप चर्को बन्ने बताउँदै उनले जबसम्म स्थायीकरण हुँदैन तबसम्म आन्दोलन लम्बिएर जाने पनि जनाए।

यसैबीच, आज विनयपन्थी गोर्खा जनमुक्ति मोर्चा खरसाङ महकुमा समितिले पनि एकीकृत कर्मचारी सङ्गठनको माग र आन्दोलनलाई पूर्ण समर्थन जनाउँदै आफ्नो पक्षबाट सकेसम्म सहयोग गर्ने प्रतिबद्धता जताएको छ।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here