वृद्ध र युवाबिच व्यक्तीय सम्बन्ध

0
866

-इन्द्रबहादुर राई

गान्तोक गइरहेको गाड़ीमा बसेका थियौँ । बर्खाको भलले सड़कमा झारेका ढुङ्गा-माटो हटाइसकेका रहेछन्, तर हिलो थियो । गाड़ी एउटा आएपछि यतादेखि अर्कोलाई जान दिँदै रहेछन् । उतादेखि आइरहेको बस धेरै होशियारीले बिस्तारो आइरहेको देख्यौँ । पर्खिन नसक्ने भइसकेको हाम्रो गाड़ीको ड्राइभर झोँक्कियो – ‘के ढिलो आएको त्यो बस ! को रैछ त्यस्तो चलाउने ?’ झुन्डिने सिकटे क्लिनर केटाले बतायो कराए – ‘ओल्ड म्यान !’

‘ओल्ड म्यान’ -लाई ‘यङ्ग म्यान’ –ले त्यसरी खिसी गरेको अलिक राम्रो लागेन । भनेँ, ‘ओल्ड म्यानले गाड़ी होशियारीले बिस्तारी ल्याएको एकदम ठिक ।’ बस त्यही चालमा आइपुगेर हाम्रो गाड़ीको छेउबाट भएर गयो । चालक यङ्ग म्यान नै रहेछ ।

वृद्ध र युवाको वर्गीकरण (त्यस्तै शिक्षित- अशिक्षित, शाकाहारी – मांसाहारी, बजारमा बस्ने – बस्तीमा बस्ने, यस मतका – त्यस मतका आदि अनेक वर्गीकरण ) माथि आज यहाँ अलिकति बिचारौँ ।

वृद्ध र युवाको वर्गीकरण उमेरको वर्गीकरण मात्र हुँदैन , त्यसमा अन्य कति कुरा समेत हालिएका र भन्न खोजिएका हुन्छन् । वर्गीकरणहरू वस्तुसूचक (डिनोटेटिव) मात्र हुँदैनन् , गुणार्थक (कनोटेटिव) पनि हुन्छन् । ‘वृद्ध’ भन्दा बलहीन परम्परा पछ्याउने, अब्डेरा इत्यादि पनि बुझाउन खोजिने र ‘युवा’ भन्दा बलशाली, परिवर्तन चाहने, बुझकी इत्यादि पनि बुझाउन खोजिने । सबै वृद्ध सबै युवा यस्ता गुणा गुणार्थमा मिल्दैनन् । वर्गीकरणको बस चलाउँदा बुढ़ेउली यति होश राख्नुपर्ने हुन्छ, नराखे वर्गीकरण पल्टिन्छ ।

कुनै पनि व्यक्ति, वृद्ध होस् वा युवा, एकमेव (यूनिक) हुन्छ, ‘विनिमेय’ (एक्सचेन्जेबल ) हुँदैन । एकमात्र हुन्छ , त्यस्तै अर्को कहीँ हुँदैन ।  दोकानमा कुनै चिज किन्दा जस्तो जुनै एउटा लिँदा हुने हुँदैन । त्यसैले कसैसित मित्रता गरिन्छ, प्रेम गरिन्छ । वर्गीकरणले चाहिँ त्यसभित्र पारिएका सबलाई सालाखाला रूख, पर्वतहरू प्रत्येक नै भिन्दै छन्, यन्त्रमा बनेकाहरू मात्र एकनासका हुन्छन् । वर्गीकरणको साझे कोट सबैका आङमा टम्म मिल्ने हुँदैन ।

वर्गीकरणले वृद्धहरू र युवाहरूबिच (त्यस्तै शासक र शासित, यस सम्प्रदाय र त्यस सम्प्रदाय, यस जात र त्यस जात, यो दल र त्यो दल आदिबिच) विभेद र विरोधिता उमार्छ । यसो हुन्छ वर्गीकरणको गुणावगुणार्थले । अनि गुणार्थहरू जन्मछन् ती वर्गप्रतिका हाम्रा मनोवृत्ति (एटिट्यूड)-ले, बोध र मूल्यनले । तर देख्छौँ  ; यी मनोवृत्ति, बोध, मूल्यन सबैका सब स्थानका, सब समयका एक हुँदैनन् । र वर्गीकरणमा जोडिने आग्रहपरक गुणार्थले गर्दा वर्गहरूको मूल्याङ्कन यादृच्छिक (आर्बिट्रेरी) हुन्छ ।

कसैले पनि पहिले नै कुनै वर्ग चिन्नु वा चिनाउनु त्यस वर्गको चलाइएको गुणावगुणार्थले उसलाई पहिल्यै निर्णय (जज) गर्नु समान हुन्छ । उनलाई अनन्य (यूनिक) व्यक्ति चिनौँ , अनन्य व्यक्तिहरूमाझको मनैले चिनजान, आत्मिक परिचित हुन्छ त्यो । वृद्ध र युवाहरूले पारस्परिकतामा यस्तै व्यक्तीय साँचो चिनारी खोजौँ र पाऔँ ।

वृद्ध र युवाहरूबिच तनाउ, अचेटाइ र घचेटाइ अघि पनि थियो, मात्रै अचेल फैलेको र छर्लङ्ग थिएन । समयले गराएको । उहिले बाबुहरूले हेलै थिच्न सक्थे, अहिले छोराहरूले त्यति नमिचिन खोज्दैछन् ।

समयले गराएको मात्र पनि होइन । युवा-वृद्ध प्रतिकूलताका कारण मूलमा मनोवैज्ञानिक छ, पिता र पुत्रबिचको इडिपसग्रन्थि, दुइबिचको अचेत वैरीय स्पर्धा । बालकदेखि युवक हुँदै जाँदा छोराले बाबुको प्रभावदेखि मुक्त बन्न खोज्न थाल्छ । सानो छँदा बढ्न चाहने छोरा अब एकै हुनभन्दा फरक्किन खोज्छ । आफ्नो छुट्टै विशेष व्यक्तित्व पाउने उसको अवचेत प्रयास विभिन्न रूपमा प्रकट हुन्छ । वृद्धहरूप्रति हाँक र अटेरमा पनि ।

युवाहरूमा यो प्रवृत्ति अस्वाभाविक होइन, अप्राकृतिक होइन । ठूलो रूखको मुनि उम्रेको सानो बिरुवा बढ्दै गएकालेलाई हेरौँ । अग्लो बाबु रूखको मुनि होँचो छोरा रूख भएर सधैँ  बसिरहन त्यसले मान्दैन । बाङ्गिएर र टिङ्ग्रिएर पनि बाबुभन्दा अग्लिन्छ  माथि घाम भेट्नलाई । समाजमा स्वतन्त्र मानसिकताका, स्वतन्त्र विचारका, स्वतन्त्र विशिष्टताका व्यक्तित्वहरू आवश्यक हुन्छन्, समाजमा समयोचित परिवर्तन आउन, विकास आउन । प्रगति अघि बढ्छ विद्रोहीहरूका खुट्टाले ।

स्वतन्त्र प्रवृत्तिका, स्वतन्त्र विचार र विवेकका व्यक्तिहरू कहिले अकृतज्ञ र बैगुनी पनि भनिइन्छन्, बिना दोषै ।  कृतज्ञ तिनी रे, जसले पाइएको सहायताको साटो सहायकको गुन सदा मानिरहेर सहायकको हरकाम कुरा सकार्छन् । कुनै दिन सहायकको एउटै मात्र काम वा कुरा नसकारे तिनी अकृतज्ञ । ‘त्यसलाई मैले बचाइदिएको, आज मेरै काममा त्यसले भूल भेट्ने, बैगुनी।’ निष्पक्ष विवेकले कामकुरा ठिक वा भूल बताइदिनेहरू कतिपल्ट यसरी अकृतज्ञ ठानिइन्छन् । वास्तवमा यस्तो हुन्छ अघिका सहायक तिनले आफ्नै मात्र कामकुरालाई ठिक मान्दा र भूल देखाइदिएकालाई विरोध गरेको ठान्दा । हामीलाई अप्ठ्यारो पर्दा उनले सघाउ गरेको साटोमा उनलाई कठिन पर्दा हामी गुहार गर्छौँ , जसरी सक्छौँ, गर्छौँ । गुन मनाइ र तिराइ त्यसरी हुन्छ, उसको हरकुरामा सही थपिनै रहन पर्दैन ।

सबलाई बैगुनी देख्ने यस्तो चूक धेर बूढाहरूबाट हुन्छ । युवाहरूले यस्तोमा अलिक सतर्कता राख्नुपर्ने हुन्छ ।  परिवारकाहरूमाझ जसले जति दोष देखाइदिए पनि छिटै भुलिहाल्छन्, इबी राख्दैनन् । छिमेककाले यस्तै केही भने पछितक इख बोक्छन् । त्यस्तै, वृद्ध परिवारका जत्तिकै छन् भने भूल देखाइदिँदा त्यति केही मान्दैनन् । होइन, वृद्धसित त्यति घनिष्टता छैन, अलि टाढ़ाटाढ़ाकै छौँ भने समालोचक नबन्नै निको ।

फेरि कति वृद्ध हुन्छन्, जसले आफूभन्दा उमेर कमकालाई मान्छे गन्दैनन् । मेरो चिनजानका एक गतिला रापिला वृद्ध थिए । छात्र छँदा स्कुल फुटबल टिमका क्याप्टन थिए, जसमा एउटा भुकुल्ले केटो गोलकिपर बस्थेछ, जो पछि हाम्रा सुप्रसिद्ध साहित्यकार भए । बूढाले पछितकै साहित्यकारको नाउँ सुने कि भनिहाल्थे : ‘गोली बोकेर मेरो पछिपछि हिँड्थ्यो, त्यो मेरो गोलकिपर त हो !’ उमेरमा सानाको वर्गीकरणले मनमा लागेको प्रतिकूल छाप ।

वृद्ध एवं युवाबाट भएको भूल कामले मात्र उनीहरूलाई नजाँचौँ । त्यसो गर्नु मानिसलाई भूल कामले मात्र तौलने कानुनी निर्णय (लिगल जजमेन्ट) हुन्छ । साँचो व्यक्ति चिन्नलाई जुन अपुग्दो हुन्छ ।

वर्गछाप पन्साएर युवा र र वृद्ध दुवै व्यक्ति हुनसक्दा श्रद्धा र प्रेमको खुसिलो रसिलो सामाजिकता खुल्छ । युवाहरूले प्रत्येक वृद्धलाई कतै नपाइने अमूल्य एक एक पुस्तक भेट्छन् , कतै नपाइने अनेक कुरा तिनमा पढ्न पाइने ।

युवा छँदा साथीहरू सारै खोजिन्छन्, वृद्ध हुँदा फेरि ती साथी खोजिन्छन् । साथीहरू भेटिँदैनन्, कतै हुँदैनन् । अब वृद्धलाई युवाहरूले चाहिँदो साथ दिनपर्छ, वृद्धले युवाहरूको चाहिँदो साथ लिनपर्छ । सक्छन् साथ दिन-लिन व्यक्तिगत सम्बद्धताले ।

अन्त्यमा भन्छु : युवाहरूले राजनीतिक चेत पनि राख्नपर्छ । हाम्रा मानिसका जिउनी र जीवन सप्रनु-बिग्रनु धेरै राजनीति ठिक बाटोमा हिँड्नु नहिँड्नुमा निर्भरता हुन्छ । जनतन्त्र (डिमोक्रेसी) ल्याउन, राख्न, बढाउन हाम्रो राजनीतिक मूल लक्ष्य चिनौँ ।  जनतान्त्रिक व्यवस्थामा मात्र सबैको  केही न केही सुरक्षा र उन्नयन हुन्छ, सबैले दुखसुख आफ्नो खुसीले बाँच्न पाउँछन् ।

भारत संविधानले नै जनतान्त्रिक राज्य छ । यस व्यवस्थामुनि पनि तर हुकुमी (डिक्टटोरिअल) शासनका साना साना केन्द्रहरू अनेकौँ उम्रेका हुन्छन् । आफ्नै ससाना उपराज्यहरू बनाएर हुकुमी प्रशासन चलाइरहेका हुन्छन्  पार्टीका, सरकारी विभागका, संस्थाका कति अध्यक्षहरूले, पदाधिकारीहरूले । जनतन्त्र यस तहमा समेत ल्याउन सबै सधैँ सचेत रहौँ ।

कुनै व्यक्ति कसरी हुकुमी (डिक्टेटर) बन्नपुग्छ, मनोविज्ञानी कार्ल गुस्ताव यूङ (१८७५-१९६१)-ले बताएका छन्  : महान्, शक्तिशाली, उच्च बन्ने चाहना सबै मानिसमा हुन्छ तर त्यो सबैलाई सम्भव हुँदैन र तिनीहरूको पूर्ण नभएको चाहना अचेतमै अन्य कुनै व्यक्तिमा प्रक्षिप्त (प्रजेक्टेड) हुन्छ र तिनलाई महान्, शक्तिशाली उच्च र जयजयी देख्न थाल्छन् । व्यक्ति सुपात्र भए कति कल्याण कार्य हुन्छन् पनि । कुपात्र परे (जस्तो हिटलर) देश र जातिको सर्वनाश गराउँछ । समर्थकहरूले आफूलाई चाहिँ असहाय, अबोध बालकीय मनोवृत्तिका तुल्याएका हुन्छन् , आफैले केही विचार वा कुनै निर्णय गर्न नसक्ने बन्छन् ।

जनतन्त्र ल्याउनलाई र राख्नलाई हामीले आफूलाई अन्य मानिसभन्दा ठूला या साना नमानी (वर्गीकरणमा नपरी) सबैको समानका मान्नुपर्छ (व्यक्तीय सम्बन्धले) । साँच्चै समानताका कसरी हुनु ? – शङ्कराचार्यले प्रश्नोत्तरी-मा बताएका छन् :

लघुत्वमूलञ्च किमर्थितैव

गुरुत्वमूलं यदयाचनञ्च

लघुत्व (कसैभन्दा सानो हुनपर्नु) -को कारण अर्थिता (उसबाट केही पाउने आशा र लोभ ), गुरुत्व ( जसैसमान ठूलो हुनु ) –को आधार अयाचन ( कसैदेखि केही आशा वा लोभ नगर्नु ) । यै समानता जनतन्त्रको बल हो ।

-बुधवार २७ अप्रेल ०५

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here