कवि र कवितामा मोहन सुवेदी

0
901

-भविलाल लामिछाने

भारतको उत्तर-पूर्वमा अवस्थित असम राज्यको मध्यभागमा पर्ने लङ्का भन्ने ठाउँमा यज्ञप्रसाद सुवेदी र विष्णुमाया सुवेदीका जन्तरे पुत्रका रूपमा २५ जनवरी , १९६५ -का दिन मोहन सुवेदीको जन्म भएको हो ।

पिताजी पनि संस्कृत र बङ्ग्ला भाषाका पुस्तकहरू पढिरहने अनि घरमा लेख-पढको संस्कार भएकाले मोहनले स्कुलका दिनहरूमा नै असमिया, बङ्ग्ला, संस्कृत, हिन्दी र अङ्ग्रेजीभाषाका पुस्तकसित हेलमेल हुने मौका पाए । लङ्काबाटै आफ्नो प्राथमिक र माध्यमिक शिक्षा समाप्त गरी स्थानीय कलेजबाट बीए सिद्ध्याएर गुवाहाटी विश्वविद्यालयमा अर्थशास्त्र विषयमा एमए पढ्नथाले पनि परीक्षा भने  दिन पाएनन् । पछि नेपाली भाषा-साहित्यमा अध्ययन गरी नेपाली विषयमा स्नातकोत्तरको डिग्री प्राप्त गरे ।

मोहनले विद्यार्थी कालदेखि नै कथा, कविता, गीत रचना गर्न थालेका हुन् । आकाशवाणी गुवाहाटीमा उनका  कतिपय गीत रेकर्ड भई प्रसारित भएका छन् भने एलबमका रूपमा पनि  सङ्कलित छन् । चार दशकको साहित्य-लेखनको अनुभव भएका मोहन सुवेदीको पहिलो प्रकाशित रचना हो १९८१ मा ‘विन्दु’ पत्रिकामा छापिएको कविता  ‘नयाँ सूर्यको जन्म’ । असमिया भाषामा  पनि उत्तिकै सहजतासित लेखनी चलाउन सक्ने सुवेदीले असमिया भाषामा प्रशस्त साहित्य-सृजना गरेका छन् । असमिया भाषामा  पुस्तकाकार कृति प्रकाशित नभए तापनि धेरै पत्र-पत्रिकामा उनका रचनाहरू प्रकाशित भएका छन् ।

कवितामा नवीन आवेग र अनुभूतिलाई प्रस्तुत गर्ने सुवेदीका कवितामा सार्वजनीनता एउटा विशेष पक्ष देखिन्छ । वर्तमानमा मोहन सुवेदी भारतीय जीवन-बिमा निगमको कार्यालय, तेजपुर, (असम)- मा वरिष्ठ प्रशासनिक अधिकारीको पदमा कार्यरत छन् ।  कविताबारे मोहन सुवेदी आफ्नो विचार यसरी व्यक्त गर्छन्- ‘वास्तविक अनुभूतिको सम्प्रेषणी य काव्यिक भाव-अभिव्यक्तिको असल माध्यम हो कविता । वास्तविक उपलब्धि मात्रै भएर हुँदैन,  त्यहाँ चाहिन्छ कविको कलात्मकता । स्वकीय दृष्टि-भङ्गी र वास्तविक अभिज्ञताको सहायताले मानव-सभ्यता,  संस्कृति र ऐतिहासिक चेतना-बोधको काव्यिक चिन्ता-धारा जब व्यक्त गरिन्छ, तब जन्मिन्छ एउटा कविता । जीवनको तीक्ष्ण अनुभूति , मानवीय मूल्यबोध, आर्थ-सामाजिक अवक्ष्यय आदि अनेकौँ  नेपथ्यले अनवरत घच्घचाइरहेको अन्तर्मनलाई वहिर्प्रकाशको सरल माध्यमका रूपमा कविताको सिर्जना गरिएको हुन्छ । कविता को निजस्व गठन पद्धति , रूप-रीति र गतिशीलता छ,  जसका लागि आवश्यक पर्छ तीव्र अनुभूति , गतिशील धारणा , स्वकीय  मननशीलता र स्वच्छ दृष्टिकोण । प्रायः चालिस साल अघिबाट कवितासँग मेरो अन्तरङ्ग सम्पर्क छ।  देश-विदेशका पौराणिक अनि आधुनिक कविताहरू अध्ययन गर्दैजाँदा  पौरिएर आएका विभिन्न समयका प्रतिच्छविहरू आँखाअघि घुम्न  थाल्छन् । एकजना साधारण कविको हैसियतले आधुनिक कविताप्रति  मेरो आस्था सुदृढ छ । यस सत्यलाई अस्वीकार गर्न सकिँदैन, जबसम्म मानवीय अनुभूति र आवेगिक प्रकाशको स्वच्छ परिवेश  रहन्छ, त्यतिखेरसम्म कविताको मृत्यु हुँदैन ।’ 

सुवेदीका प्रकाशित कृति –

 कविता-सङ्ग्रह

१. पृथ्वीजसरी भोग्दैछु (१९८७)

२. केही शब्द र धुवाँ (२००४)

३. नीलो चरो र अन्य कविता (२०१६)

कथा-सङ्ग्रह

 १. माटो , मान्छे र माया (१९९८)

२. मृतकहरूको देशमा (२००८)

निबन्ध-समीक्षा

१. साहित्य र समीक्षा (२००५)

२. विवेचना र मूल्याङ्कन (२०२१)

गीत-सङ्ग्रह

 १. गीतको मूर्च्छना (२०१२)

अनुवाद

 १. मोरा (शिशु-ग्रन्थ, मूल लेखक – मुल्कराज आनन्द, न्यासनल बुक ट्रस्ट, २००२)

२. कविता (कविता-सङ्कलन,  मूल लेखक – नीलमणि फुकन, साहित्य अकादमी , २०१२)

सम्पादन

१. प्रहर (सामयिक पत्रिका)

२. लंकाज्योति (स्मृति-ग्रन्थ)

३. हस्ताक्षर (कविता-सङ्कलन)

४. प्रणिपात (असमिया स्मृति-ग्रन्थ)

 ५. समकालीन नेपाली साहित्य (पत्रिका)

६. सम्भार (पत्रिका)

७. दुर्गाज्योति (स्मृति-ग्रन्थ)

पुरस्कार सम्मान

 १. टङ्कनाथ उपाध्याय स्मृति कथा-पुरस्कार (असम, २००५)

 २. स्पन्दन कविता-पुरस्कार (कुवैत, २०१०)

३. विद्यावाचस्पति सारस्वत सम्मान (भागलपुर, २०१३)

 ४. स्रष्टा पुरस्कार (कथा विधामा , सिक्किम, २०१८)

५. कवि पुष्पलाल उपाध्याय स्मृति कविता-पुरस्कार, (असम नेपाली  साहित्य सभा, २०२१)  

मोहन सुवेदीको एउटा कविता :

स्वाधीनता

अहिले मसित सुकिसकेको एउटा सपना मात्र छ

जसले मेरा पाखुरालाई टमक्क बाँधेको छ

सपना भनेको नै आशा

आशा नै त हो जीवन

जसले मृतप्रायः घोषणा गरेको छ

मेरो समग्र-सत्व ।

साथीहरू यसबेला कहाँ पुगे होलान्

जो सिगरेटको धुवाँसित उडाउँथे

परिवर्तनका बाफहरू

विप्लवका नयाँ नमुनाहरूको प्रस्तुति

भ्रष्टाचार र दुर्नीतिविरुद्ध अन्यतम प्रस्ताव ।

रातभरि ओछ्यानमा लम्पसार परेको

अर्द्धनग्न वास्तव

अहिले उनीहरूका छातीभित्र पलाएको छैन भ्रुण

किनकि उनीहरू परिधिबाट मुक्त भइसकेका छन् ।

सपना भनेको नै वास्तव

ढुङ्गाजस्तो कठोर

र आकाशजस्तो दुर्लभ ।

मेरा बन्धुहरूले फ्याँकेर गएको यस जन-अरण्यमा

अहिले सुकेका पैतालाहरू अघि सार्दै

खोज्दैछु म स्वाधीनताको संज्ञा

 निसङ्ग महासागरको छातीमाथि ।

 तर पनि मर्न दिएको छैन

आवेशमा होस् वा आवेगमा

हिँडिरहेका पैताला मुनिको

काँचो माटाको सुगन्ध

नाकभरि ठोक्किएर फैलिन्छ

मेरा सपनाका परेलीहरूमा ।

हात अघि बढाइदे समय

मैले तेरो साथ कहिल्यै छोडेको छैन

ब्युँझिने छन् मृतप्रायः समग्र सपनाका देह

जसले घोषणा गर्नेछन्

हजारौँ सालका प्रस्तावित स्वाधीनता ।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here