-योगिता राई
बायोग्राफीका कतिपय पृष्ठ
धुमिल-धुमिल भइसकेको दार्जिलिङ ।
जसको अनुहारमा छ विरक्तिएको मुस्कान ।
तर उसको फिक्सन भने
जस्ताका तस्तै,
सुन्दर, सुडौल, आकर्षक,
चाखलाग्दो देखिन्छ ।
हेक्कै नभएको होइन
कहिलेदेखि इन्फेक्टेट चायाले कुरूप हुँदै
गइरहेको अनुहार बोकेको दार्जिलिङ
कार्यालय पस्छ
र फाइलहरूसित थाक लाग्छ,
नभए फाइलहरूभित्रै चेप्टिबस्छ ।
यस्तै त हुन्छ नि !
सिद्धान्त, स्वाभिमान र आत्मसम्मान भन्नेहरू
जब हावा खान चहार्न निस्कन्छन् बिहानदेखि
गति छाडेर,हावामा लेफ्रेक् लेफ्रेक् ।
तब छिप्पट भ्रष्टाचारको उमेरले गरिदिन्छ
फाइलहरूका हिसाब ।
र हुनथाल्छ
सोच-विचारको मेनोपज,
बौद्धिकता स्वप्नदोषमा मैथुनरत भएपछि
अस्तित्वको बाँझोपन,
वंशाणुगत बोन्साइ ।
अनि त दार्जिलिङमा
दार्जिलिङबाहेक अन्य सबैको जय ! जय !
गज्जब कविता!! दार्जिलिङको फिक्सन मन पर्यो चोटिलो व्यङ्गले भरिएको कविता।