पाकिमबाट शुरु भयो व्यावसायिक हवाइ उड़ान, मन्त्री लेप्चाले भने – हाम्रो सपना पूरा भएको छ

0
1550
बिहीवार 72 यात्रु लिएर पाकिम हवाइअड्डाबाट कोलकातातिर उड़न लागेको स्पाइसजेटको विमान। 

प्रकाश अधिकारी

पाकिम, 4 अक्टोबरः बिहीवार दिउँसो ठीक 1.25 बजे जब कोलकाताबाट आएको स्पाइसजेटको विमान पाकिम हवाई अड्डामा अवतरण भयो, तब सिक्किम पनि देशको हवाई मानचित्रमा व्यावसायिक रूपले सामेल भयो। स्पाइसजेटको सिक्किमगामी विमानमा 72 जना यात्री थिए। यात्रीहरूलाई स्वागत गर्न अघिबाटै राज्य सरकारका वरिष्ठ मन्त्री डीटी लेप्चा र मुख्य सचिव एके श्रीवास्तवको हवाई अड्डामा विशेष उपस्थिति रहेको थियो।
यात्रीहरू आएको स्पाइसजेटको विमानलाई एयरपोर्ट अथरिटी अव् इन्डिया (एएआई) -ले वाटर केनन सेलुट (पानीको फोहराको प्रतीकात्मक सलामी) -द्वारा स्वागत गरेको थियो।
उल्लेखनीय छ, कुनै नयाँ हवाई अड्डामा पहिलो विमान अवतरण हुँदा वा विमान सेवा सञ्चालन गर्ने कुनै कम्पनीले नयाँ विमान खरिद गरेर पहिलोचोटि अवतरण गराउँदा वाटर केनन सेलुट दिने प्रथा छ। स्पाइसजेटको माध्यमद्वारा आउने सबै यात्रीलाई मन्त्री डीटी लेप्चा र मुख्य सचिवले सिक्किमको पारम्परिक खादा लगाएर तथा फूलको गुच्छा दिएर स्वागत जनाए। त्यसपछि यात्रीहरूले पत्रकारहरूसँग कुराकानी गर्दै खुशी जताए।
धेरै यात्री अघिबाटै सिक्किम आएका भए तापनि विमानको माध्यमद्वारा पहिलोचोटि सिक्किम आएको अनुभूति उनीहरूले साझा गरे। यात्रीहरूले सिक्किममा विमानको माध्यमद्वारा आउनु पाउँदा खुशी अनुभव भएको अनि अन्य ठाउँको विमान यात्राभन्दा छुट्टै अनुभव भएको बताए।
सिक्किमको प्राकृतिक सौन्दर्यको पनि उनीहरूले प्रशंसा गर्दै आगामी दिनमा सिक्किममा पर्यटन व्यवसाय अझ बढ़ी फस्टाउने बताए। पहिलो जत्थाको रूपमा कुल 72 यात्री आएका थिए भने त्यसमा अधिकांश यात्री सिक्किमबाहिरका थिए। प्रायःजसो यात्री पर्यटन तथा व्यावसायिक प्रयोजनका लागि सिक्किम आएका थिए। यसबाट सोझै अनुमान लगाउन सकिन्छ, सिक्किममा आगामी दिनमा पर्यटन तथा व्यावसायिक प्रयोजनका लागि पाकिम हवाई अड्डा प्रतिष्ठित हुनेछ।
1.25 बजे पाकिम हवाई अड्डा आइपुगेको विमानले 2.10 बजे पाकिमदेखि कोलकाताका लागि उड्यो। कोलकाता जाने यात्रीको सङ्ख्या पनि 72 जना नै थियो। कोलकातागामी यात्रीहरूमा एकाध यात्री सिक्किमे रहे तापनि अधिकांश यात्री पर्यटक र व्यापारीहरू नै थिए।
मन्त्री डीटी लेप्चा र मुख्य सचिव आलोक श्रीवास्तवले स्पाइसजेटको केक काटेर आजदेखि व्यावसायिक उड़ान शुरु भएको आधिकारिक घोषणा गरे। विमानले उड़ान भर्ने समय मन्त्रीले झण्डा पनि फहराए।
यसै अवसरमा पत्रकारहरूलाई सम्बोधन गर्दै मन्त्री डीटी लेप्चाले भने, आज सिक्किमका लागि ऐतिहासिक दिन हो। हामीले सोचेको अनि देखेको सपना पूरा भएको छ। यस अवसरमा मुख्यमन्त्री पवन चामलिङ र सिक्किमे जनतालाई बधाई दिन चाहन्छु। क्षेत्र विधायकका रूपमा अत्यन्त खुशी छु। पर्यटनको नयाँ द्वार खोलिएको छ। मलाई आशा छ, सिक्किमे युवाहरूले यो नयाँ अवसरबाट भरपूर लाभ उठाउनेछन्।
मन्त्रीले अझ भने, आजदेखि कोलकाता यात्रा शुरु भए तापनि 16 अक्टोबरदेखि गुवाहाटी र आगामी महिनादेखि नयाँ दिल्लीको हवाई यात्रा शुरु हुनेछ। राज्य सरकारले अन्तरराष्ट्रिय हवाई यात्राको निम्ति केन्द्र सरकारलाई प्रस्ताव पठाइसकेको छ। भूटानको पारोको निम्ति जनवरीदेखि यात्रा आरम्भ हुनेछ। केन्द्र सरकारले चाँड़ै नै काठमाडौं र ब्याङ्ककको निम्ति पनि अनुमति प्रदान गर्छ भन्ने कुरामा हामी आशावादी छौं।
मुख्य सचिव श्रीवास्तवले पत्रकारहरूलाई सम्बोधन गर्दै भने, मैले जीवनको धेरै अंश सिक्किममा बिताए। आज मलाई जति खुशी लागेको छ, त्यस्तो खुशी मैले कहिल्यै अनुभूत गरेको थिइनँ। हामी ठूलो काम गर्न सफल भएका छौं। शुरुआती दिनहरूमा बहुत कठिनाइ आइपरेको थियो, आज ती सबै कठिनाइलाई पार गर्दै सिक्किम व्यावसायिक हवाई यात्रामा प्रवेश गरिसकेको छ। अब सिक्किमले विकासको नयाँ उँचाइ छुनेछ। सिक्किमको पुनः ब्राण्डिङ हुनेछ।
उल्लेखनीय छ, गत 24 सेप्टेम्बरको दिन प्रधानमन्त्री नरेन्द्र मोदीले आधिकारिक रूपमा पाकिम हवाई अड्डाको उद्घाटन गरेका थिए। उद्घाटनको ठीक दश दिनपछि व्यावसायिक रूपमा पाकिम हवाई अड्डाबाट उड़ान थालिएको छ।
आजदेखि दैनिक कोलकाता-पाकिम र पाकिम-कोलकाता नियमित रूपमा चल्नेछ भने 16 अक्टोबरदेखि गुवाहाटी-पाकिम र पाकिम-गुवाहाटी हवाई यात्रा शुरु हुनेछ।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here