बैठकमाथि गोरामुमोको शङ्का, नीरज जिम्बाले भने – यो बैठकको फलाफल केही आउँदैन

0
1610
गोरामुमो नेता नीरज जिम्बा (फाइल फोटो)

गान्तोक, 4 अक्टोबर : शुक्रवार 3 बजे नर्थ ब्लकमा विमलपन्थी गोर्खा जनमुक्ति मोर्चा (गोजमुमो) र केन्द्रिय गृहमन्त्रालयबीच हुने भनिएको सचिवस्तरीय बैठकलाई राजनीतिक कसरतको संज्ञा दिने गोर्खा राष्ट्रिय मुक्ति मोर्चा (गोरामुमो) -ले बैठकमाथि शङ्का गरेको छ।
बिहीवार यो बैठकबारे प्रतिक्रिया व्यक्त गर्दै गोरामुमोका नेता नीरज जिम्बाले केवल बैठकमाथि मात्र शङ्का गरेनन् तर बैठकको कुनै फलाफल नआउने दाबी समेत गरे। आफ्नो यो दाबीलाई बल पुऱ्याउन उनले पछिल्ला केही बैठकलाई अघि सारेका छन्।
उनले भने, यो बैठक सौजन्यमूलक भेटघाट हुनसक्छ। यसबाट कुनै फल आउँछ भन्ने हामीलाई लाग्दैन। कारण हामीलाई थाहा छ, विगतमा धेरै द्विपक्षीय र त्रिपक्षीय वार्ता भएको हो, तर फलाफल केही आएन। सरकारी र राजनीतिक स्तरमा बैठक हुँदा पनि फलफल केही आएन। भोलिको बैठकको आधिकारिक सूचना जारी भएको छैन, त्यसैले केन्द्रिय गृहमन्त्रालयले द्विपक्षीय वार्ता बोलाए तापनि यसको कुनै फलाफल आउनेछैन।
यो बैठक एउटा खेमालाई माथि उठाएर खुशी बनाउने राजनीतिक कसरत मात्र रहेको पनि दाबी गरे। उनले आफ्नो प्रतिक्रियामा यो बैठकलाई सौजन्यमूलक र मुद्दाविहीन दाबी गरे तापनि वार्तामा बस्न जाने विमलपन्थी गोजमुमोका प्रतिनिधिहरूलाई शुभकामना पनि दिएका छन्।
केवल आँसु पुछ्ने बैठक
यो बैठक केवल सौजन्यमूलक भेटवार्ता रहेको गोरामुमो नेताले दाबी गरेका छन्। उनका अनुसार विगतमा पनि यस्ता सौजन्यमूलक बैठकहरू भएको थिए। पछिल्लो गोर्खाल्यान्ड आन्दोलनअवधि पनि पहाड़का राजनीतिक दलहरूलाई लिएर गठन गरिएको गोर्खाल्यान्ड मुभमेन्ट कोअर्डिनेशन कमिटी (जीएमसीसी) –को टोली दिल्ली जाँदा पनि यस प्रकारको अनौपचारिक सौजन्यमूलक भेटवार्ता केन्द्रिय गृह मन्त्रालयसँग धेरै भएको बताएका छन्। उनका अनुसार त्यो मुद्दाविहीन सौजन्यमूलक मिटिङ मात्र थियो। र भोलिको मिटिङ पनि मुद्दाविहीन सौजन्यमूलक मिटिङ मात्र हो।
105 दिनको बन्दमा गृह मन्त्रालय कहाँ थियो?
उनले पछिल्लो 105 दिनको बन्दमा आँखा चिम्लेर मौन बस्ने गृह मन्त्रालयको व्यवहारप्रति पनि प्रश्न गरेका छन्। पछिल्लो 105 दिनको जनआन्दोलन हुँदा गृह मन्त्रालय किन साइलेन्ट मूडमा थियो? एक्कासी 2019 आउँदा गृह मन्त्रालयलाई दार्जीलिङको कसरी याद आयो? दार्जीलिङको समस्याको कसरी याद आयो?, गोरामुमो नेताले भने।
उनले पछिल्लो आन्दोलनकालमा द्विपक्षीय वार्ता हुँदा हुँदै पनि म असमर्थ छु भनेर आफ्नो निरीहता देखाउने केन्द्रिय गृहमन्त्रीले द्विपक्षीय वार्तामा जुनै दललाई बोलाए तापनि गोरामुमोको कुनै आपत्ति नरहेको बताए। यद्यपि दार्जीलिङको जमिनी सत्यता के छ त्यो जान्नुपर्ने माग गरेका छन्।
यी गोरामुमो नेताले अहिले दार्जीलिङ पहाड़मा कुनै पनि पार्टी बहुमतमा नरहेकोले बताउँदै केन्द्रले बैठक बोलाउँदा यी कुरालाई ध्यानमा राख्नुपर्ने आशयको बयान दिएका छन्। उनका अनुसार कुनै एक पार्टीलाई काखी च्यापेर बोलाउनका सट्टामा सबै पार्टीलाई बोलाएमा राम्रो हुनेछ।
केन्द्रले विमल गुरुङपन्थी गोजमुमो र राज्य सरकारले विनय तामाङपन्थी गोजमुमोलाई काखी च्याप्ने कार्य गरिरहेको जिम्बाको भनाइ छ। उनका अनुसार यो काखी चेपाइले कसैको भलाइ हुँदैन। यसरी राज्य र केन्द्रले एक एक खेमालाई काखी चेप्दा न त दार्जीलिङको भलाइ हुन्छ न त दार्जीलिङको समस्याको समाधान हुन्छ, उनले भने।
जिम्बाले भोलि बसिने बैठकको एजेण्डा हुनुपर्ने बताएका छन्। उनले भने, कुनै पनि मिटिङको एजेण्डा हुनुपर्छ। आज गोर्खा जनमुक्ति मोर्चा खेमा -1 –ले कुन एजेण्डामा मिटिङ बस्नेछ। मुद्दाकेन्द्रित हुनुपर्छ।
हामीलाई त्रिपक्षीय वार्ता चाहिन्छ
उनले द्विपक्षीय वार्ताको सट्टामा त्रिपक्षीय वार्ता हुनुपर्ने माग पनि गरेका छन्। यसका लागि केन्द्र र राज्य दुवैले इगो त्याग्नुपर्ने जिम्बाको भनाइ छ। हामीलाई चाहिएको त्रिपक्षीय वार्ता हो। केन्द्र र राज्य दुवैले अलिक लचिलोपन देखाऊन्। भाजपा र तृणमूल कङ्ग्रेसको इगो तथा विनय भर्सेस विमलको कारण पहाड़को समस्या, पदाड़वासीको सपना दबिएर जाँदैछ। उनले सबै पार्टीका प्रतिनिधिहरूलाई निम्ताएर केन्द्र सरकारले डायलग ओपन गर्नुपर्ने जिम्बाले माग गरे। यसका लागि केन्द्रले राज्यलाई चाप दिनुपर्ने उनको भनाइ छ। उनले यदि केन्द्र सरकार इमानदार छ भने वार्ताको फलफल जारी गरिनुपर्ने माग पनि गरेका छन्। बैठक जेका लागि भए पनि त्यसको साँचो कुरा जनताअघि आउनुपर्ने यी गोरामुमो नेताले बताएका छन्। हामी चाहन्छौं दिल्लीले इमानदारपूर्वक गोर्खाको हित चाहन्छ भने त्रिपक्षीय वार्ता डाक्नु पर्छ।
केन्द्रले गोर्खाहरूको समस्या समाधान गर्ने इच्छाशक्ति देखाओस्
केन्द्रले गोर्खाहरूको समस्या  समाधान गर्ने इच्छाशक्ति देखाउनुपर्ने उनले माग गरेको छ। उनका अनुसार वर्तमान केन्द्र सरकारसँग गोर्खाहरूप्रति इमानदारिता देखाउनका लागि शीतकालीन सत्र बाँकी छ। यदि प्रधानमन्त्री नरेन्द्र मोदीले गोर्खाहरूको सपना मेरो सपना भन्नेछन् भने यसलाई पूरा गर्नुपर्ने उनले माग गरेका छन्। यदि प्रधानमन्त्रीले चाहेमा एकै रातमा गोर्खाहरूको सपना पूरा हुनेछ। उनले द्विपक्षीय-त्रिपक्षीय बैठक केही बोलाउन पर्दैन। आफ्नै निर्णयमा समाधान गर्ने क्षमता हुन्छ , गोरामुमो नेता नीरज जिम्बाले भने।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here