तृणमूल सरकारको बेवास्ताका कारण बाघडुग्रा हवाइअड्डामा यात्रुहरूको भीड़

0
1244

राजु बिष्ट (सांसद, दार्जीलिङ)

दार्जीलिङ लोकसभा निर्वाचन क्षेत्रबाट सांसद तथा बाघडुग्रा हवाइअड्डा सल्लाहकार समितिका अध्यक्षको हैसियतले म पश्चिम बङ्गाल सरकारद्वारा हवाइअड्डा विस्तारका लागि भूमि आवण्टन गर्ने  घोषणाको स्वागत गर्दछु।

बाघडुग्रा हवाइअड्डा विस्तारका लागि अत्यावश्यक भूमि अन्ततः उपलब्ध गराइएको घोषणा हामी सबैका लागि ठूलो राहतको खबर हो।

यसका लागि हामीले धेरै मिहिनेत गर्नुपऱ्यो। एयरपोर्ट अथोरिटी अव् इण्डिया (एएआई)-ले हवाई अड्डाहरूको निर्माण वा विस्तारका लागि सामान्यतया भूमि खरिद गर्दैन, तर बाघडुग्रा हवाई अड्डामा सुविधा बढ़ाउनका लागि हाम्रो निरन्तर अनुरोधको परिणामस्वरूप बाघडुग्रालाई एक अपवादको रूपमा लिँदै, एएआईले  हवाई अड्डा नजिकैका दुईटा चियाबगानबाट भूमि खरिद गर्न 25 करोड़ रुपियाँ पश्चिम बङ्गाल सरकारलाई सुम्पिएपछि अब भूमि हस्तान्तरण हुने निश्चित भएको छ।

तृणमूल कङ्ग्रेस सरकारको उदासीनता र बेवास्ताका कारण बाघडुग्रा हवाइअड्डामा साँच्चै नै यात्रुहरूको भीड़ थाम्न नसक्ने अवस्थामा पुगिसकेको थियो।

वर्तमान टर्मिनलको निर्माण प्रतिवर्ष 7.5 लाख यात्रुको आवागमनका लागि गरिएको थियो, तर 2019-20 मा यहाँबाट झण्डै 32 लाख 16 हजार यात्रुले हवाई यात्रा गरे।

प्रतिघण्टा 400 यात्रुलाई सेवा प्रदान गर्नेगरी बनाइएको हवाई अड्डाले प्रतिघण्टा करिब 1,000 यात्रुलाई सम्हाल्नु परेको कल्पना गर्नुहोस्। वर्ष 2014-15 मा बाघडुग्रा हवाई अड्डाबाट जम्मा 10-11 व्यापारिक उड़ान हुन्थे भने आज यसको सङ्ख्या प्रतिदिन 37 उड़ान पुगेको छ। बाघडुग्रा भारतका व्यस्ततम् हवाई अड्डाहरूको सूचीमा 15औँ स्थानमा पुगेको छ।

तरै पनि, तृणमूल कङ्ग्रेस सरकारले हवाई अड्डाको विस्तारका लागि आवश्यक भूमि हस्तान्तरण गर्न बारम्बार अस्वीकार गरिरहेको थियो। यसको परिणामस्वरूप, यात्रुहरू साथै एयरलाइन कम्पनीहरूले समेत व्यापक समस्या भोग्न परिरहेको थियो।

भूमि हस्तान्तरण पछि केन्द्र सरकारले टर्मिनल र सम्बन्धित पूर्वाधारमा सुधारको दिशामा काम गर्न सक्ने छ भनी मलाई अत्यन्तै खुशी लागिरहेको छ।

मलाई जानकारी दिइएअनुसार सबै प्रस्तावित डाइग्राम र योजना तयार छन्। प्रस्तावित नयाँ टर्मिनल तथा सम्बन्धित पूर्वाधारमा 600 करोड़ रुपियाँ लागतको अपेक्षा छ, र यसबाट बाघडुग्रामा यात्रुहरूको यात्रा-अनुभवमा मौलिक परिवर्तन हुनेछ।

वर्तमानमा, बाघडुग्रा हवाई अड्डा टर्मिनलको आकार 8,000 वर्ग मीटर मात्रै छ, तर नयाँ टर्मिनलको आकार 1 लाख वर्ग मीटर हुनेछ। नयाँ टर्मिनलमा बर्सेनि 1.25 करोड़ यात्रुलाई सेवा प्रदान गर्नसक्ने क्षमता हुनेछ, जो वर्तमानमा 7.5 लाख यात्रु क्षमताको मात्रै छ।

नयाँ टर्मिनलले प्रतिघण्टा करिब 4,000 यात्रुलाई सेवा प्रदान गर्न सक्नेछ, जो वर्तमानमा करिब 400 मात्रै छ। नयाँ टर्मिनलमा 10 एरोब्रिज हुनेछन्, जसले यात्रुहरूको तीव्र एवम् सहज आवागमनमा मद्दत गर्नेछन्, वर्तमानमा एउटा पनि एरोब्रिज छैन। नयाँ टर्मिनलमा विमान पार्किङ वे-हरू 16 वटा हुनेछन्, जो वर्तमानमा जम्मा 5 वटा मात्र छन्। 

भूमि हस्तान्तरण हुनेबित्तिकै, एएआईले पर्यावरणीय अनुमतिका लागि आवेदन गर्नेछ र टेन्डर प्रोसेसलाई अन्तिम रूप दिनेछ।

यस प्रक्रियालाई 6 देखि 9 महिनामा पूरा गरिनेछ। निर्माण कार्य शुरु भएपछि, यो प्रोजेक्ट 2 वर्ष भित्रमा पूरा गरिनेछ। तसर्थ, 2023 सम्ममा हाम्रो क्षेत्रमा स्थानीय यात्रु र व्यापारिक आवश्यकताहरू पूरा गर्नेका साथै घरेलु एवं अन्तर्राष्ट्रिय पर्यटकहरूलाई सेवा प्रदान गर्न सक्षम विश्वस्तरीय हवाई अड्डा बनिनेछ। यसले यो क्षेत्रमा पर्यटनलाई बढ़ावा दिनका साथै यहाँका जनतालाई राम्रो हवाई सम्पर्कता उपलब्ध गराउने छ।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here