चाँड़ै गोर्खाहरूले न्याय पाउने कुरामा हामी विश्वस्त छौँ : लोप्साङ लामा

0
1377

दार्जीलिङ, 4 सेप्टेम्बरः  केन्द्र सरकारले गोर्खाल्याण्डसम्बन्धी मुद्दामा आउँदो 7 अक्टोबरका दिन डाकेको बैठकबारे प्रतिक्रिया व्यक्त गर्दै विमलपन्थी गोजमुमोका कार्यकारी अध्यक्ष लोप्साङ लामाले चाँड़ै दार्जीलिङ पहाड़, तराई एवं डुवर्सलगायत विश्वभरि छरिएर बसेका गोर्खाहरूले न्याय पाउने कुरामा आफूहरू विश्वस्त रहेको बताएका छन्।

आज एक प्रेस विज्ञप्ति जारी गरी उनले यस्तो बताएका हुन्। लामाले भनेका छन्, ‘भारत सरकारको गृह मन्त्रालयअधीनस्थ केन्द्र-राज्य सम्बन्धित विभागद्वारा प्रेषित गोर्खाल्याण्ड विषयमा डाकिएको बैठकमा गोर्खा जनमुक्ति मोर्चालाई सामेल हुन पत्राचार गरिएकोमा गृह मन्त्रालयप्रति गोर्खा जनमुक्ति मोर्चा आभार प्रकट गर्दछ। धेरै दिनदेखि हामी यही विषयमा लागिपरेका थियौँ। र आज गृह मन्त्रालयले स्पष्ट रूपमा गोर्खाल्याण्डसम्बन्धी वार्ता डाकेकोमा आजसम्मको हाम्रो लगन र निरन्तर गरेको परिश्रम खेरो नगएको अनुभूति भएको छ।’

उनका अनुसार भारत सरकारको गृह मन्त्रालयले आज प्रेषित गरेको पत्रमा गोर्खाल्याण्डका लागि डाकिएको बैठक भनेर उल्लेख गरेकोले गोर्खा जनमुक्ति मोर्चाको स्थायी राजनीतिक समाधान गोर्खाल्याण्ड नै हो भन्ने कुरामा केन्द्र सरकार पनि अवगत रहेको स्पष्ट भएको छ।

‘अब चाँड़ै दार्जीलिङ पहाड़, तराई एवं डुवर्सलगायत भारत तथा विश्वभरि छरिएर बसेका गोर्खाहरूले न्याय पाउनेछ भन्ने कुरामा हामी विश्वस्त छौं’, लामाले थप भनेका छन्, ‘हामीलाई भारत देशका लागि गोर्खा जातिले बारम्बार दिएको योगदानको उचित मूल्याङ्कन हुने समय नजिक आएको आभास भएको छ।‘

अर्कोतिर विमलपन्थी मोर्चाका कार्यकारी अध्यक्ष लोप्साङ लामाले त्रिपक्षीय वार्ताका लागि सांसद राजु बिष्टलाई पनि पार्टीको तर्फबाट धन्यवाद दिँदै सांसद बिष्टले बारम्बार गोर्खाहरूको स्थायी राजनीतिक समाधान विषयमा संसदमा साथै धेरै केन्द्रिय मन्त्रीहरूलाई भेटेरै कुरा राखेको बताएका छन्।

‘आउँदो 7 अक्टोबर बुधबारका दिन हुने बैठकले गोर्खाहरूका लागि एक सुनौलो भविष्यको ढोका खोल्ने कुरामा हामी विश्वस्त रहेका छौँ’, लामाले थप भनेका छन्।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here