
गान्तोक, 4 अक्टोबरः सिक्किम स्टुडेन्ट पार्लिमेन्ट नामक गैर-सरकारी संस्थाको सप्ताहव्यापी वार्षिक क्षितिज समारोह 2020-को समापन शनिवार साँझ सम्पन्न भयो।
समापनमा पूर्व मुख्यमन्त्री पवन चामलिङ मुख्य अतिथि थिए।
समापनमा अघिबाटै आयोजित कविता प्रतियोगिताबाट चयन भएका प्रतियोगीहरूले अङ्ग्रेजी तथा नेपाली भाषामा कविता वाचन गरे।
कार्यक्रमलाई सम्बोधन गर्दै मुख्य अतिथि चामलिङले क्षितिज कार्यक्रमको सफलताका लागि बधाईसँगै संस्थाको भविष्यका लागि शुभकामना व्यक्त गरे।
यसअवसरमा चामलिङले विद्यार्थीहरूमा विभिन्न ज्ञान साझा गरे। उनले संयुक्त राष्ट्र सङ्घद्वारा अनुमोदित जैविक खेतीलाई अघि बढ़ाउन अनुरोध गरे।
चामलिङले आफ्नो सरकारको कार्यकालमा सिक्किममा भएका विकासीय कार्यहरूबारे जानकारी गराए।
उनले विद्यार्थीहरूलाई दृढ़ आत्मविश्वासका साथ सिक्किमको भविष्य निर्माणमा अग्रसर रहन आग्रह पनि गरे।
कार्यक्रमको समापन अवसरमा राज्यस्तरीय तर्क तथा कविता प्रतियोगिताको परिणाम पनि घोषणा गरियो।


