-ज्ञानेन्द्र खतिवडा
सभ्यता मानिसलाई विज्ञान छेउ पुऱ्याउन अघि नै श्रमको संस्कृतिको विकास भएको हो । श्रमको कुलोबाट पसिना सिञ्जित हुँदैजाँदा मानव समाजमाझ सुन्दर सुन्दर संस्कार र संस्कृति हराभरा भएर हुर्कन थालेको हो । मानव विवेक कल्पना तथा स्मृतिको जोडसित मिलेर वास्तविक घटनाहरू विवरणसहित वर्णनहरूका पुञ्जबाट निर्माण भएको हो लोक संस्कृति । यसलाई अझ सहज प्रकारले यसरी भनौँ – प्रकृतिलाई मूलमा राखेर युगौँदेखि पोखिएका पसिनाबाट जन्मिएका उत्सुकता र जिज्ञासाहरू अनुभूत हुँदैगएको मौसमी बोटमा लागेको फल हो संस्कार र संस्कृति ।
मानिस गुफामा बस्दातका पशु मारेर खानलाई श्रमकै आवश्यकता परेको हो । एकलो श्रमबाट पाइने उपलब्धिभन्दा सामूहिक प्रचेष्टाबाट प्राप्त उपलब्धिको बोध हुँदैजान थाल्यो मानवमाझ । जङ्गली अवस्थामा कन्दमूल खोस्रिनलाई पनि परिश्रम गर्नुपरेको हो । हात बाँधेर बस्दा क्षुधा नमेटिने निश्चित थियो । पशु मारेर भोक मेटाउनलाई पनि एकताको श्रम-प्रचेष्टाभन्दा समूहको श्रम प्रचेष्टामा कार्य सम्पादन गर्न सहज बन्दैगएको अनुभव मानिसले बटुल्दैगयो । गुफा बसाइ निकै लामो हुनुपर्छ । त्यही गुफामा मानिसले प्रथमचोटि चित्रकलासँग भेट गऱ्यो । अन्य कलासित पनि बिस्तारै परिचय साट्दैगयो । त्यसपछि मानवले गुफा छाड्यो र कृषिकलामा उत्रियो । गुफाबाट पाएको ज्ञान र अनुभवबाट जन्मिएको चेत बोकेर खेतमा ओर्लियो मानव श्रम । एकलको प्रचेष्टाभन्दा समूहको प्रचेष्टा सहज हुने र सबैद्वारा थोरै थोरै श्रम खर्चँदा नै ठुलो कार्य सम्पादन हुनसक्छ भन्ने अनुभव खेतीपाती गर्ने कार्यमा पनि सहयोगसिद्ध भयो ।
र एकताको महत्त्व बुझ्यो मानव समूहले ।
कुनै पनि कार्य सम्पादनमा श्रमलाई सहज बनाउनलाई एकता नै बल हो भन्ने बोध हुँदैगयो । पछि यही सामूहिकताको अनुभवबाट प्राप्त ज्ञानले श्रमपछि विश्रामको आवश्यकता पनि बोध गरायो । विश्रामका समयमा श्रमसँग बटुलिएका महत्त्वपूर्ण घटना र क्षणहरूलाई बिस्तारै संस्कारमा ढाल्दै गए र कालान्तरमा त्यही संस्कार नै संस्कृति बन्यो ।
नेपाली जातिले युगौँदेखि मनाउँदै आइरहेको चाड दसैँ पनि श्रम सम्बन्धित सांस्कृतिक चाड हो । गुफा र कृषि दुवै क्षेत्रबाट बटुलिएका तत् तत् क्षणका घटनाहरू मिसिन आएका छन् यो सांस्कृतिक चाड दसैँ निर्माणमा । माथि भनिए झैँ यो संस्कृति चाड निर्माणमा गुफामा बस्दाको अनुभवको अलिकति अंश पनि जोडिन आएको छ , जसलाई आजभोलि हामी मौलो बनाएर ‘मार हान्नु’ शब्दभित्र संरक्षित भएको पाउँछौँ । त्यतिबेला गुफाबाट टाढा टाढा घनघोर जङ्गलमाझ ज्यानलाई जोखिममा राखेर जङ्गली देउतालाई पूजा दिँदै ह्रिंसक पशु मारेको घटना यतिबेला मौलो बनाइ पूजा गर्दै मार हानी रमिता बनाउँछौँ हामी । दसैँ चाडको निर्माणमा कृषिकलासित बटुलेको अनुभवलाई संस्कृतिको रूप दिनमा अधिक हिस्सादार वा अंशिदार बनाएको पाइन्छ, जसभित्र जमरा उमार्ने र शिरमा जमरा राख्दै कानमा समेत सिउरिने चलन यही कृषि ज्ञानबाट आएको सांस्कृतिक पक्ष हो ।
यो सांस्कृति चाड दसैँ र तिहारको निर्माणमा कुनै धार्मिक धरातलको आधार छैन भन्ने मनसाय हो । श्रमसित जन्मिएका सुख दुःखका ढाँचा र ढर्रा अनुकरण गर्दै गएका क्षणहरूलाई टिपेर निर्माण भएको हो र दसैँ तिहारजस्ता नेपाली चाड । धर्मको अवधारणा बनिन धेरै अघि नै यस्ता संस्कार र सांस्कृतिक सोच जन्मिसकेको अनुभव हुन्छ । परिश्रम संसारको कुन मान्छेले गरेन होला ।
अफ्रिकादेखि युरोप, अमेरिका र अस्ट्रेलिया हुँदै एसियासम्म नै भौगोलिक अवस्थान अनुरूप गुफा वा यस्तै केहीको सहारा लिएको इतिहासमा पढ्छौँ हामी । त्यसपछि खेतीसँगको परिचय पाए उता सबै महादेशका मानिसहरू खेतीमा उत्रिएको हुनु निश्चित छ । त्यतिबेलासम्म मानव मस्तिष्कले देउता र धर्म सोच्न भ्याएकै नहुँदो हो ।
यसरी नेपाली जातिको सांस्कृतिक चाडको जन्म भएको हो ।
नेपाली वा गोर्खा जातिले मनाउने दसैँ चाडको शुरूमा हामीलाई छाडेर गएका आफन्तहरू सम्झन्छौँ । त्यसपछि बिस्तारै हामी घटास्थापनाका दिन जमरा छर्छौँ । शुरूमा प्रकृतिको पहिलो अन्न जौलाई मानिएको कुरो मिश्र देशमा पाइएको अवशेषबाट पनि पत्तो लाग्छ । हाम्रा पुर्खाले पनि त्यसबेला जौ नै उमार्थे र नै जमरा भनिन थालियो । पछि जमरामा गहुँ धान अन्य अन्नादि पनि मिसाएर उमारिन थालिएको हो । यसरी छरेका अन्नहरू अङ्कुरित हुँदै कलिला हरिया बालाहरू जमरा बन्छन् ।
फूलपाती पनि त्यस्तै सप्तमीका दिन डोलीभित्र बेल र बेलपत्ताहरू राखेर नगर परिक्रमा गर्नेगरिन्छ । जातीय एकता हो यो । अष्टमीमा मार हान्ने चलन छ । प्रकृतिको पूजा गर्ने जातिले प्रतिमा बनाइ सेलाउने चलन निश्चय पनि गोर्खा जातिमा बाहिरबाट भित्रिएको हो । नत्र खोला-नाला, सूर्य, पृथ्वी हावा-पानीको पूजा गर्ने स्वभावभित्र मूर्ति पूजा कताबाट भित्रियो ? दशमीमा आफ्ना मान्यजनबाट चामलको टिको थाप्ने र आर्शीवाद लिने चलन भारतीय महाद्वीपमा त छैन छैन, सिङ्गो एसियामा पनि कतै पाइँदैन । विश्वमा पनि कहीँकतै होला कि शङ्कै लाग्छ । गोर्खा जातिभित्र केही जातमा एउटा अनौठो चलन छ, त्यो चलन हो बाबुले आफ्ना छोरीभन्दा पहिले गोडा ढोग्ने, जसमा पुरुषले नारीले दिएको सम्मान हो मान्छौँ हामी । गोडा ढोग्ने बाबुकी ती छोरी, छोरीभन्दा पहिले पृथ्वीकी छोरी हुन् ; यसरी बुझ्छौँ हामी । हाम्रो एकदमै सटिएको छिमेकी जातिभित्र बाबुलाई छोरीले गोडा ढोग्दै गरेको देखिन्छ । हामी गोर्खाहरू युद्ध लिएर चिनिन्छौँ । यसैले हामी हात हतियारलाई दसैँमा पुज्ने गर्छौँ । हतियारको पूजा गर्नु शौर्य र वीरताको परिचय परिचय दिनु हो ।
हामी रङ्गीन चामलको टिको मुछेर लगाउने चलन पनि छ । रङले सबैतिर विवाद सृष्टि गरेजस्तै दसैँको टीकामा पनि रङको विवाद नउठेको होइन, तर रङहीन चामलकै अस्सली रङमा पनि टिको लगाउन सक्छौँ हामी ।
यही जमरालाई शिरमा राखेर टीका थाप्ने संस्कार नै हरेक नेपालीलाई आपसी सद्भाव, सदाचार, समृद्धिसहितको एकताको शक्तिको बाँधेर राख्छ । अङ्कुराएको जमरा बढ्दैगए झैँ जातीय एकता पनि बढ्दैजान्छ । हाम्रो प्रगतिले जतिसुकै परिवर्तन खोजे पनि हाम्रो पुर्खादेखि चल्दैआएको संस्कार र परम्परा भनौँ हामीले संस्कृति बनाएर ल्याएको चाड जमराजस्तै हलक्क बढोस् र प्रत्येक गोर्खाको शिरैमा बास गरोस् ।
प्रकृतिको पूजा गर्ने हामी प्रकृतितिरै फर्कनसकौँ ।