थप कर्मचारीनियुक्ति र पूर्वाधार विकासको आशामा नेताजी म्युजियम

0
1545

सिलगढ़ी, ४ नोभेम्बर: खरसाङको गिद्देपहाड़मा रहेको नेताजी सुवास चन्द्र सङ्ग्रहालय (नेताजी म्युजियम)-को अवस्था सोचेजस्तो छैन। जसको फलस्वरूप बङ्गालकै गर्व यो सङ्ग्रहालयको कायाकल्प गरिनु अत्यावश्यक रहेको छ।

विशेषगरी यसलाई लोकप्रिय बनाउन तथा महान् स्वतन्त्र सेनानीहरूको सम्पदालाई बचाउन तथा यसको पूर्वाधार यथावत राख्नका लागि कर्मचारीहरूको आवश्यकता खट्किरहेको छ।

उल्लेखनीय छ, अहिले यो म्युजियममा प्रभारी र चौकीदार गरी केवल दुईजना कर्मचारी छन्। यद्यपि नेताजी म्युजियमलाई बचाइराख्नका लागि राज्यकी मुख्यमन्त्री ममता ब्यानर्जी केही उत्साही देखिएकी छन्।

मुख्यमन्त्रीले यसको मरम्मतीका लागि २०१७ र १८ मा १०-१० लाख गरी कुल २० लाख दिइसकेको यसका प्रभारी गणेश प्रधान बताउँछन्। तथापि २० लाखले सङ्ग्रहालयको पूर्वाधारको पूर्ण मरम्मती भने सम्भव नरहेको उनी बताउँछन्।

उनका अनुसार सङ्ग्रहालयले अहिलेघरी भोगिरहेको सबैभन्दा ठूलो अभाव भनेको कर्मचारीहरूकै न्यूनता हो।

“हामी केवल दुईजना कर्मचारी छौं। यसैले यो ऐतिहासिक सङ्ग्रहालयको संरक्षण र रखरखाउ हामी दुईजना कर्मचारीबाट मात्र सम्भव छैन”, उनले भने।

पर्याप्त कर्मचारीहरूको नियुक्तिबिना यसको संरक्षण, संवर्धन र लोकप्रियतालाई बचाइराख्न गरिएका सबै कोशिश व्यर्थै जाने उनको भनाइ छ। किनभने कार्यरूपमा यसलाई बचाउने भनेकै यहाँका कर्मचारीहरू हुन्।

यसभन्दा अघि सङ्ग्रहालयमा तीनजना कर्मचारी थिए। तर, नेताजी सुवास चन्द्र बोसका अति नजिकका स्वतन्त्र सेनानी कालुसिंह लेप्चाकी छोरी मोतीमाया लेप्चाको मृत्युपछि यहाँ केवल दुईजना कर्मचारी भएका हुन्।

जसको फलस्वरूप सङ्ग्रहालयका लागि अत्यावश्यक रहेका रिसेप्शनिस्ट, रात्रि गार्ड, लिपिक कर्मचारी र अन्य आवश्यक कुराहरू नै छैन। जसले गर्दा यसको सञ्चालन र संरक्षणमा समस्या सिर्जना हुनेगरेको छ।

यसका साथै अनुसन्धान केन्द्र, पुस्तकालय कोठालगायत पहाड़ी भाषा, समाज परम्परा र संस्कृतिको अध्ययनका लागि अध्ययन कक्षाको आवश्यकता छ।

पछिल्लो २४ अक्टोबरको दिन राज्यकी मुख्यमन्त्री यस सङ्ग्रहालयको भ्रमणमा आउँदा कर्मचारी नियुक्तिलगायत, पूर्वाधारको विकास तथा बाउण्ड्री आदिको माग गर्दै एक ज्ञापन बुझाइएको यस म्युजियमका प्रभारीले बताएका छन्।

“नेताजी म्युजियमका समस्याहरू समाधान गर्नका लागि मुख्यमन्त्री सकारात्मक देखिएकी छन्। उनले भ्रमणअवधि राज्यका सूचना एवं सांस्कृतिक मामिला मन्त्री इन्द्रनील सेनलाई एक प्रस्ताव बुझाउने आदेश दिएकी छन्। मैले यसका आवश्यकता र हाम्रा मागहरूको सूची दिइसकेको छु”, प्रधानले भने।

भ्रमणअवधि मुख्यमन्त्रीले भवनको दुरवस्थालाई लिएर चिन्ता व्यक्त गरेको तथा यसको जीर्णोद्धारका लागि गम्भीर देखिएको पनि उनले जानकारी गराएका छन्। नेताजी म्युजियमको भवनलाई धरोहर घोषणा गरिसकिएको तथा यसको मरम्मती के कस्तो भयो, त्यो हेर्न आएको ममताले त्यसबेलाको भ्रमणअवधि बताएको प्रभारी गणेश प्रधानको भनाइ छ।

अर्कोतिर, पर्यटन संरक्षण सङ्घका संयोजक राज बसुले पनि नेताजी म्युजियमको समुचित संरक्षण र जीर्णोद्धार हुनुपर्ने कुरामा जोड़ दिएको छ।

खरसाङ क्षेत्रको पर्यटन विकासका लागि महत्त्वपूर्ण रहेको नेताजी म्युजियमको संरक्षण र संवर्धन हुनुपर्ने उनको भनाइ छ। यसो गरिएको खण्डमा स्वतन्त्र सङ्ग्रामीहरूले उपस्थिति र सम्पदाले बेग्लै बनेको यो ठाउँको लोकप्रियता थप बढ़्ने राज बसुको तर्क छ।

उल्लेखनीय छ, खरसाङको गिद्देपहाड़ भारतका दुई छोरा शरतचन्द्र बोस र नेताजी सुवासचन्द्र बोसको समृद्ध विरासत रहेको ठाउँ पनि हो। १९२२-मा यहाँ रहेको एउटा घर राउली लास्सेल्स वार्डबाट किनेका थिए। त्यसैगरी १९२५-मा देशबन्धु चितरञ्जन दास उनकी पत्नी बसन्ती देवीसँग यहाँ एक दिन बिताएका थिए।

स्मरणरहोस्, यसै घरमा १९३३-देखि ३५-सम्म तत्कालीन अङ्ग्रेज सरकारले शरतचन्द्र बोसलाई  दुई वर्षसम्म गृहबन्दी बनाएको थियो। त्यसपछि १९३६-मा नेजाती सुवासचन्द्र बोसलाई पनि यहाँ नै सात महिनासम्म गृहबन्दी बनाइको थियो।

इतिहासका अनुसार १९३७ -मा नेताजीले यस घरमा केही दिन बिताएका थिए भने गृहबन्दी रहेकै बेला नेताजीले एमिली शेन्क्ल, रवीन्द्रनाथ टेगोरलाई पत्राचार गरेका थिए। पछि सन् १९९६-मा राज्यको उच्च शिक्षा विभागले यस घरलाई अधिग्रहण गर्ने प्रक्रिया शुरु गरी २००० -मा नेताजी म्युजियममा परिणत गरेको थियो।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here