कवयित्री वीणाश्री खरेल प्रधानको निधन

0
995

सिलगढी, ४ नोभेम्बरः कवयित्री वीणाश्री खरेल अब हामीमाझ सशरीर रहिनन् । आज बिहान उनको निधन भएको पारिवारिक सूत्रमार्फत थाह लागेको छ। उनी ६६ वर्ष पुगेकी थिइन्।

आफ्ना कवितामार्फत नेपाली साहित्यमा छुट्टै स्पेस बनाएकी सिक्किम देवरालीनिवासी वीणाश्री खरेल प्रधान केही समययता बिरामी थिइन् ।

उनलाई हिजो मात्र सिलगढीको मतिगढास्थित निओटिया नर्सिङ होममा उपचारका लागि भर्ना गरिएको थियो भने आज बिहान उपचारकै क्रममा उनको निधन भएको हो।

उनले आफूपछि दुई छोरा-बुहारी, छोरी-ज्वाइँ र नाता-नातिनी छाडिगएकी छन्।

४ मई १९५६ जन्मेकी वीणाश्री खरेल प्रधानका प्रश्नचिन्ह (१९९७),  मेरो बकपत्र, (२००३), मनको सङ्घार, (२००९), शेष अवशेष (२०१८) र महक रजनीगन्धको (२०१९)-को गरी पाँचवटा कविता सङ्ग्रह प्रकाशित छन् ।

यसैगरी उनका केही पल केही क्षण (संस्मरण -२०१६ ) र विमुखता (अनूदित कथा सङ्ग्रह -२०१३ ) पनि प्रकाशित छन् ।

उनी स्रष्टा पुरस्कार र कमला आँसु स्मृति ट्रस्टद्वारा पुरस्कृत भएकी थिइन् भने नेपाली साहित्यमा उल्लेखनीय योगदान पुऱ्याएवापत नेपाल एकीकृत विकास केन्द्र काठमाडौँ, सिद्धि प्रकाशन गेजिङ र गान्तोक प्रतिभा मिलनद्वारा अभिनन्दित भएकी थिइन्।

यसैगरी कवयित्री वीणाश्री खरेल प्रधानलाई २०१४ मा नेपाली साहित्य परिषद्ले साहित्य सेवाश्री सम्मान सम्मानित गरेको थियो।

साहित्य भनेपछि मरिमेट्ने मृदुभाषी कवयित्री वीणाश्री खरेल प्रधानको निधनले साहित्यकारहरूमा शोकको लहर छाएको छ।

उनको पार्थिव शरीर आजै गान्तोक लगिएको छ ।

पारिवारिक सूत्रका अनुसार भोलि अर्थात ५ नोभेम्बरका दिन कवयित्री वीणाश्री खरेल प्रधानको अन्तिम संस्कार गरिनेछ।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here