मिरिक, 4 दिसम्बरः गोर्खाल्याण्ड पाउनका लागि नयाँ गोरेटो कोर्नुपर्ने जीटीए बीओएका अध्यक्ष अनित थापाले बताएका छन्। र त्यो नयाँ गोरेटो पहाड़को शिक्षितच जमातले कोर्नुपर्ने उनको भनाइ छ।
आज मिरिकको गोपालधारामा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै थापाले यस्तो बताएका हुन्।
“गोर्खाल्याण्ड पाउनु हो भने नयाँ गोरेटो कोर्नुपर्छ। यो नयाँ गोरेटो पहाड़का शिक्षित जमातले कोर्नु पर्छ। यो नयाँ गोरेटोमा कस्ता किसिमका फूल फुलाउनु पर्ने हो, त्यतापट्टि सोचौँ। हाम्रो जाति धेरै पछाड़िएको छ। यदि हामीले नयाँ सोच राखेनौँ भने हाम्रो जाति झन् पछाड़िएर जानेछ”, उनले थपे, “मलाई मेरो पहाड़का लागि नयाँ गोरेटो कोर्नु छ। तर यो गोरेटो म एक्लै कोर्नु सक्दिन। मलाई पहाड़का सबैजनाको सहयोग र आशीर्वाद चाहिएको छ”।
अर्कोतिर उनले 2007-को आन्दोलनलाई गोरामुमो सुप्रिमो एवं तत्कालीन दागोपापका प्रशासक सुवास घिसिङलाई खेद्न गरिएको आन्दोलनको संज्ञा दिए।
अनितले भने, “2007-को आन्दोलनमा कुनै नेता जेल गएन। अहिले थाहा पायौँ, त्यो आन्दोलन सरकारसँग मिलेर सुवास घिसिङलाई खेद्ने आन्दोलन पो थिएछ। 2013-को आन्दोलनमा म स्वयं जेल पसेको थिए। हामीलाई जेल हाल्ने पनि नेताहरू नै थिए। 2017-को आन्दोलन जीटीएको म्याद सकिने बेलाको आन्दोलन थियो। यसरी पनि आन्दोलन हुन्छ?
आज जीटीए बीओएका अध्यक्ष थापाले गोपालधारामा 4.16 करोड़को लागतमा बनिने बाटोको शिलान्यास गरे।
उनले त्यहाँ स्थानीय मानिसहरूलाई सम्बोधन गर्दै थप भने, “म सरकार अनि प्रशासनले बनाइदिएको सिस्टम ठीक गर्नु पनि निस्केको हुँ। यहाँ सिस्टम छ। तर, सिस्टमको आधारमा कोही पनि चल्न मान्दैन। सबैले छोटो बाटो नै हिँड्न खोज्छ। सिस्टम तोड्दा नै हामी बिग्रेका हौँ।
यसैगरी उनले विमल गुरुङहरू सरकारसँग मिलेर कार्य गरे भए जीएलपीका युवाहरू पुलिसमा नियुक्ति पाइसक्ने पनि बताए। “सिस्टमअनुसार काम गर्ने पहल जीटीएले शुरू गरिसकेको छ। लिगल रेक्रुटमेन्ट गर्ने पोलिसी तयार भइसकेको छ”, थापाले दावी गरे।